अडियो सुन्नुहोस्ः
बन्दुकधारीको आक्रमणबाट इजरायलमा दुई प्रहरीको मृत्यु
इजरायलमा बन्दुकधारीको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको छ । उत्तरी इजरायलको हादेरा शहरमा दुई बन्दुकधारीले आक्रमण गर्दा दुई प्रहरीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणमा अरु ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई अस्पताल भर्ना गरिएको र दुई जनाको घटनास्थलमै उपचार गरिएको जनाइएको छ । इजरायली सुरक्षा बलको प्रतिआतंकवाद एकाईका सैनिकको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको इजरायली सुरक्षा अधिकारीले जनाएका छन् ।
‘हाम्रा सुरक्षा अधिकारीले बन्दुकधारीलाई निष्क्रिय बनाएर अझ ठूलो आतंककारी आक्रमण हुनबाट जोगाए ।’ इजरायलको राष्ट्रिय प्रहरीका प्रवक्ता एली लेभीले बताए ।
अरब मूलका बन्दुकधारी मध्ये एकले यसअघि इस्लामिक स्टेटमा भर्ना हुने प्रयास गरेको अधिकारीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।
आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । आतंकवादी गतिविधिको निगरानी गर्ने साइट समूहले जनाएअनुसार सन् २०१७ यता पहिलो पटक इस्लामिक स्टेटले इजरायलमा आक्रमणको जिम्मा लिएको हो ।
इजरायलमा अरब मुलुकहरू, अमेरिका र इजरायलबीच ऐतिहासिक सम्मेलन भइरहेको समयमा आतंककारी आक्रमण भएको हो । केही दिनअघिमात्रै दक्षिणी इजरायलको बिरशेबा शहरमा भएको चक्कु आक्रमणमा चार जना मारिएका थिए ।
रुसमा शासन परिवर्तन गर्नु नेटोको उद्देश्य छैन – जर्मनी
युक्रेनमा मस्कोको आक्रमणका बाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उद्देश्य नरहेको जर्मनीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको यो भनाइ आएको हो ।
‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उद्देश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने ।
सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ उनले थपे ।
लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए । युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए ।
साङ्घाईमा लकडाउन
शून्य कोभिड नीतिलाई निरन्तरता दिँदै चीनको वित्तीय केन्द्र साङ्घाईमा लकडाउनको घोषणा गरिएको छ । २ करोड ६० लाख जनसङ्ख्याको बसोबास रहेको साङ्घाईमा व्यापक कोरोना परीक्षण गर्न भन्दै लकडाउनको घोषणा गरिएको हो ।
मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन गरिएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबारमात्रै साङ्घाई शहरमा ३५०० जना कोरोना संक्रमित थपिएका थिए ।
साङ्घाईमा दुई चरणमा लकडाउन लागू गरिने बताइएको छ । पहिलो चरणमा साङ्घाईको पुदोङ वित्तीय जिल्ला र आसपासका क्षेत्रमा सोमबारदेखि शुक्रबारसम्मका लागि लकडाउन घोषणा गरिएको हो ।
समाचार संस्था एपीले जनाएअनुसार दोश्रो चरणमा शुक्रबारदेखि ५ दिन सम्मका लागि हाङ्गपु नदीको पश्चिमी क्षेत्रमा रहेको डाउनटाउन क्षेत्रमा लकडाउन गरिने छ ।
स्थानीय सरकारका अनुसार बासिन्दाहरूलाई घरमै रहन भनिएको छ भने अत्यावश्यक बाहेकका कार्यालय र व्यवसाय बन्द गर्न निर्देशन दिइएको छ । साथै सार्वजनिक यातायात पनि बन्द गरिने जनाइएको छ ।
यसअघिका केही सातामा पनि साङ्घाईको केही क्षेत्रहरूमा लकडाउन गरिएको थियो ।
सोमबार लकडाउन हुने थाहा पाएर स्थानीयहरुले हतारमा घरायशी सामान किनेकाले त्यहाँका किनमेल केन्द्र र पसल रित्तो भएको एपीले जनाएको छ ।
पछिल्लो पटक घोषणा गरिएको लकडाउन चीनले पछिल्ला दुई वर्षमा लागू गरेको सबैभन्दा कठोर रहेको जनाइएको छ ।
हजारौं सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभाग लगेको युक्रेनी आरोप
युद्धबाट ध्वस्त जस्तै बनेको मारिओपोलका हजारौँ सर्वसाधारणलाई रुसले जबरजस्ती आफ्नो भूभाग लगेको युक्रेनले आरोप लगाएको छ ।
युक्रेनी बन्दरगाह सहर मारिओपलमा पछिल्लो दुई सातादेखि रुसी हमला जारी छ ।
मारिओपोलको पूर्वमा रहेको बेजिमेन्नेमा रहेको अस्थायी शिविरमा अनुमानित ५ हजार जनाको बसोबास गराएको स्याटलाइट तस्बिरहरूमा देखिएको छ ।
युक्रेनका उपप्रधानमन्त्री इरयाना भेरेसचुकले किभसँग संयोजन नगरी ४० हजार मानिसलाई युक्रेनबाट रुसी भूभागतर्फ लगिएको बताएकी छिन् ।
रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोलबाट १ लाख ४० हजार मानिस भाग्न सफल भए पनि १ लाख ७० हजार अझै फसेको सिटी काउन्सिलले जनाएको छ ।
तीन सातादेखि जारी रुसी गोलाबारीले सहरलाई भग्नावशेषमा परिणत गरेको छ । हमलाका कारण त्रसित स्थानीय बेसमेन्ट र बंकरमा लुकेका छन् । पिउने पानी, खाना र औषधिको चरम अभाव छ ।
मारिओपोलमा मृत्यु हुने सर्वसाधारणको वास्तविक संख्या अझै यकिन नभएको बताइन्छ ।
तुलनात्मक रूपमा मारिओपोलका थोरै नागरिकहरू दुवै पक्षले सहमति जनाएका मानवीय कोरिडोरबाट भागेका छन् ।
भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा
भारतका विदेशमन्त्री एस जयशंकर श्रीलंका पुगेका छन् । मंगलबारबाट शुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्सटेकको सम्मेलनमा भाग लिन विदेशमन्त्री जयशंकर श्रीलंकाको राजधानी कोलम्बो पुगेका हुन् ।
कोलम्बो पुगेलत्तै उनले त्यहाँका अर्थमन्त्री बसिल राजापाक्षेसँग भेटवार्ता गरेका छन् । जयशंकरले पनि सामाजिक सञ्जाल ट्विटर मार्फत् आफ्नो भेटवार्ताका बारेमा जानकारी दिएका हुन् ।
भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच अत्यन्त खराब आर्थिक संकटबाट जुझिरहेको श्रीलंकाको आर्थिक अवस्थामा कसरी सुधार ल्याउने भन्ने बारेमा छलफल भएको भारतको समाचार संस्था एएनआईले जनाएको छ ।
श्रीलंकालाई भारतले सहयोग गर्ने विषयमा पनि भेटवार्तामा कुरा भएको र भारतले सहयोगको बचन दिएको बताइएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत शुक्रबार श्रीलंकाको आर्थिक सङ्कट व्यवस्थापनका लागि सबैलाई अनुरोध गरेको थियो ।
रुसले युक्रेनलाई कोरियाजस्तै बनाउन खोजेको युक्रेनको आरोप
रुसले युक्रेनलाई विभाजन गरी कोरियाजस्तै बनाउन खोजेको युक्रेनी सैन्य गुप्तचर प्रमुखले बताएका छन् । युक्रेनी सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राजधानी किभ कब्जा गर्न असफल भएपछि रुस युक्रेनलाई विभाजन गर्ने प्रयासमा लागेको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी र पूर्वी भागलाई बाँकी युक्रेनबाट विभाजित गरी सीमांकनको प्रयास गर्ने उनको भनाइ छ ।
पूरै युक्रेनलाई कब्जामा लिन असफल भएका कारण पुटिनले यस्तो नीति अपनाउने उनले बताए ।
उनका अनुसार रुसले युक्रेनमा यस्तो नीति लिएको खण्डमा रुसद्वारा स्थापित ‘छद्म राज्य’ धेरै लामो समयसम्म टिक्न भने असम्भव हुनेछ । स्थानीय जनताले छापामार युद्ध लडेर यसरी जबरजस्ती गठन गरिएको राज्यको प्रतिरोध गर्ने उनको भनाइ छ ।
किमजोङ उनको दृढता
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आक्रमणका लागि अझ शक्तिशाली माध्यमको विकास गर्ने दृढता व्यक्त गरेका छन् । उत्तर कोरियाले चार वर्षको अवधिमा पहिलोपटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि सर्वोच्च नेता किमको यस्तो भनाइ आएको हो ।
उत्तर कोरियाका सरकार नियन्त्रित केसीएनए समाचार संस्थाले जनाएअनुसार वैज्ञानिकहरू सँगको कुराकानीका क्रममा उनले आफ्नो मुलुकमाथिको खतराको मुकाबिला गर्न आक्रमणको क्षमता बढाउने बताएका हुन् ।
‘जब कसैले बलियो आक्रामक क्षमता र कोहीबाट पनि रोक्न नसक्ने सैनिक शक्तिको विकास गर्छ, उसैले मात्र युद्ध रोक्न सक्छ, मुलुकको सुरक्षा गर्न सक्छ र साम्राज्यवादीको धम्कीलाई नियन्त्रण गर्न सक्छ ।’ किमलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ ।
उनले आफ्नो मुलुकले अझ शक्तिशाली आक्रमणको माध्यम विकास गर्ने र आणविक हतियारको विकासलाई जोडदार रुपमा अझ परिष्कृत गर्ने समेत बताएको केसीएनएले जनाएको छ ।
तटस्थ हैसियतबारे छलफल गर्न युक्रेन तयार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्ति सम्झौताको एउटा अंशको रूपमा तटस्थ हैसियत कायम गर्ने विषयमा छलफल गर्न तयार रहेको बताएका छन्।
तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्ने उनको भनाइ छ ।
स्वतन्त्र रुसी पत्रकारसँगको अन्तवार्तामा उनले सो भनाइ राखेका हुन्। अन्तवार्ताको समयमा उनले रुसी भाषामा सम्बोधन गरेका थिए।
युक्रेन र रुसबीचको अर्को चरणको वार्ता यसै साता टर्कीमा हुने भएको छ। यसअघि रुस र युक्रेनबीच विभिन्न चरणमा भएका वार्ता बिनानिस्कर्ष टुंगिएका थिए।
यसैबीच, युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख काइरयलो बुदनोभले रुसले ‘युक्रेनमा उत्तर र दक्षिण कोरिया’ सृजना गर्न लागेको आरोप लगाएका छन्।
भारतमा ४८ घण्टे बन्द आह्वान
भारतमा ४८ घण्टे बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले पनि समर्थन गरेको जनाइएको छ ।
बन्दकर्ताहरूले मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न देशव्यापी बन्द आह्वान गरेको दाबी गरेका छन् । बन्दमा सडक, यातायात, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सार्वजनिक क्षेत्रका बैंकहरुलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैंकिङ्ग युनियनहरू पनि हड्तालमा सहभागी भएको भारतबाट प्रकाशित हुने टाइम्स अफ इण्डियाको अनलाइनले जनाएको छ । भारतीय स्टेट बैंकलगायत धेरै बैंकहरूले सोमबार र मंगलबार बैंकिङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् ।
बैंकबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बीमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने जनाइएको छ । बन्दमा २० करोड मजदुरको ऐक्यबद्धता रहेको बन्दकर्ताको दाबी छ ।
ऊर्जा मन्त्रालयले सोमबार सबै राज्य सञ्चालित संस्थाहरू तथा अन्य निकायहरूलाई उच्च सतर्कतामा रहन र चौबीसै घण्टा विद्युत आपूर्ति र राष्ट्रिय ग्रिडको स्थिरता सुनिश्चित गर्न निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल, रक्षा, र रेलवे जस्ता अत्यावश्यक सेवाहरूमा संलग्नहरूलाई बिजुली आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको हो ।
पश्चिम बंगाल सरकारले बन्दका बावजुद सबै राज्य सरकारी कार्यालयहरू खुला रहने भन्दै सोमबार र मंगलबार कर्मचारीहरूलाई ड्युटीमा उपस्थित हुन अनिवार्य गरेको छ ।
पश्चिमा मुलुकले कायरता देखाएको जेलेन्स्कीको टिप्पणी
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूले कायरता देखाएको टिप्पणी गरेका छन् । भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले पश्चिमा मुलुकहरूले युक्रेनलाई हतियार दिने विषयमा ढुलमुले प्रवृत्ति अपनाएर कायरता देखाएको टिप्पणी गरेका हुन् ।
‘मैले मारिउपोलका रक्षकहरूसँग कुराकानी गरेको छु । म उनीहरूसँग नियमित सम्पर्कमा छु । उनीहरूको दृढता र बहादुरी अपत्यारिलो छ ।’ उनले भने ‘हामीलाई दर्जन जेट र ट्याङ्क दिन विचार गर्नेहरूमा उनीहरूको जति एक प्रतिशत पनि साहस हुन्थ्यो भने‘ ।’
हाल रुसी फौजले युक्रेनको दक्षिणी शहर मारिउपोललाई चौतर्फी घेराबन्दीमा पारेर व्यापक हमलाहरू गरिरहेको छ । यद्यपि उक्त शहरलाई अझै रुसी फौजले कब्जामा लिन सकेका छैनन् ।
राष्ट्रपति जेलेन्स्कीले बेलाबेला पश्चिमा मुलुकहरूसँग रुसी फौजविरुद्ध लड्न हतियार र अन्य सैनिक उपकरण सहयोग गर्न माग गर्दै आएका छन् । यस विषयमा युक्रेनको छिमेकी देश पोल्याण्डले युक्रेनलाई लडाकु विमान दिने प्रस्ताव पनि अघि सारेको थियो ।
उक्त प्रस्तावमा पोल्याण्डले जर्मनीमा रहेको अमेरिकी नेटो सैनिक विमानस्थलमार्फत् युक्रेनलाई आफूसँग रहेका लडाकु विमान उपलब्ध गराउने बताएको थियो । यद्यपि नेटो मुलुकहरूले यस विषयमा खासै रुची देखाएका छैनन् ।
प्रतिक्रिया