तेह्रथुम– कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिमका यो पोखरी रहेको छ । धार्मिक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ ।
हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लोभलाग्दो छ । सिधुवा-शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार-प्रसार अभावमा ओझेलमा परेको छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयको १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएको छ ।
यस पोखरीमा भाकल गरे मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ । अहिले पोखरीमा पानी घट्दै गएको स्थानीय रिङ्मा शेर्पाले बताए । ‘पैले पैले पोखरीमा भाकल गरे चिताएको पुरा हुन्छ भनेर आउँथे । हामीहरू गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन् ।’ उनले भने ।
वारिपारि लोभलाग्दो हिमशृङ्खलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाईदैन । त्यसो त भौतिक पूर्वाधार निर्माण नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागी शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायतका संरचना पनि छन् ।
पोखरी संरक्षणका लागि प्रयास भए पनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भए पनि पदमार्ग छेग्ने झाडी हटाउन आवश्यक रहेको पर्यटक कुमार लिम्बूले बताए ।
पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरूले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैमा ओझेल पर्दै गएको छ ।
प्रतिक्रिया