बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. शैलपुत्रीको विधिपूर्वक पूजा आराधना गरी घर घरमा आज घटस्थापना गरिँदै 
नेपालीहरूको महान् पर्व बडा दसैँ आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ एवं नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराण आदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रूपमा पूजा आराधना गरिन्छ ।   घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेट मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले  बताउनुभएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्ति पीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

२. आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला 
दसैँका लागि घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ। दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए । अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बिस चक्के सवारीसाधन चल्न पाउने छैनन्। विभागले असोज १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ ।

३. सिट बाँडफाँटका लागि आज सत्ता गठबन्धनको  बैठक बस्दै 
सत्ता गठबन्धनको  प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि आज पनि बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल बैठक बस्ने लागिएको हो । बैठकमा कुन दलले कति सिट लिने भन्नेबारे छलफल हुने जनाइएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रदेशसभातर्फ कांग्रेसले १८०, माओवादीले ११०, एकीकृत समाजवादीले ७०, जसपाले ५० र जनमोर्चाले ८ सिटमा दाबी पेस गरेका छन् ।कार्यदलका एक सदस्यका अनुसार अहिलेसम्म प्रतिनिधिसभाका १ सय ६५ मध्ये करिब १ सय ४० सिटमा सहमतिनजिक पुगेको र अन्य सिट प्रदेशसभाको बाँडफाँटसँगै मिलाउन सकिने देखिएपछि प्याकेजमै बाँडफाँटको गृहकार्य सुरु भएको छ । प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० क्षेत्र छ तर दलहरूबाट आएको दाबी  भने ४०७  रहेको  छ । शीर्ष नेताको शनिबार बसेको बैठकले प्रदेशसभातर्फको काम थाल्न कार्यदललाई निर्देशन दिएको थियो ।

४. मन्त्री यादव अमेरिका प्रस्थान 
वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने  ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकी सरकारको आमन्त्रणामा त्यहाँ पुगेका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्ने उनको  सचिवालयले जनाएको छ । यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्नका लागि विश्वव्यापीरुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

५. नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा ढिलाइ भएको भन्दै सरकारद्वारा रुद्ध गर्ने चेतावनी 
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्न सक्ने चेतावनी दिएको छ । सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो । नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। ग्लोबल बोलपत्र प्रक्रियामार्फत सबैभन्दा न्यून दररेटमा बोलपत्र हालेर चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड’ले दुवै खण्डको निर्माणको ठेक्काको जिम्मा पाएको थियो ।गत साउन २२ गते काम सकिसक्नुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्रै काम भएको र कामको गति ज्यादै सुस्त भएको जनाउँदै सडक विभागले निर्माण कम्पनीलाई कार्यशैली सुधार गर्न चेतावनी दिएको हो । एक महिनाभित्र निर्माण कम्पनीले कार्यशैली सुधार गर्दै सडक विस्तारको काममा चित्तबुझ्दो प्रगति नगरेको अवस्थामा ठेक्का रद्द गर्ने विभागले सूचनामार्फत जनाएको छ । सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले नारायणगढ बुटवल सडक विस्तार आयोजना र परामर्शदाताले दिएका निर्देशन पालना नगरेको विभागको आरोप छ ।

६. पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु 
पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ । यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ लागेर एक जना घाइते भएका छन् ।

७. सुर्खेतमा मोटरसाइकल दुर्घटनामा घाइतेको  उपचारको क्रममा मृत्यु 
सुर्खेतमा मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा आज बिहान  थारुको मृत्यु भएको हो । हिजो साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नम्बरको मोटरसाइकल वीरेन्द्रनगर नगरपालिका–११ धूलयाबिट नजिक दुर्घटना एक आपसमा ठोक्किँदा  दुर्घटना भएको प्रहरीले जनाएको छ।  थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते भएकी छन् । यस्तै,  भे–६–प– ३८९० नम्बरको  मोटरसाइकल चालक गणेश खड्का पनि घाइते भएका छन्। दुवै जनाको  माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको  जनाएको छ ।

८. इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख   
इटालीमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख रहेको देखाएको  छ । पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने  दौडमा रहेकी छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरूले उनको पार्टी विजयउन्मुख देखाएको छ । कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१–४५ प्रतिशत र वाम गठबन्धनले २५–२९ प्रतिशत मत ल्याएको छ । सन् २०१८ को निर्वाचनमा उनको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको ४ दशमलब ३ प्रतिशत मत प्राप्त गरेको थियो । चार वर्षपछि उनको पार्टीले २२ दशमलब ५ देखि २६ दशमलब ५ प्रतिशत ल्याएर विजयी हुँदैछ र मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रारम्भिक मत सर्वेक्षणबाट देखिएको छ ।  हाल देशमा ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका लागि चुनौती हुने अनुमान गरिएको छ ।

९. राष्ट्रपति पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा 
रुसमा प्रदर्शन चर्किएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा पुग्नुभएको छ ।उनले युक्रेन युद्धका लागि थप ३ लाख जगेडा सेना भर्ती गर्ने घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो । प्रदर्शन अहिले पनि जारी रहेको छ । रुसका ३२ वटा विभिन्न शहरबाट प्रदर्शनमा उत्रेका १ हजार भन्दा बढी मानिसलाई हिरासतमा लिएपछि प्रदर्शन झनै चर्किँदै गएको छ । रुसी राष्ट्रपति पुटिनको  आंशिक परिचालन“ को विरुद्ध  पछिल्लो प्रदर्शनमा दागेस्तान क्षेत्रमा पुलिससँग झडप भएको छ। रुसले  कब्जामा लिएको युक्रेनका ४ क्षेत्र डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरोजियामा अहिले रुसमा गाभिने पक्षमा जनमत संग्रह भईरहेको छ ।मस्कोको नयाँ “आंशिक परिचालन“ को विरुद्ध तोड्नको लागि पछिल्लो प्रदर्शनमा दागेस्तान क्षेत्रमा पुलिससँग झडप भएको छ।

१०. ट्राफिक नियम उल्लङ्घन गर्ने ३२ सय ९६ जना चालकमाथि कारबाही
ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २ सय ९६ जना चालकहरूलाई आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १५० जना, मदिरा पिएर सवारी साधन चलाउने १४४ जना र ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०९ जना चालक रहेका छन्। यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकतर्फी सडकमा सो विपरीत चलाउने ५० जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालक पनि कारबाही परेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : २६ बजे

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच

कालीगण्डकी करीडोर : जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

हेलेन आँधीको जोखिममा फ्लोरिडा

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम