बाइडेन युरोप पुगी पुटिनलाई दिन खोजेको सन्देश | Khabarhub Khabarhub

बाइडेन युरोप पुगी पुटिनलाई दिन खोजेको सन्देश



अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति व्यक्तिगत रूपमै तिखा टिप्पणी गरिरहेका छन् । बाइडेनले पुटिनलाई एक विशुद्ध ठग, हत्यारा तानाशाह, युद्ध अपराधी, कसाई आदीको संज्ञा दिँदै आएका छन् । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा सहभागी हुन युरोप पुगेका बाइडेनले पुटिनप्रति थप आक्रोश पोखे । नेटोले युक्रेनलाई सैन्य सहायता बढाउनदेखि गठबन्धन देशहरू विरुद्ध रुसी आक्रमण भए सामूहिक जवाफ फर्काउने चेतावनी दिए ।

अमेरिकी राष्ट्रपति बाइडेनको पुटिनसँगको धैर्यता टुटिसकेको छ । युक्रेन आक्रमणपछि पुटिनसँगको उनको प्रतिद्वन्द्विता धेरै पर पुगिसकेको छ । बाइडेन रुसले सन् २०१४ युक्रेनको क्राइमिया कब्जा गरेको जस्तो अवस्था नआओस् भन्ने चाहन्छन् । बाइडेन अमेरिकाको एक अनुभवी राजनीतिज्ञ रहेकोले यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तो व्यक्तिगत अभिव्यक्ति हत्तपत्त दिँदैनन्। तैपनि उनी अमेरिकी संस्थागत र संरचनागत ढंगबाट भन्दा फरक अभिव्यक्ति नदिने राष्ट्रपति रहेपनि पुटिनको हकमा भने एक कदम अघि बढी रुखो आलोचना गरिरहेका छन् । पुटिनले विभिन्न चेतावनी दिएपनि अमेरिकाले युक्रेनलाई सैन्य मद्दत गरिरहेको छ र रुससँग जस्तोसुकै मुकाबिला गर्न तयार रहेको प्रष्ट पारिसकेको छ ।

बाइडेनका विचारमा पुटिनले बुझ्ने भाषा भनेको उनले गरेको निर्णयलाई भारी मूल्य चुकाउने बनाउने हो त्यो भनेको सैनिकहरूको जीवनमात्रै नभएर उनको जीवनरेखा मानिएको अर्थतन्त्रनै ध्वस्त पारिदिने हो । सन् २०१४ मा क्राइमियामाथि रुसले गरेको कब्जाको कसरी प्रतिक्रिया दिने भन्ने विषयमा अमेरिका जसरी अल्मलमा थियो यो पटक बाइडेन अल्मलमा परेनन् र तत्कालै भारी हतियारसहितका सहायता गर्ने निर्णय गरिहाले । जसले गर्दा युक्रेनमाथि रुसी आक्रमण दोस्रो महिना प्रवेश गर्दा पनि सफल हुन सकेको छैन र हजारौं सैनिकको हताहति र भारी हतियार नष्ट भएकाले हतोत्साहित अवस्थामा पुगिसकेको छ । शुरुका केही दिन रुसी आक्रमणमा युक्रेनी प्रतिक्रिया हेरिरहेको अमेरिका एक प्रजातान्त्रिक देशलाई रुसले क्राइमिया जस्तै सहजै कब्जा नगरोस् भन्नेमा सचेत देखिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन युरोपलाई सुरक्षाप्रति विश्वस्त तुल्याउन युरोप भ्रमणका क्रममा पोल्याण्डमा रहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कसाईको संज्ञा दिइरहँदा पोल्याण्डसँगको सीमावर्ती युक्रेनी शहर लभिभमा रुसी क्षेप्यास्त्र हमलाहरु भइरहेका थिए । अपेक्षाकृत शान्त रहेको पोल्याण्ड नजिकैको युक्रेनी शहरलाई पछिल्लो समय रुसले तिब्र हमलाको निशाना बनाइ रहेको छ । लभिभबाट झण्डै ४ सय किलोमिटर टाढा अमेरिकी राष्ट्रपति बाइडेनले पोल्याण्डको राष्ट्रिय रङ्गशालामा युक्रेनी शरणार्थीहरूलाई भेटिरहेका बेला युक्रेनी शहरमा ठूलो सैन्य हमला भइरहेको थियो।

शरणार्थी शिविरमा रहेकी एक महिलाले बाइडेनलाई ‘हामी युक्रेनी आमाहरू हाम्रो खाली हातले पुटिनको घाँटी थिच्न तयार छौं’ भन्दै युक्रेनी नागरिकको रुससँग लड्ने क्षमता देखाइरहेकी थिइन् ।

शरणार्थीको समस्या सुनेर होटल फर्केका बाइडेनलाई लभिभमा भएको हमलाको बारे जानकारी पाएपछि रुसप्रति क्रुद्ध बनेका थिए । आफ्नो भ्रमण स्थानको केही सय किलोमिटरमा रुसले आक्रमण गरी धम्काउँन खोजेको बुझेका बाइडेनले केही घण्टा पछिनै क्रोधीत हुँदै रूसी राष्ट्रपति पुटिनले सत्तामा रहन सक्दैन भनि घोषणा गरे ।

