अपेक्षाभन्दा सुस्त रुसी आक्रमण, कठोर युक्रेनी प्रतिरोध | Khabarhub Khabarhub

अपेक्षाभन्दा सुस्त रुसी आक्रमण, कठोर युक्रेनी प्रतिरोध


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनमाथि आक्रमण शुरु गरेको आज चौंथो दिनसम्म आइपुग्दा समेत रुसी फौजले अपेक्षा अनुसार उल्लेखनीय सफलता हासिल गर्न असफल भइरहेका छन् । रुसी फौज बल्ल चौंथो दिन आइतबार युक्रेनको दोश्रो ठूलो शहर खार्किब प्रवेश गरेको छ । रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा रहेको खार्किब शहरमा उल्लेख्य रुसी भाषीको बसोबास छ । त्यसैले यस शहर तुलनात्मक रुपमा सहजै रुसी फौजको कब्जामा जाने अपेक्षा गरिएको थियो ।

तथापी रुसी फौजले खार्किब र आसपास युक्रेनी सुरक्षा बलको कठोर प्रतिरोधको सामना गरिरहनु परेको छ । अपेक्षा भन्दा कठोर प्रतिरोधको सामना गरिरहेका कारण युक्रेनमा रुसी सेना निराशा र तनावको अवस्थामा रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । रुसी सुस्तता खार्किब शहरतर्फ पूर्वी खेमामा मात्रै सीमित छैन ।

पेन्टागनका अनुसार रुसी फौजले विशेषगरी उत्तरी खेमामा अपेक्षाभन्दा धेरै कठोर प्रतिरोध र सुस्त गतिका कारण निराशाको सामना गर्नुपरिरहेको छ ।

अर्कोतर्फ आक्रमणकारी रुसी फौजलाई रसद आपुर्तीको समेत समस्या परिरहेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बीर र भिडियोहरुमा युक्रेनी प्रहारबाट ध्वस्त भएका र तेल सकिएर त्यसै अलपत्र छाडिएका रुसी ट्यांक, बख्तरबन्द गाडी र अन्य सैनिक उपकरणको लस्कर बाटोमा त्यसै छाडिएको देख्न सकिन्छ ।

पेन्टागनका अनुसार आक्रमणमा सामेल हुन तयारमध्ये हालसम्म आधाजति रुसी सैनिक युक्रेन प्रवेश गरिसकेका छन् ।अर्कोतर्फ बेलायती रक्षामन्त्रालयले ट्वीट गर्दै युक्रेनमा रुसी फौजले हताहतीको सामना गर्नुपरिरहेको र धेरै रुसी सैनिक युक्रेनी युद्धबन्दी समेत बनिरहेको जनाएको छ ।

हाल युक्रेनी सरकारले १८ देखि ६० वर्ष उमेर समूहका पुरुष नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाएको छ भने राजधानी किभ सहितका शहरहरुमा नागरिकलाई हतियार समेत वितरण गरिरहेको छ । त्यसमाथि नेटोमा आबद्ध देशहरुबाट समेत युक्रेनलाई हातहतियार र आर्थिक सहयोग भइरहेको छ ।

यस्तो अवस्थामा आउँदा दिनहरुमा युक्रेनी प्रतिरोध अझ कठोर र रुसी आक्रमण अझ सुस्त बन्नसक्ने युद्धविश्लेषकहरु बताउँछन् ।रुसी आक्रमण सुस्त हुँदै गर्दा नेटोसहित रुसको विपक्षमा रहेका देशहरुले रुसमाथि अझ तीब्र आर्थिक र कूटनीतिक दबाब बढाउँदै लगिरहेका छन् । रुसी आक्रमणको प्रारम्भिक दिनहरुमा रुसमाथि झिनो आर्थिक नाकाबन्दीको घोषणा गरेका युरोपेली मुलुकहरुले कठोर युक्रेनी प्रतिरोधबाट प्रोत्साहित हुँदै रुसलाई अन्तर्राष्ट्रिय बैंकिङ सञ्जाल ‘स्विफ्ट’ बाट हटाउन समेत तयार भइरहेको समाचार छ ।

