विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्:

आज चैत्र १३, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च २७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

युक्रेनमा रुसको ‘रणनीतिक विफलता’ बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा विफल’ भएको टिप्पणी गरेका छन् । युरोप भ्रमणका क्रममा युक्रेनको छिमेकी देश पोल्याण्डको राजधानी वार्सामा सम्बोधन गर्दै बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा टिक्न नसक्ने समेत बताएका छन् ।

युक्रेनलाई समर्थन गर्न विश्वका प्रजातन्त्रहरूलाई एकजुट हुन आह्वान गर्दै राष्ट्रपति बाइडेनले पुटिनप्रति संकेत गर्दै भने, ‘ईश्वरका लागि यो मान्छे शक्तिमा रहन सक्दैन ।’

यता राष्ट्रपति बाइडेनको टिप्पणीलाई लिएर रुसी प्रशासन क्रेमलिनले निन्दा गरेको छ । आफ्ना राष्ट्रपति छान्ने अधिकार आफूहरूलाई मात्र बताएको क्रेमलिनले जनाएको छ । राष्ट्रपति बाइडेनको भनाइको विरोध गर्दै क्रेमलिनले अमेरिकाका बारेमा टिप्पणी गर्ने अधिकार नभएको प्रतिक्रिया दिएको छ ।

‘त्यसबारे निर्णय गर्ने अधिकार बाइडेनलाई छैन । रुसका राष्ट्रपतिलाई रुसी जनताले निर्वाचित गर्छन्’ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्ससँग भने ।

रुसको प्रतिक्रियापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसका एक अधिकारीले राष्ट्रपति बाइडेनले रुसमा शासन परिवर्तनका लागि आह्वान नगरेको तर त्यसको अर्थ ‘पुटिनलाई आफ्ना छिमेकी वा क्षेत्रमा शक्ति प्रयोगका लागि अनुमति दिन नसकिने’ रहेको बताए ।

बाइडेनद्वारा पुटिनलाई ‘कसाई’ को संज्ञा

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका छन् । युरोप भ्रमणका क्रममा पोल्याण्डको राजधानी वार्सामा रहेको उनले पुटिनलाई कसाई भनेका हुन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युद्ध जित्ने नसक्ने समेत उनको भनाइ छ । वार्साको रोयस कासलमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले पुटिनलाई नेटो मुलुकहरुको ‘एक इन्च’ भूभागमाथि आक्रमण गर्ने सोचाई समेत नराख्न चेतावनी दिए ।

गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण थालेको रुसी फौजले त्यहाँ आवासीय क्षेत्र एवम् गैरसैनिक सार्वजनिक पूर्वाधारमाथि आक्रमण गरेको आरोप लागिरहेका बेला बाइडेनले पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका हुन् ।

रुसी फौज युक्रेनमा जारी आक्रमणका क्रममा युद्ध अपराधमा समेत संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । यता रुसी प्रशासन क्रेमलिनले भने बाइडेनको टिप्पणीको निन्दा गरेको छ ।

चीनमा भएको विमान दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि

चीनमा गत सोमबार दुर्घटनामा परेको यात्रुवाहाक विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटना भएको छैटौँ दिन उद्धारकर्ताले विमानमा सवार सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् ।

‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो ।’ चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भने ।

घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआङ्शी प्रान्तको झुआङ् क्षेत्रमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त विमानमा १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य थिए । उनीहरु सबैको मृत्यु भएको जनाइएको छ । दुर्घटना भएलगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयमसेवकहरु लगायत खटिएका थिए ।

मंगल अभियान स्थगित

युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले रुसी निकायसँग मिलेर थालेको मंगल ग्रह अभियान स्थगित गर्ने घोषणा गरेको छ ।

रुसको राज्य सञ्चालित रोस्कोस्मोस अन्तरिक्ष निकायसँग मिलेर ईएसएले थालेको एक्सोमार्स अभियान अनिश्चितकालसम्मका लागि स्थगन गरिएको जनाएको हो । फ्रान्सको राजधानी पेरिसमा आयोजित ईएसएको परिषद् बैठकले यस्तो निर्णय गरेको युरोपेली सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि आक्रमण गरेसँगै रुसी संस्थान एवम् महत्वपूर्ण व्यक्तिहरुमाथि युरोपेली मुलुकहरुले प्रतिबन्ध लगाएको अवस्थामा ईएसएको यस्तो घोषणा आएको हो ।

‘युक्रेनमाथिको आक्रमणबाट भएको मानवीय क्षति र दुःखपूर्ण नतिजाको हामी निन्दा गर्दछौं ।’ ईएसएको विज्ञप्तिमा उल्लेख छ । ‘अन्तरिक्षको वैज्ञानिक अन्वेषणमा यसले पारेको प्रभावलाई स्वीकार गर्दै ईएसए रुसमाथि सदस्य मुलुकहरुले लगाएको प्रतिबन्धको पूर्ण पक्षमा छ ।’

यता रुसले भने ईएसएको यस्तो निर्णय ‘दुर्भाग्यपूर्ण’ रहेको टिप्पणी गरेको छ । ‘अन्तरिक्षप्रति चासो राख्ने सबैका लागि यो तितो निर्णय हो ।’ रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले बताएका छन् । उनले रुस एक्लैले अनुसन्धानात्मक अन्वेषणलाई जारी राख्ने समेत बताए ।

भारतमा फेरि पेट्रोलको भाउ बढ्यो

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ रुपैयाँ ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० रुपैयाँ ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो ।

स्थानीय करका आधारमा भारतका विभिन्न राज्यहरुमा पेट्रोलियम पदार्थको दरमा फरक पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा विपक्षी पार्टीहरुले भने सरकारको चर्को आलोचना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अष्ट्रेलिया प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने

अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका प्रमुख विमानसेवा कम्पनीका अधिकारीसँगको छलफलपछि त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका हुन् ।

‘अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ, अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।’ मन्त्री हन्टले भने ।

कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ । यद्यपि मास्कको प्रयोगलाई अनिवार्य गर्ने व्यवस्थालाई भने निरन्तरता दिइएको अष्ट्रेलियाको समाचार संस्था एबीसीले जनाएको छ ।

अहिले अष्ट्रेलियन नागरिक र त्यहाँ स्थायी बसोबास गर्नेहरुका लागि खोप नभएपनि प्रवेश अनुमति दिइँदै आइएको छ ।

रुसी उर्जा त्याग्ने मुलुकलाई क्यानाडाले सहयोग गर्ने

रुसी उर्जा त्याग्ने मुलुकहरुलाई क्यानाडाले सहयोग गर्ने भएको छ । क्यानाडाका प्रकृतिक श्रोत मन्त्री जोनाथन विल्किन्सनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अब क्यानाडाले विश्व उर्जा बजारमा थप ग्यास, तेल र युरेनियम उपलब्ध गराउने छ ।

‘रुसी ग्यास र तेल प्रतिस्थापनका लागि सहयोग गर्न’ धेरै मुलुकहरु प्रतिबद्ध रहेको विल्किन्सनको भनाइ छ । हाल विश्वको चौथो ठूलो तेल उत्पादक मुलुक क्यानाडाले यसका लागि २ लाख ब्यारेल प्रतिदिन थप तेल उत्पादन गर्ने उनले जनाए । त्यस्तै, उर्जा बजारमा १ लाख ब्यारेल थप प्रकृतिक ग्यास आपूर्ति गर्न समेत क्यानाडा तयार रहेको उनको भनाइ छ ।

विश्वका उर्जा मन्त्रीहरुले अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईए) को पेरिसमा बसेको बैठकमा उर्जा उत्पादन बढाउन आह्वान गरेसँगै क्यानाडाका तर्फबाट यस्तो भनाइ आएको हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेसँगै विश्वमा उर्जाको मूल्य अकासिएका बेला क्यानाडाको नयाँ घोषणालाई निकै महत्वका साथ हेरिएको छ ।

युक्रेनबाट पछि हटे रुसमाथिका प्रतिबन्ध फुकुवा हुनसक्ने बेलायती विदेशमन्त्रीको भनाइ

युक्रेन आक्रमणबाट पछि हटेको खण्डमा रुसमाथि लगाइएका प्रतिबन्धहरू समेत हटाउन सकिने बेलायती विदेशमन्त्री लिज ट्रसले जनाएकी छिन् ।

बेलायतबाट प्रकाशित हुने टेलिग्राफ अखबारले जनाएअनुसार युक्रेनबाट पछि हटेको र आइन्दा आक्रमण नगर्ने प्रतिबद्धता जनाएको खण्डमा रुसी धनाढ्य र कम्पनीविरुद्ध लगाइएका प्रतिबन्ध फुकुवा गर्न सकिने ट्रसको भनाइ छ ।

‘हामीलाई के थाहा छ भने रुसले धेरै सम्झौता गरेपनि पालना गर्दैन । त्यसैले कठोर व्यवस्था हुनुपर्छ । अवश्य पनि यस्ता प्रतिबन्धहरू कठोर व्यवस्था हो ।’ टेलिग्राफलाई दिएको अन्तरवार्तामा उनले भनिन् ।

‘यस्ता प्रतिबन्धहरु पूर्ण युद्धविराम र सेनाफिर्तीपछि मात्रै फुकुवा हुनेछन् तर यसका लागि भविष्यमा आक्रामकतालाई पनि त्याग्नुपर्ने हुन्छ । अनि भविष्यमा आक्रामक भएको खण्डमा फेरि प्रतिबन्ध लगाउने अवस्था पनि आउनसक्छ ।’ उनले थपिन् ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार बेलायतले हालसम्म विभिन्न रुसी बैंक एवम् वित्तीय संस्थामाथि ५ खर्ब पाउण्ड बराबरको प्रतिबन्ध लगाएको छ भने रुसी धनाढ्यहरुमाथि १ खर्ब ५० अर्ब पाउण्ड भन्दा धेरैको प्रतिबन्ध लगाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि बेलायतसँगै, युरोपेली युनियन, अमेरिका, जापान, क्यानाडा लगायतका आर्थिक महाशक्तिले रुसी कम्पनी एवम् धनाढ्यहरुमाथि प्रतिबन्ध लगाएका छन् ।

रुसमा विलय हुनेबारे जनमत संग्रह गरिने युक्रेनी पृथकतावादी नेताको भनाइ

युक्रेनका पृथकतावादी नेताले रुसमा विलय हुने विषयमा मतदान गर्न चाहेको बताएका छन् ।

स्वघोषित लुहान्स्क जनगणतन्त्रका प्रमुख लियोनिड पेश्चेनिकले रुसमा विलय हुने विषयमा निकट भविष्यमा नै जनमत संग्रह आयोजना गर्न सकिने बताएको समाचार संस्था एपीले जनाएको छ ।

एपीका अनुसार मतदाताहरूलाई रुसको हिस्सा हुने वा नहुने विषयमा जनमत संग्रह गरिने उनको भनाइ छ ।

यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेपछि पनि जनमत संग्रहको आयोजना गरेको थियो । उक्त जनमत संग्रहमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको नतिजा आएको दाबी गर्दै रुसले क्राइमियालाई आफूमा गाभेको थियो । यद्यपि विदेशी पर्यवेक्षकले भने जनमत संग्रह अत्यन्त धाँधलीपूर्ण रहेको बताएका थिए ।

सन् २०१४ मा युक्रेनमा तत्कालीन रुस समर्थित राष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गर्नेगरी भएको आन्दोलनपश्चात युक्रेनको रुसी भाषीको बहुलता रहेको पूर्वी क्षेत्रमा लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र गरी दुई स्वघोषित ‘राज्य’ स्थापित छन् । रुसले दुबै ‘राज्य’ हरुलाई समर्थन गर्दै आएको छ ।

रुसले यी दुबैलाई गत २४ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्नुपूर्व २१ फेब्रुअरीमा स्वतन्त्र राज्यको मान्यता दिएको थियो ।

टर्कीले बस्फोरसको स्ट्रेट बन्द गर्यो

धराप हटाउन भन्दै टर्कीले भू रणनीतिक रुपमा महत्वपूर्ण बस्फोरसको स्ट्रेट बन्द गरिदिएको छ । कृष्ण सागर र भूमध्य सागरलाई जोड्ने उक्त स्ट्रेटलाई टर्कीले बन्द गरेको हो ।

कृष्ण सागरको तटीय सीमा युक्रेन र रुससँग जोडिन्छ भने मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिणी युरोपसँग भूमध्य सागरको सीमा जोडिन्छ । नोभोरोसिस्क, सोची, मारिउपोल, ओदेसाजस्ता रुसी एवम् युक्रेनी बन्दरगाह कृष्ण सागरकै तटमा अवस्थित छन् ।

द्वन्द्वग्रस्त कृष्ण सागरबाट तैरिदै आएको ठानिने समुद्री धराप हटाउन बस्फोरसको स्टे«ट बन्द गर्नु परेको टर्किस विदेशमन्त्री हुलुसी अकारलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । केही दिनअघिमात्रै सो क्षेत्रमा माझीहरुले पुरानो किसिमको धराप फेला पारेको समाचार सार्वजनिक भएको थियो ।

यसबारे युक्रेनी एवम् रुसी सुरक्षा अधिकारीसँगको सहकार्यमा धराप निष्कृय पारिएको जनाइएको छ । यसक्रममा इस्तानबुल शहरमा ठूलो विष्फोटको आवाज समेत सुनिएको अल जजीराले जनाएको छ ।

यसबाट केही समय सामुद्रिक पारवहन रोकिएपनि पुनः सञ्चालनमा आएको बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ३१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले