‘एउटा बुवा सय वटा शिक्षकभन्दा बढी हुनुहुन्छ’ मैले यो लाइन कुनै पुस्तकमा पढेकी थिए । व्यहावरमा भोगेको र अध्ययन गरेको सिकाइको त्यो पुस्तकभन्दा कैयौँ गुणा ठूलो पुस्तक मेरा आफ्ना बा लाग्छन् । आज म तिनै सिकाइका सिंगो पुस्तक मेरा बुवालाई सम्झन चाहे ।
म बुवाकी प्यारी नै थिए क्यार । आमाले कुट्न झम्टिदा आमालाई नै झम्टिनु हुन्थ्यो । बुवा अफिसको कामले कतै टाढा जानुहुँदा मलाई ज्वरो आउथ्यो । आमाले ढोका छेवैमा राखेर साँझको समय पानी र तितेपातीले छम्किएर मेरो सातो बोलाई दिनुहन्थ्यो ।
सायद बाआमाको ममता र आस्था पनि होला । आमाको घरेलु उपचारले भोलिपल्टदेखि तगडा भएका सम्झन लायक किस्साका थुप्रै थाकहरु छन् । संखुवासभाको सदरमुकाम खाँदबारीको प्राकृतिक सुन्दरताको पृष्ठभूमीमा मेरो र भाईको जन्म भयो ।
त्यहीको माटो हावापानीको स्पर्षसँगै उमेरका खुड्कीलाहरुले विस्तारै भ¥याङ चढ्दै गयो । खाँदबारीसँग मेरो बुवाको ४० सालदेखिको सम्बन्ध छ । त्यसपछि जनकपुर चुरोट कारखानासँग नुनको साइनो छ । अर्थात मेरो बुवा जनकपुर चुरोट कारखानामा लामो समयसम्म काम गरेर अहिले कार्यालयको कामबाट विश्राम लिनु भएको छ ।
संखुवासभामा शाखा कार्यालय भएकाले बुवा र हामी दिदिभाईको खाँदबारीसँगको जन्म र कर्मसँगको नाता छ । संघर्षको मैदानमा एक्लै यात्रा गर्न निस्किएका मेरो बुवाको त्यो काँधमा सन्तान र कार्यालयको जिम्मेवारी छ । तर पनि त्यो बोझले बुवा कहिल्यै थाकेको देखिन ।
चाउरिएको गाला, चिम्सो आँखा भित्र बुवाका धेरै पिडाहरु लुकेका हुन्थे । तर, कहिल्यै हामीलाई व्यक्त गर्नु हुन्न थियो । मेरो बुवा असाध्यै साधारण जीवनशैली जिउन रुचाउने मान्छे । उनले कहिल्यै महँगो कपडा र जुत्ताले आफ्ना शरीर र खुट्टालाई ओत दिन रुचाएनन् ।
चरचर फुटेको पाइतालामा त्यो समय २० रुपैँयामा पाउने फित्ते चप्पल लगाएर कार्यालयको कामले कहिले भोजपुरको दिंग्ला त कहिले संखुवासभाको बाह्रविसे धाउँथे । काँधमा काम र कार्यालयको भारी, थाप्लोमा सन्तानको जिम्मेवारी । यो बोझले कहिल्यै नथाक्ने मेरो बुवालाई सन्तानको मायाले थकाएको महशुस हुन्थ्यो ।
मैले मेरा बुवालाई लुकीलुकी रोएको धेरै पटक देखेकी थिए । तर, आँशु पुछ्ने हिम्मत जुटाउन सक्दिन थिएँ । किनकी म रुँदै गरेको मन्छेलाई फकाउन जान्दिन । आँशुमा धेरै ओजन हुन्छ, एकथोपा आँशु खसाल्दा गहकिलो पिडाका भारीले विश्राम लिन्छ ।
यही सोँचले पनि होला सायद, त्यो समय मैले बाउको आँखाको आँशु पुछ्न सकिन । लुकेर रोएकाले पनि मैले बाउको आँशुलाई देखेर पनि नदेखेझैँ गर्न बाध्य बने होला ।
आफू अभावमा बाँचेर, हामी दुई सन्तानलाई सुखको अनुभुती गराउन जीवनमा आउने हरेक परिक्षा दिएका उनले कुनै कुनै परिक्षामा उत्तम अंक ल्याउन सफल बनेनन् होला । तर, कहिल्यै महुशस गराएनन् । भोक लुकाउन सक्ने उनको त्यो स्वभावलाई आज भोली स्मरण गर्छु ।
भोकले पेट छाम्दै देव्रे पट्टिको एक कान एक हातले थुनेर खाजा खान घरैमा आउदा मेरो बाउ के साह्रो लोभी जस्तो लाग्थ्यो । मैले त्यो समय नजानेर धेरै पटक भने पनि तपाईलाई थाहा छ बुवा ? के लोभ गर्नुहुन्छ ? खाजा त बाहिर खाँदा हुन्छ त । तर, मेरा भनाईलाई हाँसेर टार्नुहुन्थ्यो नि ।
कहिलेकाहीँ प्रतिउत्तरमा मुस्कनसहितपछी तिम्रो सन्तान भए पछि थाहा हुन्छ । हो रहेछ बुवा सन्तानको माया र भविष्यका लागि भोक, रहर धेरै कुराको त्याग गर्नुपर्ने रहेछ । बल्ल थाहा पाए मैले । जब मेरा दुई सन्तान भए । जस्तोसुकै समस्यामा पनि चिम्चो आँखाका डिलमा आँशुका दाना लुकाउदै, मन्द मुस्कान लिएर जीवनका आरोह, अवरोह पार गरेका उनी कहिल्यै कृत्रिम दुनियाँमा जिउन रुचाएनन् ।
टुकीको धिपधिपे प्रकाशमा चुडिएको चप्पल गाँसेर थप महिना दिन लगाएर हिँडडुल गर्थे मेरा बा । मेरो बाउको सबै स्वभाव प्रशंसनीय नहोलान् । तीमध्ये ‘चुडिएर, गाँसेको चप्पलले पनि गन्तव्यमा पु¥याउछ’ भन्ने भनाई र उनले जिउने गरेको साधारण जीवनशैलीको म अझैसम्म सम्झिन्छु ।
उनका ती भनाईहरु चुडिएका चप्पले गाँस्ने टुकीको मधुर धुँवा र धिपधिप बलेको बत्तीको प्रकाशझैँ मेरा मानसपटलमा सम्झनाका क्यानभास बनेको छ । उनको त्यही स्वभाव र भनाईले पनि होला मलाई कृतिम र देखावटी भन्दा पनि सत्यता र साधारण जीवनशैली जिउन रुचाउछु ।
मेरो बाउले हाम्रो लागि के ग¥यो ? कति सम्पत्ती जोडिदियो ? भन्ने प्रश्न तेस्र्याउन चाहन्न । तर बुवाले मेरो जीवनलाई सार्थकता बनाउन उनले के शिक्षा दिन सके भन्ने कुरालाई महत्वपूर्ण ठान्छु ।
उनकै ती भनाईले पनि होला आज संघर्षको मैदानमा एक्लो यात्री बनेर यात्रा गरिरहेकी छु । यो बनावटी, देखावटी दुनीयामा साधरण जीवन जिउन जानेकी छु । त्यसैले तिमि मेरो जीवनमा सिकाइको एउटा सिंगो पुस्तक हौ बाउ ।
प्रतिक्रिया