प्रारम्भिक चरणमा रुसलाई स्विफ्टबाट हटाउन आनाकानी गरिरहेका जर्मनी, इटाली, साइप्रसजस्ता देशहरुले यतिबेला आएर भने रुसलाई स्विफ्टबाट हटाउन सकारात्मक बन्दै गएको युक्रेनी विदेशमन्त्रालयको दाबी छ । स्विफ्टबाट हटाएको खण्डमा रुसको सबैभन्दा ठूलो निर्यातवस्तु प्राकृतिक ग्याँस र तेलमार्फत रुसलाई पैसा आउने प्रमुख बाटो बन्द हुनेछ ।

रुसी फौजको अनपेक्षीत सुस्तताको कारण रुस र राष्ट्रपति भ्लादिमिर पुटिनका केही महत्वपूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय साझेदारहरु पनि टाढिँदै गइरहेका छन् । केही दिनअघिमात्रै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको निन्दा गर्न अमेरिका र अल्बानियाले ल्याएको प्रस्तावमाथि मतदानका क्रममा रुसको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय साझेदार चीनले रुससँग ऐक्यबद्धता जनाउँदै भिटो प्रयोग गर्नुको साटो अनुपस्थित हुन पुगेको थियो ।

अर्कोतर्फ युद्ध लम्बिदै गएको खण्डमा रुसले कूटनीतिक एक्लोपन खेप्नुपर्ने मात्रै नभई रुसको युद्धखर्च समेत बढ्दै जाने विज्ञहरुको विश्लेषण छ । रुसको छिमेकी इस्टोनियाका पूर्व सैनिक अधिकारी एवम् युरोपेली संसद्का सदस्य रिहो टेर्रासका अनुसार युक्रेनमाथि आक्रमण गर्नका लागि रुसले दैनिक २० अर्ब डलर खर्च गर्नुपर्ने हुन्छ । उसैपनि २०१४ मा प्रतिबन्धको सामना गरेयता आर्थिक रुपमा कमजोर रुसलाई युद्ध लम्बिएको खण्डमा युद्धखर्च धान्न धौ धौ पर्ने र यही कारण घरेलु राजनीतिमा पुटिनको छवि धुमिलिन सक्नेछ ।

उत्तरतर्फ बेलारुस दक्षिणतर्फ क्राइमिया र पूर्वतर्फ रुसबाट गरी तीन दिशाबाट रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले रुससँग पटक पठक वार्ताका लागि आग्रह गर्दै आइरहेको छ । रुस सरकारले ‘नव नाजी’ को संज्ञा दिएको युक्रेन सरकारसँग शुरुमा वार्ता गर्न ठाडै अस्वीकार गर्दै आइरहेकोमा सायद युद्धमा आफ्ना फौजको वास्तविक अवस्थिती बुझेर हुनुपर्छ अहिले आएर भने वार्ताका लागि तयार रहेको बताउन थालेको छ भने बेलारुसमा वार्तास्थल पनि प्रस्ताव गरेको छ । अर्कोतर्फ युक्रेनले बेलारुस तटस्थ मध्यस्थकर्ता नभई रुसी साझेदार भएका कारण बेलारुसमा वार्ता नगर्ने बताउँदै आएको छ ।

रुसले गत बिहीबार युक्रेनमाथि आक्रमण गरेयता राजधानी किभसहित ठाउँठाउँमा लडाईँ हुने क्रम जारी छ । लडाईबाट बच्न सर्वसाधारण युक्रेन छाडेर छिमेकी देशतर्फ ओइरिने क्रम जारी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ५ : ४५ बजे

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

एजेन्सी – ग्वाटेमाला सहरस्थित एक शवदाह गृहमा मङ्गलबार भएको सशस्त्र

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं – अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका

माओवादी केन्द्रले तय गर्‍यो स्थायी कमिटी बैठकका एजेन्डा

काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ

बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता

रामल्ला– बेलायती प्रधानमन्त्री कीर स्टारमरले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग बुधबार

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी