दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. सीसीटीभी फुटेजबारे विज्ञहरूसँग छलफल गरिँदै

पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेकोबारे छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीले दिएको प्रतिवेदनमाथिविज्ञहरुसँग छलफल गर्ने भएको छ ।

आज बिहान बसेको समितिको बैठकमा हिजो प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनमाथि अध्ययन थालिएको र प्राविधिक विषय भएकाले यसबारे थप जानकारी लिनका लागि विज्ञहरूसँग छलफल गर्ने समितिले जनाएको हो ।

फरेन्सिक ल्याबबाट प्राप्त भएको प्रतिवेदनमा भएका विवरणहरू प्राविधिक भएकाले विज्ञहरूसँग छलफल गर्न लागिएको छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

२. चक्रवर्ती ल कलेजमा प्रदर्शन

काठमाडौँको बिजुली बजारस्थित चक्रवर्ती ल कलेजमा आज बिहानैबाट तनावग्रस्त बनेको छ । कलेजले पाँच वर्षे बीएएलएलबीको शैक्षिक शुल्क ६ लाख रुपैयाँबाट एकै पटक १० लाख ७० हजार पुर्‍याएपछि शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेपछि तनावग्रस्त बनेको हो ।

नेविसंघ र अखिलले संयुक्त रूपमा गरेको आन्दोलनका कारण कलेजमा तीन दिनदेखि पठनपाठन हुन सकेको छैन । माग पूरा गराउन दबाब दिँदै आज पनि विद्यार्थीले कलेजको एकाउन्ट सेक्सनमा तालाबन्दी गर्दै प्रदर्शन गरेका हुन् ।

३. निर्मला पन्त हत्याका दोषी अझै पत्ता लागेनन्

कञ्चनपुर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै प्रहरीमाथि नै आंसका गर्न थालिएको छ ।

प्रहरीले गम्भीर रूपमा लिएको निर्मला हत्या प्रकरणलाई अनुसन्धान जारी राखे पनि हत्यारा अझै पत्ता लगाउन नसकेपछि निर्मलाका परिवारहरू चिन्तित बनेका छन् । यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर प्रहरीले अनुसन्धान गरे पनि चार वर्षसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए। २०७५ साल साउन १० गते उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको भोलिपल्ट उखुबारीमा शव फेला परेको थियो ।

४. बाँकेमा दम्पती मृत फेला, हत्याको आशङ्का

बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्। मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको दायाँ हातमा चोट लागेको छ । प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले घटना शंकास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको जानकारी दिए।

५. पहिरोमा  पुरिएर एक जनाको मृत्यु 

धादिङको नीलकण्ठ नगरपालिका–४ मा पुरिएर एक जनाको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–४बेसारे बेंसीघरमास्थानीय भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला राना मगरको मृत्यु भएको हो ।

गए राति खसेको पहिरोले पुरिएर बेपत्ता भएकी उनको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेका थिए ।बाढी पहिरोले जिल्लाका विभिन्न ठाउँमा पनि क्षति पुर्‍याएको छ ।

यस्तै धादिङबेंसीको अरुण खोलामा बाढी आउँदा खेत, टहरा सामानहरू समेत बगाएको छ भने खोला किनारका घरहरु जोखिममा परेका छन् ।

६. काठमाडौँ रेडक्रसको कार्यक्रममा प्रदर्शन 

काठमाडौँको नयाँ बानेश्वरमा  नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्रको विषयमा छलफल गर्न आयोजित राष्ट्रिय भेला कार्यक्रम स्थल बाहिर  विरोध प्रदर्शन भएको छ  ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा रेडक्रसका निवर्तमान सञ्चालक समितिका सदस्यहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले  मानवीय संस्थामा दानवीय व्यवहार बन्द गर, रेडक्रसमा भइरहेको भ्रष्ट्राचार बन्द गर, रेडक्रसलाई निजी कम्पनी नबनाऊ, रेडक्रस भित्रको कालो धब्बा सह्य छैन भन्दै  प्रदर्शन गरिरहेका छन्  ।

७. सर्लाहीमा करारका कर्मचारी आन्दोलित

पुनर्बहालीको माग गर्दै सर्लाहीको कविलासी नगरपालिकाका करार तथा ज्यालादारी कर्मचारीहरू धर्नामा बसेका छन् । नगरपालिकाले सेवाबाट हटाएपछि उनीहरू पुनर्बहालीको माग राख्दै धर्ना बसेका हुन् ।

नगर कार्यपालिकाको गत असार १२ गते बसेको बैठकले करार सेवामा कार्यरत कर्मचारीहरूको साउन १ गतेदेखि करार नवीकरण नगर्ने निर्णय गरेको थियो ।

सो  निर्णयले आफूहरूमाथि अन्याय भएको भन्दै उनीहरू पुनर्बहालीको मागसहित साउन ४ गतेदेखि धर्नामा बसेको करार कर्मचारी गगनदेव राउतले बताए ।

८. रसुवागढी हाइड्रोपावरको आवेदन दिने समय थप

रसुवागढी हाइड्रोपावरको आईपीओको आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय वासीलाई असार १३ गतेदेखि खुल्ला गरेको आईपीओमा माग गरे बमोजिम आवेदन नपरेपछि कम्पनीले आईपीओको समय पुनः थप गरेको जनाएको हो । योसँगै अब लगानीकर्ताहरुले साउन ३१ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।

९. विषाक्त मदिरा सेवनबाट भारतमा सात जनाको मृत्यु 

भारतको गुजरात राज्यमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ ।  मदिरा सेवनका कारण अन्य १० जना बिरामी परेका छन् । गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको  भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले अवैध मदिरा बिक्री गर्ने तीन जनालाई नियन्त्रणमा लिएको गुजरात प्रहरी महानिर्देशक (डीजीपी) आशिष भाटियाले बताएका छन् । मदिरा सेवनमा बिरामी परेकाहरू स्थानीय अस्पतालको विभिन्न ठाउँमा उपचार भइरहेको छ ।

१०. रोनाल्डोले क्लब छाड्ने विषयमा मुख्य प्रशिक्षकसँग छलफल गर्ने

इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने विषयमा मुख्य प्रशिक्षक एरिक टेन हागसँग छलफल गर्ने भएका छन् ।प्रशिक्षक एरिकसँग छलफलका लागि रोनाल्डो म्यानचेस्टर  पुगिसकेका छन् ।

रोनाल्डो र एरिकबीच आज छलफल हुने बताइएको छ । रोनाल्डो पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन्।रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् ।रोनाल्डो युनाईटेडको प्रि–सिजन टुरमा समेत गएका थिएनन् ।

यद्यपि रोनाल्डोलाई युरोपका ठुला क्लबले अनुबन्धको लागि चाँसो देखाएको छैन ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  १ : ३८ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख