विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन १०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २६, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

राहुल गान्धी पक्राउ

भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफ्तार गरेको थियो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो ।

नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा बयान दिन सोनिया ईडी जाने गरेकी छिन् ।

युक्रेनमा अमेरिकाले प्रदान गरेका हतियार ध्वस्त पारेको रुसको दाबी

रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ ।

रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो ।

रुसको उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो। पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ ।

क्यानाडामा गोलीकाण्ड

एक बन्दुकधारीले क्यानाडाको भ्यानकुभर सहर नजिकै शृंखलाबद्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रणकारी मारिएका छन् ।

‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने पीडितमध्ये तीन जनाको मृत्यु भएको उनले बताए ।

त्यस्तै, बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए ।

अधिकारीहरूले अझै पनि पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको उनले बताए ।

छिमेकी अमेरिकामा सामूहिक गोलीकाण्डको लहर पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन् ।

भारतीय कांग्रेसका चार सांसद् निलम्बित

मूल्य वृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ ।

अगस्ट १२ मा सकिने वर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो। यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए ।

निलम्बित कांग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन् ।

सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको शालिक नजिक गएर नाराबाजी गरेका थिए ।

सांसदमाथि गरिएको निलम्बनको कंग्रेसले विरोध गरेको छ। केही सांसदलाई निलम्बन गरेर सरकारले आफ्ना सांसदलाई धम्की दिन खोजेको कांग्रेसले जनाएको छ ।

हाम्रा सांसदहरूले जनताको लागि महत्त्वपूर्ण मुद्दाहरू उठाउन खोजिरहेका थिए’, कांग्रेसले भन्यो ।

केन्यामा भएको सडक दुर्घटनामा परी ३० जनाको मृत्यु

अफ्रिकी मुलुक केन्यामा बस नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटना भएको थाहा पाउनेबित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।

देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोबीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

शुरुमा दिएको जानकारीमा यस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको जनाइएको थियो ।

गम्भीर अवस्थामा रहेका छ जनाको मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको बताइएको छ । स्पष्ट कारण नखुलेपनि बस तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

फिलिपिन्सद्वारा चीनसँगको ऋण सम्झौता रद्द

दक्षिणपूर्वी एसियाली मुलुक फिलिपिन्सले चीनसँग ऋण सम्झौता रद्द गरेको छ ।

नयाँ सरकार गठन भएसँगै तीनवटा रेलमार्ग परियोजना निर्माणका लागि चीनसँग गरिएको ऋण सम्झौता रद्द गरिएको फिलिपिन्सबाट प्रकाशित हुने फिलिपिन डेली इन्क्वाइरर अखबारले जनाएको छ ।

उक्त ऋण पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको कार्यकालमा उनको महत्वकांक्षी ‘बिल्ड, बिल्ड, बिल्ड’ नामक कार्यक्रमका लागि चीनसँग उक्त ऋण सम्झौता गरिएको थियो ।

नयाँ राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनको एक्जिम बैंकसँगको उक्त सम्झौता रद्द गरेका हुन् ।

फिलिपिन्सको फिलिपिन नेशनल रेल्वेज, सुबिक क्लार्क रेल्वे प्रोजेक्ट र मिन्डानाओ रेल्वे प्रोजेक्टका लागि सन् २०२१–२०२२ मा ती ऋणका लागि फिलिपिन्स सरकारले चिनियाँ बैंकसमक्ष निवेदन दिएको फिलिपिन्सको यातायात विभाग अन्तर्गतको रेल्वे शाखाका उपसचिव सेजर चाभेजले जानकारी दिए ।

अफगानिस्तानले पाकिस्तानतर्फ निर्यात हुने कोइलाको मूल्य बढायो

अफगानिस्तानले छिमेकी मुलुक पाकिस्तानतर्फ निर्यात हुने कोइलाको मूल्य बढाएको छ ।

अफगानिस्तानको खानी एवम् पेट्रोलियम मन्त्रालयले पाकिस्तानतर्फ निर्यात हुने कोइलाको मूल्य वृद्धि गरिएको जनाएको हो ।

अफगानिस्तानको टोलो न्युज टेलिभिजन च्यानलका अनुसार अफगानिस्तानले पाकिस्तानतर्फ निर्यात गर्ने कोइलाको मूल्यमा ८० अमेरिकी डलर प्रतिटन वृद्धि गरेको छ ।

अफगानिस्तानको खानी एवम् पेट्रोलियम मन्त्रालयका प्रवक्ता एस्मतुल्लाह बुरहानले जनाएअनुसार यसअघि २ सय अमेरिकी डलर प्रतिटन रहेको कोइलाको मूल्य बढेर अब २८० डलर प्रतिटन पुगेको छ ।

अफगानिस्तानले पछिल्लो दुई महिनायता १० हजार टन कोइला पाकिस्तानतर्फ निर्यात गरेको जनाइएको छ । यीमध्ये अधिकांक कोइला पाकिस्तानी सेनासँग सम्बन्धित कम्पनीहरुले खरिद गरेका छन् ।

श्रीलङ्काका अस्पताल बन्द हुने अवस्थामा

चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो ।

चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिंडडुल गर्न सक्ने अवस्तामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

श्रीलङ्काले ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन । देशको अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाहरूको वर्तमान अवस्थाको बारेमा सत्यतथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् । यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् जसको अवस्था अहिले दयनीय बनेको छ ।

सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आपतकालीन शल्यक्रिया गर्न समेत कटौती गर्न बाध्य भएको बताएका छन् । त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ ।

‘श्रीलङ्काको कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणाली समेत अहिले खतरामा छ,’ श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि हाना सिंगर हाम्डीले एक विज्ञप्तिमार्फत जनाएकी छन् ।

‘सबैभन्दा कमजोरहरू र निमुखा जनताले सबैभन्दा ठूलो प्रभावको सामना गरिरहेका छन्,’ उनले भनिन् ।

विश्व बैंकले श्रीलङ्कालाई एन्टि रेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ । यसैबीच भारत, बङ्गलादेश, जापानलगायत देशले पनि श्रीलङ्कालाई स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

यद्यपि यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थामा भने तत्काल सुधार देखिएको छैन ।

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सुधारका निम्ति कडा कदम नचाले आगामी वर्षको अन्त्यसम्ममा मुलुकको आर्थिक सङ्कट झनै बिग्रदै जाने देखिन्छ । जारी चरम मुद्रास्फीतिले खाद्यान्नको मूल्यहरू यति उच्च बनाएको छ कि धेरै घरपरिवारहरू छाक टार्न समेत संघर्ष गरिरहेका छन् ।

सन् २०२२ को शुरुवात देखि नै श्रीलङ्काले बढ्दो आर्थिक सङ्कटको सामाना गरिरहेको छ। यसै बीच संयुक्त राष्ट्र संघले चेतावनी दिदै ५७ लाख मानिसहरूलाई ‘तत्काल मानवीय सहायता आवश्यक रहेको’ बताएको छ ।

श्रीलङ्काको अर्थतन्त्रले उत्पादनको लागि आधारभूत सामग्रीको अनुपलब्धता, मार्च २०२२ देखि मुद्राको ८० प्रतिशत अवमूल्यन, विदेशी सञ्चितिको अभाव र अन्तरराष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण तीव्र सङ्कूचनको सामना गरिरहेको छ ।

थुप्रै श्रीलङ्कालीहरूले खाद्यान्न र इन्धन लगायतका अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहँदा मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन शुरु भएको थियो जसले राजनीतिक परिवर्तन ल्याएको भए पनि आर्थिक अवस्थामा भने सुधारात्मक परिवर्तन ल्याउन सकेको छैन ।

आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षेले मे ९ मा राजीनामा दिएका थिए भने उनका दाजु राष्ट्रपति गोटाबाया राजापाक्षे जुलाई १३ मा देश छोड्न बाध्य भएका थिए । उनले त्यसको भोलिपल्ट राजीनामा दिएका थिए ।

भारतमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा धेरैको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ । गुजरातमा विषक्त मदिरा सेवन गर्दा अरु २० जना नै गम्भीर बिरामी भएको स्थानीय सञ्चारमाध्यमले जनँएका छन् ।

“बोटाड, भावनगर र अहमदाबादका अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ,” द हिन्दू अखबारको अनलाइन संस्करणमा भनिएको छ ।

मृत्युको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण एवम् पोस्टमार्टम भइरहेको छ । “पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रतिक्रिया दिन सक्नेछौँ,” एक सरकारी अधिकारीले सिन्ह्वालाई फोनमा बताए ।

मदिरा सेवनका कारण मृत्यु भएको भनिएको गाउँ वरपरका धेरैलाई नक्कली मदिरा बेचेको आरोपमा पक्राउ गरिएको छ । राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिँदै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : ०१ बजे

देउवाले भने- प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले

प्रधानमन्त्री ओली भदौ अन्तिममा भारत जाने, समकक्षी मोदी कात्तिकमा आउने

काठमाडौं- नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकार बनाएको १४ महिनापछि प्रधानमन्त्री

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग

दोधारा चाँदनी- छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले कीर्तिपुरस्थित उपकुलपतिको

जापानको माथिल्लो सदनको चुनाव, प्रधानमन्त्री इशिबाको परीक्षा

टोकियो– आइतबार संसदको माथिल्लो सदनको निर्वाचनमा बहुमत गुमाउनसक्ने अपेक्षाबीच जापानका