तस्बीर श्रोत– ट्वीटर @kiraincongress

अन्तर्राष्ट्रिय

बगैँचाको काम छाडी राइफल बोकेर युद्धमैदानमा उत्रिइन् युक्रेनी सांसद्

By खबरहब

February 27, 2022

काठमाडौँ- रुसी आक्रमणपछि युक्रेनमा अहिले व्यापक भीडन्त भइरहेका छन् । रुसी सेनाको आक्रमणलाई परास्त गर्नका लागि अहिले युक्रेनी सैनिकका साथै आम सर्वसाधारण र राजनीतिक नेताहरु पनि उत्तिकै लागि परिरहेका छन् ।

रुसी आक्रमणपछि युक्रेनी सरकारले जनतालाई हातहतियार समेत बाँडिरहेको छ । यसै क्रममा युक्रेनकी एकजना सांसद् पनि राइफल बोकेर युद्धमैदानमा उत्रिएकी छिन् ।

युक्रेनी सांसद् किरा रुडिकले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्दै युक्रेनको रक्षाका लागि आफू तयार रहेको जनाएकी छिन् ।

सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेको तस्बीरमा उनले हातमा कालास्निकोभ शैलीको राइफल बोकेकी छिन् । उनले लेखेकी छिन्– ‘राइफल बोक्न र चलाउन मैले जानेकी छु ।’

उनी अगाडि लेख्छिन्,‘अस्तीको दिनसम्म यस्तो दिन आउला जस्तो मलाई लागेको थिएन, हाम्रा महिलाहरुले पनि पुरुषजत्तिकै माटोको रक्षा गर्नेछन्।’

‘बगैँचामा मैले गुणकेशरी र घण्टीफूल रोप्ने सोचेकी थिएँ । तर अहिले म हतियार चलाउन सिकेर किभको रक्षाका लागि तयार भएर बसेकी छु । हामी कतै जादैनौँ । यो हाम्रो शहर हो, हाम्रो भूमि हो, हाम्रो माटो हो । हामी लड्नेछौँ ता कि अर्को साता फूलहरु रोप्न सकियोस् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विपक्षी भ्वाइस पार्टीकी नेतृ रुडिकले स्वतन्त्रताका लागि युक्रेनीहरु लडिरहने समेत स्पष्ट पारिन् ।

विपरीत राजनीतिक खेमामा रहेका बावजुद पनि राष्ट्रपति जेलेन्स्कीले युद्धका समयमा राष्ट्रपतिको भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।