आज ११ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २७, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
युक्रेनमा आफ्नो सैन्य अभियानलाई नरोक्ने रुसी अडान
युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए । रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए ।
फेब्रुवरी हमलाअघि नेटोको युक्रेनी सदस्यता आफूलाई मान्य नहुने मस्कोले जनाएको थियो । ‘उत्तर एट्लान्टिक गठबन्धनमा आफ्नो सहभागिता त्याग्नु अत्यावश्यक छ, तर शान्ति स्थापना गर्न यो पहिले नै अपर्याप्त छ’, मेदभेदेवले भने।
रुसले आफ्नो लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्ने उनले बताए । पुटिनले आफू युक्रेनलाई ‘डिनाजिफाइड’ गर्न चाहेको बताएका छन् । किभ र पश्चिमाहरूले यसलाई युद्धको लागि आधारहीन बहाना भनेका छन् ।
युक्रेनमाथि रुसी हमला गर्नुअघि मस्कोले किभलार्य नेटोको सदस्यता लिने पक्रिया रोक्न चेतावनी दिएको थियो ।
दक्षिण कोरियाद्वारा पुनः विश्वकै सबैभन्दा कम प्रजनन दर रेकर्ड
दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटकप्रति महिला एक बच्चा भन्दा कम थियो ।
तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलव ८४ बाट शून्य दशमलव ८१ मा झरेको देखाएको छ र यो लगातार छैटौँ पटक जन्मदरमा गिरावट हो ।
आर्थिक सहयोग र विकास संगठन ओईसीडीले विगत छ दशकहरूमा प्रजनन दर स्पष्ट रूपमा घटेको जनाएको छ ।
तर यो प्रवृत्ति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ, जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटेको छ । सन् १९७० को सुरुमा महिलाका औसत चार बच्चाहरु थिए ।
घट्दो जनसंख्याले देशलाई ठूलो तनावमा पार्न सक्छ । स्वास्थ्य सेवा प्रणाली र निवृत्तिभरणको माग बढ्दै जाँदा सार्वजनिक खर्चमा बढ्दो दबाबको अलावा, घट्दो युवा जनसंख्याले पनि अर्थतन्त्रलाई असर गर्ने श्रमिक अभाव निम्त्याउँछ ।
अत्याधिक गर्मीबारे अनुसन्धानकर्ताको चेतावनी
मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् ।
सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबनधीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ, अध्ययन रिपोर्टमा भनिएको छ ।
यदि उत्सर्जन नियन्त्रण गरिएन भने, यी क्षेत्रहरूमा ठूलो सङ्ख्यामा मानिसहरूले अत्यधिक गर्मीको सम्भावित ‘भयानक’ अवधिको सामना गर्न सक्छन् ।
हार्वर्ड युनिभर्सिटीका प्रमुख लेखक लुकास भार्गास जेपेटेलोले भन्नुभयो, “यदि हामीले एकसाथ काम गर्न सकेनौँ भने अर्बौं मानिस वास्तवमै यी अत्यन्तै खतरनाक तापक्रमको चपेटामा पर्नेछन् जुन हामीले आधारभूत रूपमा देखेका छैनौँ ।
जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुने गरेको र यसले मानव स्वास्थ्य, वन्यजन्तु र बालीनालीको उत्पादनलाई खतरामा पारिरहेको छ ।
अधिकांश जलवायु अनुमानहरूले विभिन्न नीति परिदृश्यहरूअन्तर्गत तापमान वृद्धिको भविष्यवाणी गर्दछ, तर ती मार्गहरूमध्ये कुन बढी सम्भावना छ भनेर बताउँदैन ।
‘कम्युनिकेशन अर्थ एन्ड इन्भाइरोमेन्ट जर्नल’मा प्रकाशित यस अध्ययनमा अनुसन्धानकर्ताहरूले खतरनाक गर्मी र आर्द्रताको सम्भावित जोखिमको अनुमान गरेका छन् ।
उनीहरूले मानव गतिविधिबाट कार्बन डाइअक्साइड उत्सर्जनको स्तर र विश्वव्यापी तापक्रम वृद्धिको परिणामीस्तरको भविष्यवाणी गर्न साङ्ख्यिकीय अनुमानहरू प्रयोग गरका छन् ।
