‘मेरो छोरो लाठे भइसक्यो, पुल भने जस्ताको तस्तै छ’ « Khabarhub

‘मेरो छोरो लाठे भइसक्यो, पुल भने जस्ताको तस्तै छ’


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर–  तमोर नदीको लुबुघाटमा मोटरेवल पुल बन्न थालेपछि स्यावरुम्बाका याम बुढाथोकी तटीय क्षेत्रमा रहेको जग्गामा घर बनाएर बसे । पुल निर्माणका लागि खटिने कामदार तथा लुबुघाटमै रहेको झोलुङ्गे पुल हुँदै पाँचथर–तेह्रथुम गर्ने बटुवालाई लक्ष्य गरी उनले पसल र होटेल पनि खोले । 

पुल निर्माण  भएपछि दुई जिल्ला ओहोरदोहोर गर्नेको सङ्ख्या झनै बढेर लुबुघाटमा मानवीय गतिविधि बढ्ने र आफ्नो व्यवसायमार्फत आर्थिक कारोबार राम्रो हुने बुढाथोकीको अपेक्षा थियो । नाबालक छोरो लिएर स्यावरुम्बाबाट लुबुघाट बसाई सरेका बुढाथोकी छोरो आफू जत्तिकै अग्लो हुन लाग्दासमेत पुल निर्माण पूरा नहुँदा दिग्दार मान्छन् । ‘बर्सेनि काम गरेको देखाउन खोजिन्छ । निर्माण कार्य पूरा गर्न ठेकेदारको चासो छैन’, उनी भन्छन् , ‘मेरो छोरो लाठे भइसक्यो, पुल भने जस्ताको तस्तै छ ।’

पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने तमोर नदीको लुबुघाटस्थित मोटरेबल पुल निर्माण थालिएको ११ वर्ष बिते पनि हालसम्म निर्माण पूरा भएको छैन । सडक विभाग मातहतको पुल सेक्टरले रु १७ करोडको लागतमा विसं २०६८ असार २६ गते स्वच्छन्द निर्माण कम्पनीलाई उक्त पुल निर्माण गर्न  ठेक्का दिएको थियो । तीन वर्षभित्र

निर्माण गर्नुपर्ने सम्झौता भएको पुलको आधा काम मात्रै पूरा भएको छ । एक सय ५७ मिटर लम्बाइ र तीन मिटर चौडाइको उक्त पुलको चार वटा पिलर उठाइ ढलान गरिएको पाँच वर्ष बित्न लाग्यो तर बाँकी चार वटा पिलर उठाइ ढलान गर्ने कार्य अघि बढाउन सकिएको छैन । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङ्लुङ नगरपालिकाको सीमामा निर्माणाधीन पुलबाट दुई जिल्लाका सदरमुकाम सबैभन्दा छोटो दूरीको सडकबाट पुगिने थियो ।  

जनप्रतिनिधिविहीन अवस्थामा पुल निर्माणको अनुगमन तथा खबरदारीको कार्य कमजोर भएकामा  पछि तीन तहको सरकार निर्माण भई जनप्रतिनिधि चुनिएपछि पुल निर्माणमा निर्माण कम्पनीलाई तदारुकता देखाउन दबाव बढ्यो । पाँचथरको सदरमुकाम फिदिमबाट ४५ किलोमिटर तथा तेह्रथुमको म्याङ्लुङबाट १९ किलोमिटरको दूरी रहेको पुल निर्माण नहुँदा दुवै जिल्लाका नागरिकले सास्ती भोग्दै आएका छन् । पुल निर्माणले गति नलिएपछि आफू र तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जय तुम्बाहाम्फेले पटक–पटक स्थलगत निरीक्षण गरी सडक विभागमा निर्माण  अघि बढाउन दबाब दिनुभएको को कुम्मायक गाउँपालिकाका पूर्वअध्यक्ष जयबहादुर चेम्जोङ सम्झन्छन् ।

“निर्माण कम्पनीका प्रतिनिधिले हामीलाई भेट्दा काम अघि बढाउँछौँ भने तर कामले कहिल्यै गति लिन सकेन”, “उनी भन्छन्, । जनप्रतिनिधिको बुझाइमा पुल निर्माण कार्यमा निर्माण कम्पनीलाई आफ्नो आन्तरिकबाहेक कुनै समस्या पनि छैन ।” 

पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ २०७६ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएपछि पुल निर्माणमा झनै दबाब बढ्यो । उनी  विभागीय मन्त्री बनेपछि निर्माण कम्पनी निर्माणका उपकरण, सामग्री र कामदारसहित कार्यक्षेत्रमा देखिन थाल्यो । वर्षौ अलपत्र पुल निर्माण चाँडो सम्पन्न गराउन तत्कालीन मन्त्री नेम्वाङ दुई पटक स्थलगत निरीक्षणका लागि यहाँ पुगेका स्थानीयवासी पदमबहादुर कार्की बताउँछन्। ‘मन्त्री आएपछि निर्माण कार्यले गति लिएको थियो । पारीपट्टि पिलर निर्माण थालिएको थियो’, उनी भन्छन् , ‘तर बर्खा लागेको भनेर काम छाडियो ।’

दुई पटक विभागीय मन्त्रीले आएर निर्देशन दिँदासमेत नबनेको पुल अब बन्नेमा स्थानीयवासीले आशंका व्यक्त गर्न थालेका छन् । ‘मन्त्री स्वयं आएर भन्दा त ठेकेदारले टेरेनन्, अब कसलाई टेर्लान र ?’ स्थानीयवासी बुढाथोकी भन्छन् , ‘मलाई त यो पुल निर्माण होला भन्ने आशै लाग्न छाड्यो ।’

म्याङलुङ नगरपालिका–१० तम्फुलाका चक्रबहादुर चाम्लिङले ११ वर्षअघि चेलीको घर कुम्मायक–१ खाल्डे आउँदा पाँच वर्षभित्र पुल बनिसक्ने र गाडी चढ्न पाइने सुनेका थिए । तर ११ वर्ष बितिसक्दा पनि दुःख उस्तै हुँदा निराश छन् । ‘पुल नभएपछि गाडी चलेनन् । दुई/तीन घण्टामा कटिने बाटो पैदल हिँड्दा दिनभरि लाग्छ’, उनी भन्छन् , ‘१२ वर्षअघि खोलासम्म गाडी आउँदा सबै दङ्ग परेर राती स्काभेटरले बाटो खनेको हेरका थियौँ, अब गाडी चलिहाल्छन् भन्ने लागेको थियो ।’ तमोर करिडोर सडकमा सवारी साधन सञ्चालन हुन थालेपछि यो पुल पाँचथरभन्दा पनि तेह्रथुमवासीका लागि झनै अत्यावश्यक बनेको थियो । म्याङलुङबाट १९ किलोमिटरमा रहेको यो पुल निर्माण भए यहाँबाट दुई घण्टामै सुनसरीको धरान पुगिन्थ्यो । यो पुल बन्नासाथ म्याङलुङ–धरानको दूरी तीन घण्टामै खुम्चन्थ्यो  तर अहिले तेह्रथुमबाट धनकुटा हुँदै आठ घण्टाभन्दा बढी समय लगाएर तराई पुग्नुपर्ने बाध्यता छ ।

अर्कोतर्फ पाँचथरको उत्तरेबाट यासोक हुँदै लुबुघाट जोड्ने सडक तथा म्याङलुङबाट लुबुघाट जोड्ने सडक सङ्घीय सरकारको लगानीमा कालोपत्र गरिएको छ  तर सडक कालोपत्र भइसक्दासमेत पुल निर्माण पूरा हुनेमा स्थानीयवासी विश्वस्त छैनन् । पुल निर्माण गरिरहेको निर्माण कम्पनी निर्माण क्षेत्रमा नहुँदा  र नियमन गर्ने सरकारी निकाय जिल्लामा नहुनाले पुल निर्माण रोकिनुको मुख्य कारण भएको स्थानीयवासी र सरोकारवाला बताउँछन्  । बजार नजिकै पर्ने भएका कारण पाँचथरको यासोक, स्यावरुम्बालगायत क्षेत्रका सर्वसाधारण कृषिउपज बिक्रीका लागि म्याङलुङ जाने गर्छन् । फिदिमभन्दा म्याङलुङ नजिक पर्ने हुनाले यस क्षेत्रमा उत्पादित तरकारी फलफूलको बजार म्याङलुङ पुर्‍याउन  सहज हुन्थ्यो तर पुल नहुँदा यहाँ उत्पादित सामग्री बजार पुर्‍याउन कठिन परेको स्थानीयवासी बुढाथोकीको भनाइ छ ।

सागसब्जी, दाल, बदाम, खुर्सानी, बाख्रा र सुँगुरका पाठापाठी बेच्न टाढा जाँदा मोटर भाडामै रकम सकिने भएकाले स्थानीयवासीलाई नजिकैको बजार धाउन सहज हुन्थ्यो  तर बोकेर लैजानुपर्ने समस्याले किसान निराश छन् । स्यावरुम्बाका ४० भन्दा बढी किसानको खेतसमेत तेह्रथुमतिर छ । खेतीपाती गर्न झोलुङ्गे पुलबाट पैदल यात्रा गर्ने भए पनि सामग्री ओसारपसार गर्न निकै गाह्रो हुने गरेको भुल्केका पदमबहादुर कार्कीको भनाइ छ । ‘पारीपट्टीबाट धान, परालको भारी बोकेर झोलुङ्गे पुल तार्ने र  अनि ट्र्याक्टरमा हालेर घरसम्म पुर्‍याउने गरेका छौँ’, उनी भन्छन्, ‘पुलले सबै कुरा अड्कायो । ठेकेदारले कसैलाई टेरेनन्, हामीलाई दुःख दिए ।’

निर्माण कम्पनीले काम नगर्नका लागि गत वर्ष एउटा जेसिबी जानाजान खोलामा बगाएको स्थानीयवासी बताउँछन् । बीमा नवीकरण नभएका कारण जेसिबी बाढी आउने समयमा खोला किनारामा छोडेर जानाजान बगाएको उनीहरूको भनाइ छ । निर्माण कम्पनीले कतिपय स्थानीयवासीसँग विभिन्न सामग्री खरिद गर्दा लिएको पैसासमेत बुझाएको छैन भने स्थानीय कामदारले कामको ज्याला पनि  पाएका छैनन् । ‘मूल मान्छे यहाँ आउँदैनन् । एक पटक एक जना आएर अलिअलि काम गर्छन्, काम अघि बढेपछि छोडिहाल्छन्’, स्थानीयवासी कार्कीले भने , ‘यस्तो लापरवाही अन्यत्र पनि हुन्छ कि यहाँ मात्रै होला ?’ ।

– रवीन्द्र काफ्ले रासस

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ५ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्