किन पदमुक्त भए धर्मेन्द्र र हेमन्त ? | Khabarhub Khabarhub

किन पदमुक्त भए धर्मेन्द्र र हेमन्त ?


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२ औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो । 

महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो । 

बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडान राखेका थिए । त्यसमा थिए- सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ ।

उनीहरूले बैठकमै फरक मत राखेका थिए । केन्द्रीय सचिवालयका पाँच नेतामध्ये कञ्चन र सुदर्शनसँगै केन्द्रीय समितिका बहुमत सदस्यले चुनाव लड्ने कदमको विरोध जनाएका थिए । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यहरू महासचिव विप्लवको चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा उभिएका थिए । 

विप्लवको उक्त प्रस्तावमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ले समर्थन जनाए । पार्टीभित्र नै अल्पमतमा परेपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूमाथि कारबाहीको तयारी थाल्यो । 

चुनाव नलड्ने नीति विपरीत प्रकाण्डले आफ्नै जिल्ला कालिकोट पुगेर आफ्नै भाइ बुहारी कलशा विकलाई उम्मेदवार बनाए । नरहरिनाथ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाए । यस्तै रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकलाई उम्मेदवारी दर्ता गराउन लगाए । 

प्रकाण्डले आफ्नो प्रस्ताव असफल भएपछि असन्तुष्ट बनेका प्रकाण्डले विप्लवलाई पेलेरै भए पनि आफ्ना केही मान्छेलाई चुनावमा भाग लिने वातावरण बनाए । पार्टीको तर्फबाट धमाधम उम्मेदवारी पर्न थालेपछि सचिवालय सदस्य कञ्चनले १२ वैशाखमा विज्ञप्ति निकाल्दै विरोध जनाए । सचिवालय सदस्यको हैसियतमा कञ्चनले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

व्यक्तिगत रूपमा विज्ञप्ति जारी गरे पनि उनले समग्र सचिवालयको तर्फबाट भनेका थिए । उक्त विज्ञप्तिप्रति विप्लव-प्रकाण्ड समूह रूष्ट बन्यो । केही दिन अगाडि बसेको केन्द्रीय सदस्य माइला लामासहितका नेताहरूको बैठकले चुनाव लड्ने कदमको भण्डाफोर गर्ने निर्णय गरेको थियो । 

धर्मेन्द्र–सुदर्शन समूहले नेतृत्वको विरूद्धमा विभिन्न कमद चालेको थियो । यतिसम्म कि आवश्यक परेको खण्डमा विप्लव-प्रकाण्ड समूहलाई कारबाही गर्ने सम्मको तयारी थियो । यसका लागि उनीहरूले केन्द्रीय समिति बैठकमा फरक मत राख्ने नेताहरूको भेला गर्ने, सार्वजनिक अभिव्यक्ति दिने जस्ता कार्य गर्न थाले । आफूविरुद्ध भण्डाफोर अभियान चलेको चाल पाएपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूलाई कारवाही प्रक्रियाअघि बढाएको हो । 

अन्ततः विप्लव-प्रकाण्ड समूहले सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले दुवै जनालाई निष्काशन गरेको हो । 

दुवै नेताहरूले मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यत एवं एकीकृत जनक्रान्तिको भावनाविपरीत बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको भन्दै निष्कासन गरिएको विप्लवको आरोप छ । 

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ३९ बजे

मुक्तकमैया, कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्नेः मन्त्री राणा

कैलाली – परराष्ट्रमन्त्री आरजु राणा देउवाले मुक्तकमैया, कमलरी, हरवा–चरवा, हलियाको

एकीकृत समाजवादीको विद्यार्थी संगठनको अध्यक्षमा महेश श्रेष्ठ

काठमाडौं – नेकपा (एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि

सुनसरी – यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण

देशको राजनीतिले असल पार्टी खोजेको छः अध्यक्ष नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौं – संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स