नेपालमा यसरी फैलियो चिनियाँको आपराधिक साम्राज्य | Khabarhub Khabarhub

नेपालमा यसरी फैलियो चिनियाँको आपराधिक साम्राज्य



काठमाडौँ – यही साउन ८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा रहेको एउटा शंकास्पद कल सेन्टरमा छापा मार्‍यो ।

ब्लु स्काई बिजनेस सोलुसन प्रालिको बोर्ड राखेर उक्त कल सेन्टरले हजारौं नेपाली तथा भारतीय नागरिकलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको छ ।

जसमा मुख्य गिरोहको नेतृत्व गर्ने चिनियाँ नागरिक, एक भारतीय नागरिकसहित ठगी धन्दामा प्रयोग भइरहेका २ सय ५८ जना नेपाली युवायुवती पक्राउ परे । यो कल सेन्टरबाट नेपालीसहित हजारौं भारतीय नागरिक पनि ठगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो गिरोहले केही महिनायता, सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै म्यासेज पठाउने, अरुको फेसबुकलगायतका सामाजिक सञ्जाल ह्याक गर्ने तथा चिट्ठा तथा सामान लिनका लागि भन्दै निश्चित रकम भन्सार शुल्कजस्ता शीर्षकमा रकम मागेर महिनौंदेखि ठगीको कारोबार सञ्चालन गरिरहेको थियो ।

प्रहरीले यो कल सेन्टरबाट बरामद गरेको ल्यापटप, डेक्सटप, सीपीयू, मोबाइल, पेन ड्राइभ, विभिन्न हार्ड डिस्क, आइप्याड लगायतका सामानका आधारमा अहिले अनुसन्धान गरिरहेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले चिनियाँबाट बरामद भएको डिभाइस अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाइएको बताएका छन् ।

पक्राउ परेका भारतीय नागरिक निरञ्जन कुमारले आफूहरुको मुख्य कार्यालय चीनमा रहेको साथै काठमाडौ, पोखरा र चितवनमा समेत कल सेन्टर रहेको बयान दिएपछि दैनिक करोडौंको कारोबार हुने यो कल सेन्टरको जालो पत्ता लगाउने क्रममा यही सोमवार काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा अर्को चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो ।

स्काई वल्र्ड सर्भिस प्रालिका नाममा चलिरहेको यो कल सेन्टरका मुख्य योजनाकार पनि चिनियाँ नै थिए । काठमाडौँ प्रहरीले कल सेन्टरबाट एकजना चिनियाँ नागरिकसहित ४१ जनालाई नियन्त्रणमा लिएको छ । यो गिरोहले विभिन्न मोबाइल वालेटमार्फत लोन दिने र त्यतिबेला ऋण लिनेहरुको बैंकिङदेखि तीनपुस्ते सबै विवरण लिने गरेको पाइएको छ।

अधिकतम २० हजार ऋण एक दिनका लागि दिने यो समूहले ५ हजारसम्म ब्याज लिने गरेको पाइएको छ । ऋण असुलीका लागि र ठगी धन्दाका लागि यो गिरोहले काठमाडौमा ‘हनी ट्रयाप’ युवती प्रयोग गर्ने गरेको थियो ।

नेपालमा प्रविधिको प्रयोग गरेर नेपाली युवायुवतीमार्फत करोडौं ठग्ने चिनियाँ गिरोह यसअघि असार १६ गते पोखराको ड्याम साइडमा पनि पक्राउ परेको थियो । न्यू डायमण्ड टेक्नोलोजी नामको कम्पनीमार्फत दुई पुरुष र एक जना महिला चिनियाँले यो कल सेन्टर सञ्चालन गरिरहेका थिए ।

यो धन्दावाला कम्पनीमा नुवाकोटको ककनी गाउँपालिका-७ का सुमन तामाङको नागरिकता प्रयोग भएको थियो। नेपालीका नाममा कम्पनी दर्ता गरेर उनीहरुको ठगी धन्दामा प्रयोग भएका ८९ जना नेपालीसहित ४५ लाख ९७ हजार १८० रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

भिजिट भिसामा पोखरा पुगेका चिनियाँहरु ६ महिनादेखि ड्याम साइडको बज्र इन होटलको फ्ल्याट भाडामा लिएर सफ्टवेयर कम्पनीका नाममा नेपालीलाई ठगिरहेका थिए ।

यस्तो छ चिनियाँको अपराध श्रृंखला

२०७९ साल वैशाख १२ गते काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले यसै गरी १० जना पुरुष र १२ जना महिलासहित २२ जना चिनियाँलाई पक्राउ गर्‍यो । उनीहरु पर्यटकका रुपमा नेपाल आएर गैरकानुनी काम गरिरहेका थिए ।

अध्यागमन विभागका अनुसार भिसा अवधि सकिएको र अनलाइन जुवा खेलाउने लगायत काममा संलग्न चिनियाँहरु अहिले जेलमा छन् ।

लगत्तै गत जेष्ठ २४ गते नागढुंगा प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली ड्राइभरलाई पक्राउ गर्‍यो । प्रहरीका अनुसार चिनियाँ नागरिक वर्ष ५० बर्षका अङ जाइ किङसहित ४ जना चिनियाँ पर्यटक बी.ए.बी ५७१० नम्बरको गाडीमा उपत्यका बाहिर सञ्चालित कल सेन्टर तथा अनलाइन जुवा घरमा संकलन भएको स्रोत नखुलेको पैसा लिएर काठमाडौ फर्किरहेका थिए ।

उनीहरुबाट बरामद भएको रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको पुष्टि गरिसकेको छ ।

यस्तै २०७८ साल १ फागुनमा चार केजी आठ सय ४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ लि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे। पर्यटकका रुपमा नेपाल आएका राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय लि विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै जाँच गर्ने क्रममा पक्राउ परेका थिए ।

वि.सं. २०७८ साल कार्तिक १२ गते संखुवासभा प्रहरीले ग्रामीण क्षेत्रमा भेटिएका चीनको सिचुआन निवासी वु छिङ लिङ र सान्दोङ निवासी जाङ फुहेनलाई पक्राउ गर्‍यो । उनीहरु रुद्राक्षको फलमा कृतिम आकार सिर्जना गर्ने उपकरण तथा औषधीसहित संखुवासभा पुगेका थिए ।

उनीहरुले उपकरण र औषधी प्रयोग गरेर लामो समयदेखि एक मुखे अथवा बहुमुखे रुद्राक्ष श्रृजना गर्ने र सोही दाना देखाएर ठग्ने धन्दा गर्दै आएको पुष्टि भयो ।

२०७८ फागुन १० गते काठमाडौको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परे । काठमाडौ प्रहरीका अनुसार उनीहरु अनलाइनबाट अवैध कारोबार, कल बाइपास र जुवातास सट्टेबाजी धन्दामा संलग्न थिए ।

लगत्तै सोही दिन प्रहरीले भक्तपुरको सानोठिमीमा छापा मार्‍यो । त्यतिबेला चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परे । उनीहरु पनि अनलाइन ठगी तथा कल बाइपास धन्दामा संलग्न थिए ।

यसैगरी २०७८ साल असार २३ गते महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौंको ज्याठा गल्लीमा चीनका नागरिकले सञ्चालन गरेको एउटा होटलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहारको खपटा पक्राउ गर्‍यो । सोही होटलमा छापा मार्दा सम्पत्ति हारजित हुने गरी जुवातास सट्टाबाजी खेलाइरहेको अवस्थामा थप चार जना चिनियाँ नागरिक पनि पक्राउ परे ।

पर्यटकका रुपमा होटलमा बसिरहेका उनीहरुसँग जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखिने वस्तु १ थान, गाईको छालाजस्तो देखिने वस्तु १ थान, कस्तूरीको बिनाजस्तो देखिने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम भेटियो ।

प्रहरीको विवरण अनुसार राहदानी २ थान, चीनका विभिन्न बैंकको एटीएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँतजस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान सोही होटलमा फेला परेको थियो ।

२०७६ साल वैशाख २६ गते, त्रिभुवन विमानस्थलबाट ४९ वर्षीय वाङ चुन यान चीन जान लागेको बेला एक लाख नेपाली रुपैयाँ, १३ हजार अमेरिकन डलर र ८ हजार भारतीय रुपैयाँसहित पक्राउ परे ।

२०७८ साल साउन १५ गते काठमाडौ प्रहरीले चीनको जियाङ्सु प्रान्तका ५६ वर्षीय शी झिवीलाई अवैध रूपमा मदिरा उत्पादन गरिरहेको अवस्थामा ठमेलबाट पक्राउ गर्‍यो । पर्यटक भिसामा नेपाल आएका ती चिनियाँ नागरिक ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिएर होम स्विट स्मेल होटल एन्ड रेस्टुरेन्ट प्रालि चलाइरहेका थिए ।

लामो समयदेखि नेपालमा बसेर अवैध काम गरिरहेका ती चिनियाँ नागरिकले उक्त भट्टीमा सरकारी अनुमतिविना नै ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गरेर बेचिरहेका थिए ।

त्यस्तै वि.सं. २०७६ साल पुष १० गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा एकैदिन १ सय २२ जना चिनियाँ नागरिकलाई काठमाडौका विभिन्न ९ वटा घरबाट नियन्त्रणमा लियो। चिनियाँ नागरिकले नेपालबाट साइबर क्राइम मार्फत चिनियाँ नागरिकलाई नै ठगी गरिरहेको सूचनाका आधारमा चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा उनीहरु पक्राउ परेका थिए ।

तारकेश्वर, मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठका ९ वटा घरमा एकसाथ खोजतलास गर्दा मोबाइल ७ सय ४७ थान, ल्यापटप ३३१ थान, सीपीयू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान बरामदको थियो ।

पक्राउ परेका चिनियाँ नागरिकबाट बरामद ती सबै उपकरण चिनियाँ सुरक्षा अधिकारीले लगेपछि नेपाल प्रहरीले चिनियाँहरुको ठगी धन्दाको मेसो नै पाएन ।

चीनको पब्लिक सेक्युरिटी मन्त्रालयले ति सबै उपकरण फिर्ता गर्न लिखित आग्रह गरेपछि नेपाल प्रहरीले बरामद उपकरण चिनियाँ सुरक्षा अधिकारीलाई बुझाएको थियो । ति अनलाईन ठगीमा संलग्न चिनियाँलाई लिन त्यसबेला चाइना साउर्दन र चाइना इस्टनका दुई विमानमा हतियार सहित झन्डै २ सय ३० जना चिनियाँ सुरक्षाकर्मी काठमाडौं आएका थिए ।

प्रहरीका अनुसार यसबेला चीनले भियतनाम, कम्बोडिया, फिलिपिन्स र लाओसमा रहेका आफ्ना नागरिकविरुद्ध अप्रेसन चलाएपछि यी चिनियाँहरु नेपाल छिरेका थिए । त्यसैले चिनियाँ सुरक्षा अधिकारीहरु उनीहरुलाई लिन विशेष विमानसहित काठमाडौँ आएका थिए ।

वि.सं. २०७७ जेष्ठ १७ गते सोह्रखुट्टे प्रहरीले ठमेल ढल्कुमा नेपाली युवतीलाई जिस्क्याउने, फकाउने तथा दुव्र्यवहार गर्ने दुईजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो । उनीहरु पर्यटकका रुपमा ठमेल क्षेत्रमा लामो समयदेखि बस्दै आएका थिए ।

प्रहरीका अनुसार ती चिनियाँको, नेपाली युवतीलाई ललाइफकाइ बिहेको प्रस्ताव गर्ने र चीनमा लगेर घरेलु दास बनाउने धन्दा थियो ।

२०७७ साल पुस १९ गते काठमाडौँको गौशलास्थित एक होटलमा बसिरहेका चिनियाँ नागरिक लि विपिङ र लि झियाङजिङ अपहरणमा परे । उनीहरुलाई नेपालमा पर्यटकका रुपमा आएका चिनियाँ नागरिक वु चाव र झाङ वेले एउटा ट्याक्सीमा हालेर सिन्धुपाल्चोकको मार्मिङ्गामा पुर्‍याएका थिए ।

अपहरणकारी चिनियाँले काठमाडौँमा अवैध धन्दा गरिरहेका दुई जना चिनियाँलाई अपरहण गरेको दुवै जनालाई नेपाल प्रहरीले एक सातापछि घाइते अवस्थामा उद्धार गर्‍यो ।

२०७६ साल फागुन ३० गते काठमाडौँको ठमेलस्थित ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ टोलीको भीडले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गर्‍यो । ठमेलका व्यापारी र बटुवाले ती चिनियाँ विरुद्ध प्रतिकार गरेपछि प्रहरीले चिनियाँ भीडको नेतृत्व गरेका चिनियाँ व्यापारी वाङ्ग युन फेङ्गलाई पक्राउ गर्‍यो ।

यस्तै २०७६ भदौ ८ गते टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेका २ जना चिनियाँ नागरिक जहाजभित्रै चोरी गरेको आरोपमा पक्राउ परे ।

त्यसैगरी २०७६ साल भदौ १५ गते, नेपाल प्रहरीले अनाधिकृत रुपमा एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ले एक जनासहित दरबारमार्गमा रहेको माया मनोहर होटलमा बस्दै आएका अन्य ४ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो ।

उनीहरुको साथबाट प्रहरीले एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको थियो ।

डलरको तस्करी हुँदै मानव तस्करीसम्म

२०७४ असोज ४ गते रसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गर्‍यो । २०७३ माघ ७ गते रसुवाको टिमुरेबाट चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परे ।

२०७४ असोज १३ गते चिनियाँ महिला यान कुन दुवान ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा पक्राउ परिन् । २०७२ जेष्ठ ३२ गते चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परिन् ।

२०७३ माघ १ गते २ लाख ६० हजार अमेरिकन डलर, एक लख १८ हजार यूरो र केही अष्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन जना चिनियाँ नागढुंगामा पक्राउ परे । २०७२ भदौ १० गते काठमाडौ विमानस्थलमा ७४ हजार अमेरिकी डलर, ७६ हजार यूरो, ४८ हजार स्वीस फ्रेङकसहित चिनियाँ नागरिक यी वाङ पक्राउ परे ।

नेपाल प्रहरीको तथ्यांक हेर्दा चिनियाँहरुसुरुमा सुन तथा रक्तचन्दन तस्करी हुँदै अवैध डलरको कारोबारमा संलग्न भएको पाइएको छ । २०६७ असोज १८ गते पहिलो पटक चिनियाँ नागरिक कोविन लि ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेपछि प्रहरीले चिनियाँमाथि निगरानी बढाएको थियो ।

लगत्तै सोही महिना प्रहरीले तीन लाख अमेरिकन डलरसहित काठमाडौँको स्वयम्भुबाट तीन चिनियाँलाई पक्राउ गरेको थियो। त्यसपछि २०६८ को पुसमा भक्तपुरको जगातीमा ९७ हजार दुई सय २३ डलरसहित तातोपानी नाकातर्फ डलर तस्करी गर्ने अर्का चिनियाँ पक्राउ परे ।

२०७६ साल भदौ १३ गते नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले एउटा सूचना नै जारी गर्‍यो ।

जसमा लेखिएको थियो, दुलही किनबेच गरी मानव तस्करी । प्रहरीले नेपाली युवतीहरुलाई विवाहको बहाना बनाएर चीनमा तस्करी गर्ने गरेको सूचनाका आधारमा लामो समय गरेको अनुसन्धान अनुसार ४ जना पीडित नेपाली युवतीलाई काठमाडौँका विभिन्न स्थानमा सञ्चालित चिनियाँको म्यारिज ब्यूरोबाट उद्धार गरेको थियो ।

जसमा ६ जना चिनियाँ मानव तस्कर समेत पक्राउ परेका थिए । उनीहरुले चिनियाँ युवकसँग विवाह गराइदिने र सजिलै चीन जान पाइने प्रलोभन देखाएर नेपाली युवतीबाट जनही २० लाखसम्म ठगेको पाइएको थियो । म्यारिज ब्यूरोको कार्यालयमा चिनियाँ युवकले नेपाली युवती छान्ने र जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ताको कागज बनाएर नेपाली युवतीलाई चीन लैजाने गिरोह कोरोना महामारीका कारण निष्क्रिय छ ।

तस्करीको ट्रान्जिट बन्दै नेपाल
प्रहरीका अनुसार चिनियाँहरुले अहिले नेपाललाई वन्यजन्तु तस्करीको ट्रान्जिट नै बनाएका छन् ।

अफ्रिकाको कंगोबाट टर्की हुँदै नेपाल ल्याई पुर्‍याएका चिनियाँबाट एक सय ६२ केजी सालकको खपटा समेत प्रहरीले पक्रेको रेकर्ड छ ।

प्रहरीको विवरणमा, २०७४ माघ १५ गते चिनियाँ नागरिकहरू क्वी जिओरोङ र क्वी लिबा ओ काठमाडौ विमानस्थलमा सालकको खपटासहित पक्राउ परेको देखिन्छ । लगत्तै २०७५ भदौ ४ गते प्रहरीले समुद्री घोडा तथा बाघको छालासहित तीन जना चिनियाँलाई ठमेलमा पक्रेको थियो । जो त्यसबेला काठमाडौं वान होटलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ थिए ।

यार्सागुम्बा, सुनाखरी, बाघको हड्डी तथा विभिन्न जडीबुटी तस्करीमा चिनियाँ नै अगाडि छन् । यसबाहेक चिनियाँहरुले नेपालमा चिकित्सा क्षेत्रमा समेत अपराध सञ्जाल बिस्तार गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७४ फागुन १६ गते एकसाथ ठमेलको एपोलो इन्टरनेशनल क्लिनिक, बौद्धको चाइना ग्रेट वाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो । उनीहरु अनुमतिविना नै नेपालमा महङ्गो सेवा शुल्क असुलेर चिकित्सकीय कार्य गर्दै आएका थिए ।

प्रहरीका अनुसार अहिले पनि कतिपय चिनियाँहरू अनधिकृत रूपमा नेपालीलाई देखाएर यस्तै अस्पताल सञ्चालन धन्दामा संलग्न छन् ।

प्रहरीलाई समेत कुटे चिनियाँले

चिनियाँहरुको हर्कत गैरकानुनी धन्दामा मात्र सीमित रहेन । उनीहरुले कोरोनाका कारण सम्पूर्ण विश्व स्तब्ध भइरहेको समयमा २०७७ साल वैशाख २६ गते चिनियाँले प्रमुख प्रशासनिक निकाय सिंहदरवारको गेटअगाडिस्वदेश फिर्ता हुन पाउनुपर्ने मागसहित धर्ना दिए र केही प्रहरीलाई कुटे ।

विनाकुनै जानकारी चिनियाँहरुले संगठित रुपमा लकडाउनको निषेधित क्षेत्रमा भेला भएका ३३ जना चिनियाँ नागरिकले प्रहरीलाई ढुंगामुढा गर्दा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक महिला प्रहरी घाइते भएका थिए ।

लगत्तै २०७८ साल फागुन २६ गते, संखुवासभाको उत्तरी क्षेत्रमा संकास्पद गतिविधि गर्दै आएका छोङ जेनजियन नाम गरेका २८ वर्षीय चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो । उनी नेपाल र चीनको सीमावर्ती नाका किमाथाङ्काको निषेधित क्षेत्रबाट अबैध धन्दा चलाउँदै आएका थिए ।

कुनै आलोचना अथवा टिप्पणी नगरी माथिका विवरण मात्रै बढ्ने हो भने पनि नेपालमा चिनियाँ नागरिकले कुन तहको आपराधिक जालो फैलाइरहेका छन् भन्ने प्रष्ट हुन्छ । किनकि सुन, डलर, वन्यजन्तुका अङ्ग, जडीबुटी तस्करी, ह्याकिङ, मानव अपहरण, हत्या प्रयास, मानव बेचबिखन, लागूऔषध तस्करी, अनलाइन ठगी, जुवा तथा गेमसेन्टर र अवैध चिकित्सकीय अभ्यासजस्ता धन्दा सबैतिर चिनियाँ जालो फैलिएको छ ।

प्रहरीका अनुसार २०६० साल पहिलेसम्म नेपालको अपराध श्रृंखलामा चिनियाँहरुको उपस्थिति अत्यन्तै थोरै थियो । फ्री तिब्बत मुभमेन्ट बाहेकका गतिविधिलाई निगरानी गर्नुपर्ने अवस्था थिएन । तर अहिले चिनियाँहरु टोल टोलमा यस्तै अवैध गतिविधिको जालो फैलाएर बसेका छन् । प्रहरीलाई टाउको दुखाइको कारण बन्न थालेका छन् ।

प्रहरीले गम्भीर अपराधमा संलग्न बाहेक पक्राउ परेका सबैलाई चीन सरकारको जिम्मा लगाउने गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : १५ बजे

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर