मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने | Khabarhub Khabarhub

मछिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिने


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आगामी बुधबार रथलाई जावलाखेल लगिने भएको छ ।

गत वैशाख २६ गते लगनखेल पुर्‍याइएको रथलाई सो दिन जावलाखेलतर्फ लैजान लागिएको हो । रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो जात्रा हुने गर्छ ।

बुधबार नै रथ पुगेमा शनिबार जात्रा हुने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । कुनै कारणले भोलिपल्ट मात्रै पुगेमा भने आइतबार जात्रा हुनेछ । सामान्यतया रथ लगनखेलबाट हिँडाएको दिनमा नै जावलाखेल पुगेको उनले बताए । जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ ।

जावलाखेलमा जात्रा सकिएसँगै मछिन्द्रनाथको यो वर्षको जात्रा सकिन्छ । त्यसपछि देवतालाई बुङमति लैजाने गरिन्छ । देवता वर्षमा झण्डै आधाआधा समय पाटन र बुङ्मति रहेने गर्छन् । आज मङ्गलबजारमा ज्योतिष खलक बसेर साइत हेर्दा जावलाखेलतर्फ लैजानका लागि बुधबारको साइत जुरेको हो । मङ्गलबजारको सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्ने गरिएको छ ।

उपत्यकाको सबैभन्दा लामो रातो मछिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा भइरहेको गुठीका प्रमुख हरि सुवेदीले बताए ।

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत दुई वर्ष साङ्केतिकरूपमा मात्रै रथ तानिएकामा यस वर्ष विधिपूर्वक भइरहेको छ । स्थानीयवासी हर्षित र उत्साहित भएको सुवेदीले बताए ।

स्थानीय तह निर्वाचन भइरहँदा पनि ललितपुर महानगरपालिकामा भने जात्राको रौनक छाएको थियो । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण भएपछि जात्राको रौनक अझै बढ्ने गरेको छ । मछिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मछिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ ।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको छ ।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । पहिले पहिले काठमाडौँवासी र भक्तपुरवासी पनि रथ तान्न आउने गरेको ललितपुरका ज्येष्ठ नागरिक बताउँछन् । फरक फरक मान्छेले रथ तान्दा सुरक्षित नभएपछि अहिले त्यो हटिसकेको छ ।

मछिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झन्डै वर्षभर नै लाग्ने गरेको छ । यो वर्ष झन्डै रु ५० लाख खर्च हुने कार्यालयले अनुमान गरेको छ । मछिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । रथ नियमितरूपमा र अवरोध नभई सञ्चालन हुँदा कम खर्च लाग्ने भए पनि बीचमा रथ बिग्रिएमा थप रकम लाग्ने उनले बताए । उनले भने, “बीचमा बिग्रिएर मर्मत गर्दा बढी रकम लाग्नसक्छ ।”

जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने उनले बताए । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुकोे कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका भेटिने गर्छन् ।

जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उनले बताए ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  १२ : ०२ बजे

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ– अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको

आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र’ बिक्री गरिँदै

काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (बुधबार) १० अर्ब बराबरको

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्

नेकपाका संस्थापक पुष्पलालको आज ४७औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