स्थानीयको पहलमा नदीको बगर बन्यो हराभरा | Khabarhub Khabarhub

स्थानीयको पहलमा नदीको बगर बन्यो हराभरा


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित वनहरा नदीको बगर हराभरा भएको छ । उजाड बगरलाई हराभरा बनाइ स्थानीयले सामुदायिक वनका रुपमा परिणत गरेका छन् । डेढ दशकअघिसम्म बगरलाई एक छेउबाट हेर्दा परसम्म नियाल्न सकिन्थ्यो । हाल बगरमा बोटबिरुवा बाक्लिदै र हुर्कंदै गएका छन् । एकै पटकको प्रयासले उजाड बगर हराभरा भने भएको होइन । स्थानीयको संरक्षणको प्रयासस्वरुप बगर अहिले सामुदायिक वन बनेको छ ।

‘नदीको बगरमा पहिले गाईगोरु चराइन्थ्यो’, स्थानीय टेकबहादुर साउदले भने, ‘बगरमा बोटबिरुवा छँदै थिएनन्, बालुवा र केही ठाउँमा भुइँ घाँस मात्रै हुन्थ्यो, घाँस गाईगोरुले चर्दा हुर्कन पाउदैन्थ्यो ।’ गाईगोरु चराएर मात्रै हुँदैथ्यो, घाँस दाउरा ल्याउन टाढाको वन क्षेत्रमा महिलालाई पुग्नुपर्ने बाध्यता थियो । त्यसै कुरालाई मध्यनजर गरी गाउँमा बगर संरक्षण गर्नेबारे गहन रुपमा छलफल भएको थियो ।

‘वन कार्यालयका कर्मचारीसँग छलफल गरेपछि बगरलाई संरक्षण गर्ने निधो गर्‍यौँ’, राधा चौधरीले भने, ‘बगर संरक्षण गर्नु निकै ठूलो चुनौती थियो, गौचरका रुपमा रहेको क्षेत्रलाई संरक्षण गर्ने कुराको विरोध भए पनि बेवास्ता गर्दै हामी संरक्षणमा जुट्यौँ, अहिले उजाड बगरलाई सामुदायिक वनका रुपमा परिणत भएको छ ।’

उनका अनुसार महिलाहरू दिनरात बगर संरक्षणमा जुटेका थिए । त्यसमा पुरुषले पनि साथ दिए । बगरमा बिरुवा हुर्कंदै गएर रुखका रुपमा परिणत हुन थालेपछि विसं २०६६ सालमा तत्कालीन जिल्ला वन कार्यालयमा प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहका रुपमा दर्ता गरी संरक्षण गरिएको थियो । हाल नदीको बगरमा सिसौ, खयर, साल, विजयसलका विरुवा छन् । 

सामुदायिक वनबाट महिलाले दाउरा र घाँस सहज रुपमा पाउन थालेका छन् । सुकेका पानीका मुहानमा फेरि पानी आउन थालेको छ । नदीले कटान गर्दै आएको जग्गा जोगिएको छ । वनमा चराचुरुङगीसँगै जंगली जनावर चितल, चितुवा, बँदेल, दुम्सी खरायो, मयुर लगायतको चहलपहल बढेको छ । 

पशुपालन गरेका महिलाका लागि हप्तामा एक दिन प्रतिव्यक्ति रु ५० लिएर घाँसका लागि सामुदायिक वन खुल्ला गरिँदै आएको छ । भूई घाँस भने सामुदायिक वन निःशुल्क रुपमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । 

संरक्षण गरेको सामुदायिक वनबाटै उपभोक्ताले, काठ, दाउरा  पाउन थालेका छन् । ‘काठ खरिद गर्नका लागि टाढाको सामुदायिक वनमा भरपर्नु पर्दथ्यो’, सामुदायिक वनका उपभोक्ता टेकबहादुर साउदले भने, ‘हाल सिसौ, खयर र सालको काठ सामुदायिक वनबाटै सुपथ मूल्यमा उपलब्ध हुन थालेको छ ।’ सामुदायिक वन क्षेत्रमै पाइने पटेरो नामक घाँसबाट स्थानीय बासिन्दाले चटाई, ढकियालगायत बुनेर प्रयोगमा ल्याउने गरेका छन् ।

वन क्षेत्रमा प्रशस्त रुपमा पाइने असारेको पात संकलन गरी तेल उत्पादन गरी उपभोक्ताले आम्दानी लिँदै आएका छन् । ‘दुई वर्ष सामुदायिक वन क्षेत्रमा रहेको असारेको पात प्रशोधन गरी तेल निकालेर बिक्री गर्‍यौँ’, स्थानीय उपभोक्ता सङ्गीता जागरीले भने, ‘अहिले बजार नपाउँदा उत्पादन गरिएको तेल बेच्न पाएका छैनौँ ।’ असारेसँगै स्थानीय बासिन्दाले सामुदायिक वनकै सहयोगमा मेन्था, क्यामामाईल लगायतको जडीबुटी खेती गर्दै आएका थिए ।

 मेन्था र क्यामामाइलको तेलले बजार नपाउँदा लगाउन छाडिएको छ । जडीबुटी प्रशोधनका लागि दातृ निकाय र सामुदायिक वनको दश लाख बढीको लगानीमा जडान गरिएका दुई वटा प्लान्ट हाल प्रयोगविहीन अवस्थामा छन् । वनमाथि दाउराको निर्भरता कम गर्नका लागि उपभोक्तालाई गोबर ग्यास प्लान्ट निर्माणका लागि अनुदान दिने कार्य हुँदै आएको सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउदले बताए । 

‘शौचालयसहितको गोबर ग्यास प्लान्ट निर्माणका लागि ८० बढी उपभोक्तालाई पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराई सकिएको छ’, उनले भने, ‘गोबर ग्यासको अनुदान नपाएका ५४ उपभोक्तालाई एलपिजी ग्यास सहितको चुलो वितरण गरिएको छ ।’

सामुदायिक वनका उपभोक्तालाई आत्मनिर्भर बनाउने उद्देश्यले घुम्ती कोष खडा गरी परिचालन गरिएको छ । कोषमा हाल तीन लाख बढी रकम जम्मा भइसकेको छ । कोषबाट एक प्रतिशत ब्याजमा उपभोक्तालाई ऋण उपलब्ध गराउने गरिन्छ । कोषको रकम परिचालन गरी ५० बढी परिवारले बाख्रा, बङ्गुर र कुखुरापालन गरी आम्दानी लिँदै आएका छन् ।

‘जडीबुटी खेतीले उभोक्ताको जीवनस्तर उकास्न निकै मद्दत पुर्‍याएको थियो, रोजगारीका लागि भारत जाने युवाले गाउँघरमै काम पाएका थिए’, अध्यक्ष साउदले भने, ‘जडीबुटीबाट उत्पादित तेलले बजार नपाउँदा युवा बेरोजगार भएपछि पुनः भारत जान थालेका छन् ।’ सामुदायिक वनले काठ, दाउरा, घाँस बिक्रीसँगै दण्डजरिवानाबाट संकलन हुने रकम उपभोक्ताको जीवनस्तर उकास्ने कार्यसँगै, वन क्षेत्रमा वृक्षरोपण, विद्यालय सञ्चालन र गाउँ क्षेत्रको सडक स्तरोन्नतिका लागि खर्च गर्दै आएको छ ।

‘गौचरका रुपमै पहिला जस्तै बगर रहेको भए स्थानीय उपभोक्ताले वनपैदावारका लागि अरुकै भर पर्नुपर्ने अवस्था हुन्थ्यो’, स्थानीय उपभोक्ता प्रिति आउजीले भने, ‘सामुदायिक वन भएर पो घाँस दाउराका लागि अरुको मुख ताक्नु परेको छैन ।’ वन क्षेत्रमा हाल पनि सुकुम्वासी र आरक्ष पीडितका नाममा अतिक्रमण गर्ने प्रयास नभएका होइनन् । उपभोक्ताको एकजुटताले वनलाई जोगाउन मद्दत पुर्‍याएको छ ।

‘वर्षौँको मेहनतले वन क्षेत्र जोगाएर यहाँसम्म पुर्‍यायौँ’, भरतबहादुर साउदले भने, ‘ज्यानको बाजी लगाएर पनि वन क्षेत्रलाई अतिक्रमण हुन दिदैनौँ, अझै संरक्षण गरी वनलाई नमुना बनाउनका लागि लाग्छौँ ।’

–राजेन्द्रप्रसाद पनेरु रासस

 


प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ५२ बजे

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले

नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

मुग्लिन– सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा

रास्वपामा कसरी एक्लिए मुकुल ढकाल ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा

हिलाम्मे खेतजस्तै सडकको अवस्था, स्थानीयलाई सास्ती 

बलेवा– राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा : मेसीले गरे पेनाल्टी मिस

काठमाडौं- पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका