अडियो सुन्नुहोस्ः
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ । जेठ १ गतेदेखि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म तोकेको छ । हाललाई परीक्षणका रुपमा उक्त व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । उनले बाहिर चर्चा चलेजस्तो मुलुकको अर्थतन्त्र खराब नभएको दावी पनि गरे । मन्त्रिपरिषद्ले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा
सरकारको निर्णय अनुसार शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । पौडेलका अनुसार सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने छन् । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।
मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले वृद्धि भएको गभर्नरको भनाइ
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातको उच्च वृद्धिले मुलुकको व्यापार घाटा ३४ दशमलव ८ प्रतिशतले वृद्धि भएको बताएका छन् । बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अधिकारीले आर्थिक वर्ष २०७८–७९ को आठ महिनाको अवधिमा आयातमा ३८ प्रतिशतले बृद्धि भएकाले र मुलुकको व्यापार घाटा वृद्धि भएको बताए । निक्षेप भन्दा कर्जा धेरै भएकाले अझै पनि बैंकिङ क्षेत्र तरलता अभाव कायमै रहेको उनले बताए । उनले चालु आर्थिक वर्ष कृषिजन्य उत्पादनमा हुने केही वृद्धि, बन्दाबन्दीको अन्त्यपश्चात् आर्थिक गतिविधिमा देखिएको सुधार, पर्यटक आगमनमा भएको बढोत्तरी, आन्तरिक तथा बाह्य व्यापारमा भएको वृद्धिलगायतका कारण आर्थिक पुनरुत्थानले गति लिई आर्थिक वृद्धिमा केही सुधार हुने बताए ।
गठबन्धनमा परेको बागी उम्मेदवारी फिर्ता लिन निर्देशन
सत्ता गठबन्धनका शीर्ष नेताहरूले पाँच दलीय गठबन्धनभित्र परेको बागी उम्मेदवार फिर्ता गराउने निर्णय गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले गठबन्धनको निर्णयविपरीत दिएको उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो । त्यस्तै गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग गरेको तालमेल सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय पनि गरिएको छ । गठबन्धनको तर्फबाट सात बुँदे सहमति गरेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
मकवानपुरमा एकीकृत समाजवादीका अध्यक्षसहितले गरे पार्टी परित्याग
नेकपा (एकीकृत समाजवादी)का मकवानपुर जिल्लाका अध्यक्ष श्रीधर पोखरेलसहितका नेताले पार्टी परित्याग गरेका छन् । पोखरेलले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमप्रति असन्तुष्टि जनाउदै पार्टीमा बस्न नसक्ने अवस्था भएकोले पार्टी परित्याग गरेको प्रतिक्रिया दिएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै पोखरेलले पार्टी परित्यागको घोषणा गरे । जबरजस्ती ढंगबाट पार्टीमा व्यक्तिवाद हुर्काउन खोजेको, सरकारमा गएको मन्त्री र राजकीय ठाउँमा पाएका अवसरमा पठाइएको व्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रष्टाचारमा लिप्त मनोवृत्तिले दास बनाउने सोच हाबी हुँदै गएको उनको आरोप छ ।
कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर ओली आक्रोशित भए : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले कांग्रेसको घोषणापत्रमा एक पछि अर्को झुटको पर्दाफास भएपछि ओली आक्रोशित भएको टिप्पणी गरे । उनले ओलीलाई लजिक मन नपर्ने र म्याजिक मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको पनि बताए । थापाले आफ्ना पार्टीका कार्यकर्ताले घोषणापत्र पढ्न नभ्याएको भएपनि ओलीले रातिराति पढेर आलोचना गरेको जिकिर गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न र धेरै आवेगमा नआउन पनि सुझाव दिए ।
सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्नेमा गृहमन्त्री खाँणको जोड
गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्तागठबन्धनलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल तरुण दलले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले गठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले चितवनमा गठबन्धनभित्र देखिएको समस्या समाधान गर्ने भन्दै अन्य स्थानमा देखिएको समस्यामा पनि पार्टी नेतृत्वले समाधान गर्ने दावी गरे । उनले संविधान, लोकतन्त्र र नागरिकको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै सोहीअनुसार पार्टी अघि बढेको धारणा व्यक्त गरे ।
अहिलको सत्ता गठबन्धन बालुवा र तासको घर भएको विष्णु पौडेलको टिप्पणी
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अहिलेको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताएका छन् । आज रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चुनौति हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताए । उनले चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गरे । पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र बिकास अघि बढ्ने भएकाले जनताका लािग जीत हासिल गर्नुपर्ने धारणा राखे ।
स्थानीय तह निर्वाचनः उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्यो
स्थानीय तह निर्वाचनका लागि दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थालेकोे छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा हिजो उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिए । छानबिन पछि आयोगले भोलि उम्मेदवारको नामावली प्रकाशन गर्ने छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
टिपर, बस र कार ठोक्किँदा २८ जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको बस र कार आज दिउँसो एक आपसमा ठोक्किएको हो । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताउनुभयो । घाइते सबैको अवस्था सामान्य रहेको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौंको बुढानिलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । हिजो अपरान्ह शुरु भएको आगलागी आज विहान नियन्त्रणमा आएको निकुन्जका चिफ वार्डेन लक्ष्मण पौडेलले जानकारी दिए । आगो नियन्त्रणमा लिन हिजो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरेका थिए । निकुन्जसँगै आसपासका जंगलमा पनि डढेलो सल्किएको थियो । आसपासको पन्चकन्या सामुदायिक वनमा समेत लागेको आगो बिहान नै नियन्त्रणमा आएको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको भनाइ छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ११ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार १ सय १९ पीसीआर परीक्षणका क्रममा ८ जना र १ हजार ७ सय ७२ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १७ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
बुस्टर मात्रा लगाउन सरकारको आग्रह
सरकारले कोरोना भाइरस विरुद्धको एक मात्र जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरूलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो । जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ ।
शेयर बजार परिसूचक नेप्स आज झिनो अंकले बढ्यो
शेयर बजार परिसुचक नेप्स आज झिनो अंकले बढेको छ । नेप्से आज ५ दशमलव १७ अकंले बढेर २ हजार ३ सय ७६ दशमलव १७ विन्दुमा पुगेको हो । आज कुल २८ लाख ५ हजार ३९ कित्ता शेयर १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँमा कारोबार भएको छ । बैकिंग, व्यापार, माइक्रो फाइनान्स र म्युचल फन्ड बाहेकका सबै शेयर उकालो लागेको छ । आज जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । माउन्टेन इनर्जी नेपाल र मानुषी लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
सप्तरीमा विवादमा झडप हुँदा एक जनाको मृत्यु
सप्तरीमा बिहेमा डिजे बनाउने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको मृत्यु भएको छ । गत सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । पासवानको घरमा सोमबार राति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट उनी घाइते भएका थिए ।उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया