चार वर्ष बित्यो, पहिरो विस्थापितका पीडा उस्तै « Khabarhub

चार वर्ष बित्यो, पहिरो विस्थापितका पीडा उस्तै


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मलेखु – विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा प¥यो । जमिन चिरा प¥यो । घर र वस्तुभाउ बाँध्ने गोठहरू पनि भत्किए । एक्काइस परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरू बारबिसेमा बस्दै आएका छन् । तीन वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन । विस्थापित सुनमाया तामाङ भन्छन्, “धेरै पटक आश्वासन पाइयो, टेन्ट छोड्ने दिन कहिल्यै आएन ।”

चामबास बारबिसेका २१ घरपरिवारका ९२ जना पहिराबाट प्रभावित छन् । सबैको व्यथा एकै छन् । कोही टेन्टमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । यो वर्ष मात्रै जिल्ला प्रशासन कार्यालयले फेरिदिएको टेन्टमा पनि अहिले चिसोका कारण बसिसक्नु छैन । “पछिल्लो केही दिनयता चिसो बेस्सरी बढेको छ । बिहान ढिलोसम्म घाम लाग्दैन, साँझ चाँडै ओझेल आउँछ”, काखमा दूधे बच्चा च्यापेर घाम ताप्दै गर्नुभएकी सानुमाया तामाङले भने, “जाडोमा बच्चा र वृद्ध बचाउन साह्रै गाह्रो भयो, अब त हामीलाई नझुक्याउनु, हाम्रो बासस्थानको व्यवस्था चाँडै गरिदिनुस् सरकार ।”

अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । सर्प, गड्यौलालगायत जनावर टेन्टमैै पस्छ । टेन्ट र जस्तापाताबाट तपतपी चुहिएको शीतले ओछ्यान नै छर्लप्प भिज्छ । हिजोआज वृद्धवृद्धाले आगो तापेरै साँझबिहान बिताइरहेका छन् । यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरूले पनि पटकपटक प्रत्यक्ष देखेका छन् । तर स्थायी प्रबन्ध मिलाउन सकेका छैनन् । आशैआशमा गुजारा गरिरहेका छन् ।

बस्तीका गरा कान्लामा परेको चिरा अहिले पनि उस्तै छ । धाँजाहरू पुरिएका छैनन्, झन् बढ्दो छ । भूगर्भविद्ले पनि त्यो बस्तीमा पुनः बस्ती बसाउन मिल्दैन भनेका छन् । एक्काइस परिवारका हरेक घरमा छरसातजना छन् । एउटा घरमा बच्चाहरु मात्रै दुईरतीनजना छन् । हिउँद र बर्खाको महिना जसोतसो कटाए पनि जाडो बढेसँगै उनीहरूको बिचल्ली छ ।

सुरक्षित स्थानमा पुनर्वास गराइदिन माग गर्दै थुप्रै पटक स्थानीय सरकारसामु गुहार माग्न पुगे । प्रदेश सरकार र केन्द्र सरकारसम्म पनि पटकपटक पुगेका छन् । नेताहरूले बस्ती सारिदिने आश्वासन पनि धेरै पटक दिए । स्थानीय तह चुनावअघि नै बस्ती सारिदिने ठूलै आशा देखाए । तर चार वर्ष आशैआशमा बित्न लाग्यो । न गाउँ नै फर्केर जान सकेका छन् न आफ्नै सुरले अन्त कतै सर्न सक्छन् ।

बस्ती सारिदिने आश्वासन पाएका उनीहरू स्थानीय तह चुनावमा नेताकै पछि लागेर पनि हिँडे । तर अहिले त्यही नेताले पनि बस्ती स्थानान्तरण गराउन सकिरहेका छैनन् । स्थानीय चुनाव अघिका आश्वासन पनि अहिले ‘हात्ती आयो हात्ती आयो फुस्स’ जस्तै भएको छ । गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापितहरु अहिले निराश भएका छन् ।

स्थानीय तहको चुनाव अघिको वाचा पूरा नभए पनि गत भदौमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नै आएर तपाइँहरूलाई तत्काल बसोबास सारिदिन्छु भन्नु भएर ठूलो विश्वासमा बसेको भए पनि अहिलेसम्म कुनै काम अघि नबढेको विस्थापित आइतराम तामाङले गुनासो गरे । “मुख्यमन्त्रीज्यू नै आउनु भएर मिटिङमा तत्काल बसोबास सारिदिन्छु भन्नुभएको थियो । चुनाव सकिने बित्तिकै पनि सार्छौँ भन्नुभएको थियो । अहिलेसम्म केही गर्नुभएन । अब त फेरि सरकार परिवर्तन हुन लाग्यो अब त आशै मरिसक्यो”, तामाङले दुखेसो गरे ।

विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । भएका जग्गाजमिनमा पनि फर्केर खेती गर्न जान नसकेपछि विस्थापितहरूमा खाद्यान्नको अभाव खड्किएको हो । पहिरो विस्तापित बस्दै आइरहेको बारबिसे बस्तीको गजुरी गाउँपालिकाले जग्गाभाडा उपलब्ध गराउँदै आएको छ । तर दीर्घकालीन समाधान हुन सकेको छैन । गाउँपालिकाले भाडा तिरिदिएकोे जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहाँ जाने, के गर्ने अन्योलमा छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्