भाइटीका आज, उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा « Khabarhub

भाइटीका आज, उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ : ४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला

दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

खञ्जनेश्वर महादेवमा भक्तजन

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिए ।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उनले भने ।

विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि विसं २०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ६ : ५६ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर