‘चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्’ « Khabarhub

‘चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्’


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त  नेपाल स्वीटजरल्याण्ड बनिसक्यो । जनताले अब आधारभुत आवश्यकताका त कुरै गर्न छाडिसके । केही नेता विकासका नक्कली फेहरिस्ता देखाएर भोट माग्न मतदाताको घर आँगनमा देखिन थालिसकेका छन् । नयाँ नेता र दलहरू भने तिनै पुराना नेतालाई गाली गरेर सहानुभूति बटुलिरहेका छन् । तर, न चरित्र बदलिएको छ न त परिवेश नै ।

यथास्थितिलाई नै मलजल गरिरहेका नेताहरू परिवर्तनको ढोङ फुक्छन् र जनतालाई बन्दी बनाइ रहेका छन् । जसका ज्वलन्त कथाहरू तराइका गल्ली र ग्रामीण बस्तीमा बग्रेल्ती पाइन्छन् । यस्तै, प्रतिनिधि उदाहरण हुन् महोत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डल । बर्दिबास नगरपालिकाको चोक र मुख्य बजारमा खाली प्लाष्टिकका बोतल खोज्दै भौँतारिने यी दुवै किशोरको साझा समस्या गरिबी हो । तर, परिवेश भने फरक छ ।

गौशाला नगरपालिकास्थित जिरो माइलमा बस्ने यी बालकहरूको दैनिकी फोहोरमा फ्याँकिएको बोतलबाट सुरु हुन्छ । उनीहरू दिनभरी बर्दिबासमा बोतल टिप्छन् र बेलुका गाडी चढेर गौशाला फर्कन्छन् । अभिषेककुमार मुखियाका बाबु उमेशकुमार मुखियाको एउटा हात चल्दैन । आमा शान्ति मुखियाले उमेशलाई छाडेर अर्कैसँग बिहे गरिन् । त्यसपछि अभिषेक नै परिवारको पोषणकर्ता बने । 

अभिषेकको घरमा बिरामी बुबा मात्रै छैनन् । उनको आफ्नै पनि खुट्टाभरी घाउ छ । औँलाहरू सुन्निएका छन् । कपडा पुराना भएर च्यातिएका छन् । तर यी हातखुट्टा चलुन्जेल अभिषेकलाई आराम गर्ने छुट छैन । आफ्ना चाहना र रहर मारेर बिरामी बुबाको पालनपोषण गरिरहेका छन् । 

औसत बालबालिकाको जस्तै अभिषेकको पनि विद्यालय गएर पढ्ने मन छ । खेल्ने रहर छ । काम गर्नै नपरोस् भन्ने चाहना छ । तर, गरिबी उनको लागि पहाड बनेका उभिएको छ । ‘पढ्न मन त छ तर के गर्ने ? बुबालाई पाल्नु पर्यो,’ उनले भने ।

पढ्ने रहर छ ? भनेर सोध्दा उनी निक्कै निन्याउरो अनुहार लगाएर बसिरहे । प्लाष्टिक थुपारेको ठूलो धोक्रामाथि अडेस लागेर रोइ मात्रै राखे । यो दृश्य देखेपछि नेताहरूका ‘बकम्फुसे’ भाषणको स्मरण गर्यौ । उनीहरूले झुटको खेती गरेर जनताको गरिबीलाई मजाक बनाइरहेको झलझली सम्झियौँ । 

अभिषेकले दिनभरी १० देखि १२ केजी प्लाष्टिकका बोतल बटुल्छन् । एक केजीको २५ रुपैयाँ आउँछ । यसबाट उनी तीन सय रुपैयाँ जति कमाउँछन् । त्यही पैसाबाट उनको परिवार चल्छ । अभिषेकले आँशु पुछेर फेरि भने, ‘बुबालाई सरकारले अलिकति पैसाको ब्यवस्था गरिदिए म विद्यालय जान पाउँथेँ की ।’

अर्जुन मण्डलको व्यथा पनि उस्तै छ । अर्जुनको बुबाआमा दुवै छन् । तर, पढाउन सक्ने क्षमता छैन । सामान्य बनिबुतो गरेर बिहान बेलुकीको छाक टार्ने मण्डल परिवारले अर्जुनलाई विद्यालय पठाउन सक्दैन । यद्यपि, अभिषेकको बिरामी बुबाको उपचार र के खुवाउने भन्ने पीर अर्जुनलाई छैन । दुवै जना विद्यालय जान नपाएका कारण एकअर्काका सहयात्री बनेका छन् । उनीहरूको हाँस्ने, खेल्ने वा रमाइलो गर्न कुनै समूह छैन । नत साथीसङ्गीको जमात नै छ । तर यी दुई जना एक अर्कोका लागी सबैथोक बनेका छन् ।

दशैँ नजिकै आएको छ । बजारको चहलपहल बढेको छ, मान्छेहरूको भीडभाड थेगिनसक्नुको छ । आफन्त तथा टाढा भएकाहरू एकै ठाउँमा जमघट हुँदैछन् । तर, अभिषेक र अर्जुनको दुनियाँ फरक छ ।

चाहे दसैँ होस या चाहे छठ होस । पर्व उनीहरूको लागी आउँछ जान्छ । अर्जुन र अभिषेकले अहिलेसम्म कुनै पनि पर्वको महसुस नै नगरेको बताए । आफ्ना पीडा सुनाएर उनीहरू पुनः गन्तव्यतर्फ लागे ।

विशाल बस्नेत

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ५६ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले