काठमाडौँ : पाँच वर्षअघि नेपालमा रेल ल्याउने कुरा निकै चर्चामा थियो । भारतबाट वर्षौपहिले आएको रेल होइन, चीनबाट नयाँ चिनियाँ रेल नेपाल ल्याएर पूर्व पश्चिम चलाउने नारा खुबै घन्कियो । त्यसरी नारा लगाउने नेता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । माओवादीसँग चुनावी तालमेल गरेका ओलीले रेलको नारा खुबै भजाएका थिए ।
तर पाँच वर्ष बित्यो । न नेपालमा चिनियाँ रेल आयो । न त भारतबाट ल्याएको रेल नै नियमित रुपमा गुडाउन सकियो । केवल रहर पूरा गर्न मात्रै अहिले भारतीय रेल गुडाउने गरिएको छ । त्यसबाहेक ठूलो नारा भजाइएपनि व्यवहारमा भने शून्य बराबर छ ।
रेलपछि ओलीले भजाएको अर्को नारा हो, पानीजहाज । पाँच वर्षअघिको चुनावमा ओलीले हरेकजसो चुनावी भाषणमा पानीजहाज ल्याउने उद्घोष गरे । नारायणी नदीमा पानीजहाज ल्याएर ओलीले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट मुक्त गर्ने नारा पनि खुबै चर्काए ।
तर नारायणीमा यी पाँच वर्षमा केवल बाढी मात्रै आयो । पानीजहाज भने आएन । ओलीले भन्ने गरेका पानीजहाज स्टिमर होइनन् । जो नारायणीमा अहिले पनि पर्यटकलाई नदीमा सयर गराउन तैनाथ गरिएका छन् । स्थानीय व्यापारीले त्यसबाट राम्रो रोजगारी सिर्जना गरिरहेका छन् ।
पाँच वर्षअघि माओवादीको साथ पाएर हौसिएका ओलीले भाषणमा नेपाललाई कायापलट गर्न कुनै कसुर बाँकी राखेनन् । तर व्यवहारमा भने उनले केही पनि गर्न सकेनन् । स्थायित्वको प्रयास गर्दा उनको सरकार ३ वर्षमै ढल्यो । सरकार बचाउन उनले संसद् विघटन गरे । जसले गर्दा ओलीको अलोकप्रियता मात्रै होइन, संवैधानिक संकट ल्याउने नेताको परिचय बन्दा अहिले खुलेर बोल्नै सकिरहेका छैनन् ।
स्थानीय तहको चुनावमा देशैभर एमाले पहिलो दल बन्ने भनेर ओलीले खुबै भाषण गरे । तर ओलीले जहाँ जहाँ भाषण गरे, त्यहाँ त्यहाँ एमालेकै उम्मेद्वार हारे । त्यसैले यसपटक ओलीले कम्तीमा एमालेले देशैभर जित्छ भन्ने भ्रम छर्न छाडेका छन् ।
उनी मौन छन् । चुनावी भाषणमा सीमित मात्रै बोल्न थालेका छन् । पहिलेजस्तो ओलीले बोलेका हरेक कुराको समाचार बन्न पनि छाडेको छ । एक समय नेपालको विकास गर्ने सपना देख्ने नेता भन्दै ओलीले बोलेका हरेक कुराको चाखलाग्दो समाचार बन्ने गरेको थियो ।
तर अहिले त्यस्तो छैन । ओलीले बोलेको कुरा उनकै नेता कार्यकर्ताले पत्याउन छाडेका छन् । जसकारण एमाले फुटेर माधव नेपाल पक्ष अलग्गै छुट्टै पार्टी बनाएर चुनावी मैदानमा छ । पार्टी फुटेर आफ्नै पार्टीका नेताहरुसँग चुनावी प्रतिष्पर्धा गर्नुपर्ने बाध्यताका कारण पनि ओलीलाई अफेठेरो छ ।
अहिले उनी केवल सत्ता गठबन्धनका नेताहरुतिर मात्रै बढी केन्द्रित भएर भाषण गर्न थालेका छन् । हिजोको दिनमा जस्तो अनेकौ हावादारी गफ दिन कम्तीमा ओलीले छाडेका छन् । आम मानिसलाई भ्रम छर्न छाडेर उनले वास्तविकता नियालेर बोल्न थालेको महसुस हुन थालेको छ ।
पाँच वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर देशभर चुनावी सभा गर्ने ओली यसपटक ‘भिजेको मुसो’ जसरी चुपचाप देखिन्छन् । उनी जहाँ जहाँ चुनावी भाषण गर्छन्, त्यहाँ केवल एमाले कार्यकर्ता मात्रै हुन्छन् । त्यो पनि सीमित घेरामा । जसले गर्दा ओलीलाई नै असहज बनाएको छ । विगतका दिनमा आफूले जे बोल्दा पनि त्यो मान्छेले रुचाउँछन् भन्ने ओली भ्रम तोडिएको छ ।
अहिले उनका कार्यकर्ताले खुलेर भन्न सकेका छैनन्, तर आम मानिसले प्रश्न गरिरहेका छन्, खोई कहाँ आयो रेल, कहाँ आयो पानीजहाज ? कहाँँ आयो समृद्धि ? कँहा देखियो नेपाली जनताको जीवनस्तर उठेको विकास ? यी यावत प्रश्नले गर्दा यतिबेला ओलीलाई चुनावी भाषणमा बहकिएर बोल्न पनि सकस छ ।
यद्यपी ओली सरकारका पालामा सामाजिक सुरक्षा कोषको सुरुवात, नेपालको चुच्चे नक्सा सार्वजनिक गर्ने ऐतिहासिक काम भएका थिए । तर ओलीले संसद् विघटन गरेर सत्तालोलुप प्रवृत्ति देखाउँदा आफ्नो सरकारको पालामा भएका ऐतिहासिक कामलाई पनि चुनावी नारा बनाएर भजाउन सकेका छैनन् । किनकी अब उनले जति नै नारा भजाएपनि जनताले सहजै पत्याउने अवस्था भने छैन ।
ओलीकै कारण आज दलहरु एक्लाएक्लै प्रतिष्पर्धा गर्न सक्ने अवस्था रहेन । कांग्रेस, माओवादी र एमालेबाट फुटेर बनेको नेकपा समाजवादी मिलेर चुनाव लडिरहेका छन् । तर एमाले भने आफूलाई वृहस्पति भनेपनि एक्लै चुनावी मैदानमा होमिदा हार मात्रै हात लाग्ने अवस्थामा छ ।
प्रतिक्रिया