अध्ययनअनुसार उष्णकटिबन्धीय क्षेत्रका धेरै मानिसहरूले शताब्दीको अन्तसम्म आधा वर्षका लागि खतरनाक गर्मीको स्तरको सामना गर्न सक्दछन्, यद्यपि विश्वले पेरिस जलवायु सम्झौताको लक्ष्यमा तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कमको पूर्व औद्योगिक स्तरभन्दा माथि बढाउँदछ ।
उष्ण कटिबन्धीय क्षेत्रबाहिर घातक गर्मीको प्रकोप वार्षिक रूपमा हुने उनीहरूले बताएका छन् ।
अनुसन्धानकर्ताहरूले ३९ दशमलब ४ डिग्री सेल्सियस तापक्रमलाई ‘खतरा’ भनेका छन् भने ५१ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई ‘अत्यन्तै खतरनाक’ र मानिसका लागि पूर्ण रूपमा असुरक्षित मानिएको बताएका छन् ।
जेपेटेलोले भने, ‘यो चरम गर्मीलाई मूलरूपमा पानीजहाजको बोइलर कोठा जस्तै तातोमा कोठाभित्र काम गर्ने मानिसहरूका लागि विकसित गरिएको थियो । यो बाहिरी कामका लागि विरलै अवलोकन गरिएको थियो ।’
अनुसन्धानकर्ताले जबसम्म उत्सर्जनमा गम्भीर कटौती हुँदैन, उप–सहारा अफ्रिका र भारत विशेष गरी जोखिममा रहेको जनाएका छन् शताब्दीको अन्त्यसम्ममा यो अवस्था आउने ठोकुवा गर्दै उष्णकटिबन्धीय क्षेत्रका केही भागहरूमा मानिसहरूले प्रत्येक वर्ष गर्मीको यो स्तरको अनुभव गर्ने बताएका छन् ।
भारत र ब्राजिलद्वारा सुरक्षा परिषद् सुधारमा जोड
भारत र ब्राजिलले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा समसामयिक चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को व्यापक सुधारको आवश्यकतालाई औंल्याएका छन् । भारतको विदेश मन्त्रालयले दिएको जनाकारी अनुसार यस किसिमको विचार आठौं ब्राजिल–भारत संयुक्त आयोग बैठक (जेसीएम) पछि जारी गरिएको हो ।
अगस्ट २४ मा ब्राजिलको राजधानी ब्रासिलियामा भएको संयुक्त आयोगका सहअध्यक्ष भारतीय विदेशमन्त्री एस जयशंकर ब्राजिलका समकक्षी कार्लोस अल्बर्टो फ्रान्को फ्रान्काले गरेका थिए । शनिबार जारी गरिएको मन्त्रालयको विज्ञप्ति अनुसार सन् २००६ मा स्थापित रणनीतिक साझेदारी थुप्रै क्षेत्रहरू समेट्न त्यसपछिका दिनहरूमा द्वीपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।
सो साझेदारीका विषयहरू साझा लोकतान्त्रिक मूल्यमान्यता, समान विश्वव्यापी दृष्टिकोण, र सामाजिक समावेशीकरण र दिगो विकासका साथ आर्थिक वृद्धिलाई बढावा दिने लगायतका प्रतिबद्धतामा आधारित छन् । विदेश मन्त्रालयले दुई देशले संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय संगठनहरू र जी२०, ब्रिक्स, आइबिएसए, जी४ लगायात बहुपक्षीय फोरमहरूमा पनि व्यापक रूपमा सहयोग गर्ने बताएको छ।
ब्राजिलमा भएको वार्ताका क्रममा दुई विदेशमन्त्रीले द्विपक्षीय सम्बन्धका सर्वाङ्गीण पाटोका बारेमा छलफल गरेका थिए । उनीहरूले व्यापार तथा आर्थिक सम्बन्धको समीक्षा गर्नुका साथै कोभिड–१९ को महामारीबाट उत्पन्न चुनौतीका बाबजुद द्विपक्षीय व्यापारमा निरन्तर वृद्धि भएकोमा सन्तुष्टि समेत व्यक्त गरेका थिए ।
दुई मुलुकबीच कुल द्विपक्षीय व्यापार गत वर्षको तुलनामा सन् २०२१ मा ६३ दशमलब ५ प्रतिशतले बढेर ११ दशमलब ५३ बिलियन अमेरिकी डलर पुगेको छ । भारत ब्राजिलको पाँचौ ठूलो व्यापार साझेदार बनेको छ । उनीहरूले द्विपक्षीय व्यापारको वृद्धि र विविधीकरणको थुप्रै सम्भावनालाई औंल्याउँदै निजी क्षेत्रलाई अवसरहरू खोज्न आग्रह गरेका छन् ।
दुवै विदेश मन्त्रीले सन् २०२२ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दुवै देश निर्वाचित सदस्य बनेको बेलामा दुई देशबीचको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका थिए ।
उनीहरूले संयुक्त राष्ट्रसंग सुरक्षा परिषद्को व्यापक सुधारको तत्काल आवश्यकतालाई पुन पुष्टि गर्दै विशेष गरी स्थायी र गैर(स्थायी दुवै क्षेत्रमा यसको विस्तार गर्ने, यसलाई थप प्रतिनिधि, प्रभावकारी र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको समसामयिक चुनौतीहरूको लागि उत्तरदायी बनाउन आग्रह गरिएको जनाइएको छ ।
दुवै मन्त्रीहरूले जी२० को महत्त्वलाई प्रकाश पार्दै भारत सन् २०२३ र ब्राजिल २०२४ को आगामी अध्यक्षताको समयमा नजिकबाट सहयोग गर्न सहमत भएका छन् ।
मन्त्रीहरू फ्रान्का र जयशंकरले विकासशील विश्वको हित र दक्षिण सहयोगको पक्षमा भारत, ब्राजिल र दक्षिण अफ्रिका, तीन महादेशका तीन ठूला लोकतान्त्रिक, बहुलवादी र विविध समाजहरू जम्मा गर्ने आइबिएसएलाई थप प्रोत्साहन दिन सहमत भएका छन् ।
दुवै मन्त्रीले ब्रिक्स अन्तर्गतको सहयोगलाई पनि स्वागत गरेका छन् । सङ्गठनले स्थापना कालदेखि रचनात्मक काम गरेको पनि उनीहरूको बुझाइ छ ।
अमेरिकाद्वारा श्रीलंकालाई सहयोग प्रदान
अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (युएसडीए) मार्फत् एवम् सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ ।
“अमेरिकी जनताबाट प्राप्त यो दानले सबैभन्दा आर्थिकरूपमा कमजोर श्रीलङ्काका बालबालिकालाई लक्षित गर्दछ र उनीहरूलाई खाद्यान्न अभावको चिन्ताबाट मुक्त गरी विद्यालयको पढाईमा ध्यान केन्द्रित गर्न सक्षम बनाउनेछ । श्रीलङ्कास्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सबै श्रीलङ्कालीलाई देशको स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट अघि बढ्न सहयोग गर्ने अमेरिकी प्रतिबद्धताको प्रमाण सहयोग गरिएका पौष्टिक खाद्यान्न हुनेछ ।’’
श्रीलङ्काका शिक्षामन्त्री सुसिल प्रेमजयन्था, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना विभाग र सेभ द चिल्ड्रेनका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
यो सहयोग युएसडीए म्याकगभर्न–डोल इन्टरनेसनल फुड फर एजुकेसन एण्ड चाइल्ड न्युट्रिसन प्रोग्रामको एक हिस्सा रहेको जनाइएको छ । भोकमरी कम गरेर साक्षरता र विद्यालय उपस्थिति सुधार गर्न खाद्य असुरक्षितलाई तत्काल आपतकालीन सहायता प्रदान गर्ने उद्देश्यले पाँच वर्षको दुई करोड ६० लाख अमेरिकी डलरको परियोजना रहेको बताइएको छ ।
‘‘युएसडीए र यसको साझेदार सेभ द चिल्ड्रेनले श्रीलङ्का सरकार र स्थानीय समुदायसँग मिलेर सबैभन्दा बढी खाँचोमा परेकाहरूलाई खाना पु¥याउन काम गरिरहेका छन् ।’’ विज्ञप्तिमा भनिएको छ, “यो सहयोगले विश्वव्यापी रूपमा खाद्य सुरक्षा अभियानलाई विस्तार गर्न र जीवन बचाउन र दुःख कम गर्न तत्काल आपतकालीन सहायताको रेकर्ड मात्रा प्रदान गर्न अमेरिकीे प्रयासलाई प्रतिबिम्बित गर्दछ ।’’
यसका अतिरिक्त अमेरिकाले यस वर्ष श्रीलङ्कालाई १७ करोड ९० लाख अमेरिकी डलरभन्दा बढी को नयाँ सहायता को घोषणा गरेको छ । जुन महिनायता मात्र करिब तीन करोड २० लाख अमेरिकी डलर नयाँ मानवीय र प्राविधिक सहायता श्रीलङ्का आएको छ ।
यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आसियान क्षेत्रीय मञ्चको सम्मेलनका क्रममा श्रीलङ्काका विदेशमन्त्री अली साबरीलाई नोमपेनसँग भेटवार्ता गरेका थिए ।
श्रीलङ्कामा खाद्यान्न र इन्धनको अभावका कारण ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित हुँदा देशले गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेको छ । कोभिड–१९ को महामारी सुरु भएदेखि नै यहाँको अर्थतन्त्र प्रभावित रहेको छ ।
अडियाे सुन्नुहाेस:
प्रतिक्रिया