वास्तवमा बाइडेनको युरोप भ्रमणका बेला व्यक्त अभिव्यक्तिहरु अमेरिकी संस्थापन या सरकारी निकायहरुले चाहेभन्दा फरक थियो । अमेरिकी राष्ट्रपति सवार हुने एयर फोर्स वनबाट वाशिंगटनतर्फ फर्कंदा सबै सहयोगीहरू चकित परेका थिए। अमेरिकी संस्थापन पुटिनको सत्ता पलट या थप व्यक्तिगत गाली गलौजमा उत्रनुभन्दा तत्कालका लागि रुसलाई आर्थिक दबाबमार्फत परिणाममुखी समाधान चाहन्छ। उनीहरुले भाषणमा उल्लेख नै नगरेको कुरा बाइडेनले बोलेपछि उनीहरु अहिलेपनि उक्त अभिव्यक्तिलाई सन्तुलन गर्नेतर्फ देखिन्छन् । यसअघि पनि बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका थिए।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका अधिकारीहरूले हतारमा एउटा स्पष्टीकरण जारी गर्दै बाइडेनले रुसमा शासन परिवर्तनको लागि आह्वान नगरेको बताएका छन् । रुस भने बाइडेनको प्रतिक्रियाले कुद्ध बनिसकेको छ । क्रेमलिनले बाइडेनको प्रतिक्रियालाई अपमानजनक मानेको छ र रुसी शासक बाइडेनले घोषणा गर्ने होइन भनेको छ ।

अमेरिकी गुप्तचर निकायहरुले रुसले युक्रेनमाथि आक्रमण गर्दैछ भन्ने सूचनाका आधारमा रुसी नेताहरुसंग अमेरिकी अधिकारीहरुले कुरा गर्दा त्यस्तो नचाहेको लगायतका झुट बोलेपछि बाइडेनको दृष्टिकोणमा पुटिन एक अविश्वसनिय नेताको रुपमा दर्ज भएका छन । बाइडेनले पुटिनप्रतिको आक्रोशकै बीच ठग, हत्यारा तानाशाह, युद्ध अपराधी लगायतले शब्द आरोपित गरिरहेका छन् । त्यस्तै प्रकृतिको पुनः अर्को रुखो टिप्पणी गर्दै पुटिनलाई कसाईको रुपमा अर्थ्याएका छन् ।

बाइडेनका सहयोगीहरू अझैपनि व्यक्तिगत गालीगलौज र शीतयुद्धबाट बच्नसक्ने राजनीतिक आधार र वार्ताप्रतिनै आशावादी छन् । उनीहरु रुसलाई ठूलो शक्तिको रुपमा विश्वास गर्दैनन् र रुस नै जतिसुकै असहमत भएपनि कुनै विन्दुमा युरोपसंग संवादमा फर्कने ठान्छन् । अहिलेका दबाबपूर्ण राजनीतिक, कुटनीतिक र आर्थिक नाकाबन्दी रुसलाई गलाउन र युद्ध गर्ने सामर्थ्य नै नष्ट गर्ने प्रयासका रुपमा भइरहेका छन् सत्ता नै परिवतर्न गर्ने तहमा ।

युक्रेनमाथिको आक्रमणपछि अमेरिका र युरोपले रुसमाथि अर्थतन्त्रनै ध्वस्त पार्नेगरी नाकाबन्दी गरिसकेका छन् । रुसको आर्थिक व्यवस्था नै चौपट बनिसकेको छ। रूसले महत्वपूर्ण प्रविधिहरूमा पहुँच गुमाउँदै गएको छ । अहिले सबैभन्दा महत्वपूर्ण भनेको नेटो देशहरुमाथि आक्रमण भए सबै देशले मिलेर प्रतिरोध गर्ने एकता देखाउनु हो । पुटिनले आफ्ना आणविक बललाई उच्च सतर्कतामा रहन आदेश दिँदै यदि कुनै राष्ट्रले युक्रेनमा हस्तक्षेप गरेमा विनाशकारी परिणामहरू व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

पुटिनले आणविक धम्की दिएपनि नेटो देशहरुसँगपनि आणविक हतियार रहेकाले यदि रुस त्यो हदमा गयो भने पुटिन र रुसको पतन अवश्यमभावी छ । आर्थिक रुपमा कंगाल बनेको रुस लामो समयसम्म पश्चिमा विश्वले यसैगरी नाकाबन्दी लगाइरहने हो भने देश नै चलाउँन नसक्ने अवस्थामा पुग्नेछ ।

रुसलाई लागेको भनेको अमेरिका अफगानिस्तानबाट फर्केको र हिन्द प्रशान्त क्षेत्रमा केन्द्रित रहेकाले तत्काल ठूलो युद्धमा संलग्न हुँदैन भन्ने अनुमान हो । तर अमेरिकाले रुसले अनुमान गरेभन्दा धेरै परसम्मै पुगी युक्रेनलाई सहयोग गर्न तयार भइदियो । बाइडेनले रुसी आक्रमणलाई लोकतन्त्र र निरंकुशताहरू बीचको द्वन्द्वको रूपमा अर्थ्याउँदै विश्वका प्रजातान्त्रिक देशहरुबीचको सहकार्यले निरंकुशतालाई जित्ने विश्वास लिएका छन् । बाइडेनले युरोप नै पुगेर दिएको स्पष्ट सन्देश के हो भने रुसको धम्कीले अमेरिका डराउँदैन, भने यदी कुनै पनि नेटो आबद्ध देशहरुमा आक्रमण गरे रक्षाका लागि लड्नै परेपनि अमेरिका र उसका साझेदारहरु तयार छन् पुटिनलाई त्यसमा कुनै शंका नहोस् ।

(सीएनएन, बीबीसी लगायत एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ०८ बजे

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी