दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

काँग्रेसले चुनावी तालमेलको विषयमा भोलि औपचारिक निर्णय गर्ने
नेपाली कांग्रेसले आगामी स्थानीय तहमा चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा भोलि औपचारिक निर्णय गर्ने भएको छ । पार्टी कार्यालयमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रम सकिएसँगै चुनावी तालमेलका विषयमा कांग्रेसले औपचारिक निर्णय गर्न लागेको हो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भोलि दिउँसो तीन बजे केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकले आएका सुझावहरूको आधारमा गठबन्धनबारे प्रस्ताव पारित गर्ने जानकारी दिए । उनले बैठकमा बोल्ने अधिकांशले आवश्यक स्थानमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने सुझाव दिएको र कतिपयले गठबन्धन नगरिकन एक्लै निर्वाचनमा गएर पार्टीको मत परीक्षण गर्नुपर्छ भन्ने रहेको बताए । 

गठबन्धन गरे सबै सिट जित्छौँ: प्रधानमन्त्री देउवा
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको आजको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए । नेता शेखर कोइरालाले गठबन्धन गर्न नहुने भन्दै आफ्नो विचार राखेपछि देउवाले प्रतिक्रिया दिए । बैठकमा उनले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर नहुनेमा जोड दिए । 

वैदेशिक रोजगारीमा गएर फर्किएकाहरूले फेरि रोजगारीमा जान तालिम लिन नपर्ने 
श्रम मन्त्रालयले एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरूले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनु नपर्ने व्यवस्था गरेको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजागरीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्थालाई खुकुलो पारी विदेशमा रोजगारी गरेर आइसकेकालाई तालिम लिन नपर्ने व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै मन्त्रालयले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका श्रमिकका परिवार र अंगभंग भएकालाई दिइने क्षतिपूर्तिसम्बन्धी सेवा पनि वैदेशिक रोजगारको मुख्य अनलाइन प्रणालीमा आवद्ध गरेको छ । यसले पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने मन्त्री श्रेष्ठले बताए । 

एमालेले मात्रै मुलुकको विकासको काम गर्न सक्ने एमाले अध्यक्ष ओलीको दावी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्र मुलुकको विकासको काम गर्न सक्ने दावी गरेका छन् । आज कपिलवस्तुको तौलिहवामा संघीय सांसद वृजेश कुमार गुप्ता लगायतलाई एमाले प्रवेश गराउदै ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने समेत बताए । आगामी निर्वाचनमा एमालेले जिते मात्र शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास हुने उनको भनाई छ ।  त्यस्तै उनले आगामी निर्वाचनमा सवै दल मिलेर आएपनि एमालेलाई पराजित गर्न नसक्ने धारणा राखे । 

 रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको माओवादी अध्यक्ष दाहालको प्रतिक्रिया
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रोल्पाकै बलमा आफूले सिंहदरबारमा लडिरहेको प्रतिक्रिया दिएका छन् । आज रोल्पाको सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले पनि आफूहरूलाई घेरा हाल्न खोजेको तर आफू लडिरहेको  दाबी गरे । यस्तै दाहालले रोल्पा क्रान्तिका लागि मात्रै नभइ शान्तिपूर्ण रूपान्तरणका लागि अब्बल रहेको तर्क गरे । रोल्पा ‘लालकिल्ला’ रहिराख्ने भन्दै उनले रोल्पालीकै योगदानका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि दाबी गरे । त्यस्तै एक अर्को प्रसङ्गमा दाहालले कम्युनिष्ट एकता गरी केपी शर्मा ओलीलाई नायक बनाउन खोजेको भएपनि त्यसो हुन नसकेको बताए । 

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउँछन्ः एसका अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको आरोप लगाएका छन् । आज काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको आरोप लगाए । तत्कालीन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरूकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि उनीहरूबाट धोका पाएको नेपालले बताए । 

एमालेको पक्षमा जनलहर देखेर गठबन्धन आत्तिएको छः एमाले उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशभर एमालेको पक्षमा जनलहर देखेर पाँच दलीय गठबन्धन आत्तिएको बताएका छन् । नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीले आज भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले पाँच दलीय गठबन्धनलाई बालुवाको लड्डुको संज्ञा दिदैँ बालुवाको लड्डु नबने जस्तै पाँच दलीय गठबन्धन पनि नबन्ने बताए । पूर्व अर्थमन्त्री समेत रहनुभएको पौडेलले पाँच दलीय गठबन्धनलाई चुनाव आयो भन्यो कि सातो जाने गरेको बताउँदै पाँच दलीय गठबन्धन सरकार निर्वाचन कुनै पनि हालतमा सार्ने मनस्तिथिमा रहेको भएता पनि एमालेले जनस्तरबाट नै सशक्त दबाब र खबरदारी गरेकोले निर्वाचन रोक्ने चाहना पुरा हुन नसकेको जिकिर गरे । 

विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले अध्यक्ष मिश्रलाई स्पष्टीकरण सोध्ने 
विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । जेष्ठ सदस्य भीम अधिकारीको नेतृत्वमा आज बसेको बैठकले पार्टीको हित विपरित प्रयास गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।यस्तै अन्य पार्टीसँग एकलौटी रुपमा एकीकरणको प्रयास थाल्नु पार्टीको हित विपरित भएको र पार्टी सञ्चालन पनि अलोकतान्त्रिक भएको भन्दै मिश्रलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । आइतबार केन्द्रीय समिति बैठकमा मिश्रले प्रदेश संयोजकहरू तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय सुनाउनुभएको थियो ।

कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न 
ललितपुर महानगरपालिका वडा नं २२ मा कार्यविनायक र मछिन्द्रबहाल जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले निर्माण गरिएको झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् । १३५ मिटर लम्वाई रहेको पुलको ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो । पुल निर्माणसँगै कार्यविनायक र मछिन्द्रबहालमा पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणका लागि सहज हुने बताएको छ । कार्यक्रममा मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने पुल निर्माण भएसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइन् ।

पश्चिमा देशको दबाबमा धर्मनिरपेक्ष बनाएको कमल थापाको आरोप
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरूको दबाबका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको आरोप लगाएका छन् । आज वीरगन्जमा स्थानीय सञ्चारकर्मीसँग उनले ९४ प्रतिशतभन्दा बढी नेपाली हिन्दु राष्ट्रको पक्षमा रहेकाले राप्रपा नेपाल आगामी दिनमा बलियो राजनीतिक शक्तिका रुपमा देशमा स्थापित हुने तर्क गरे । 

ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको लेक लागेर मृत्यु
सुनसरीबाट ताप्लेजुङको पाथीभरामा पुगेका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । सुनसरीको  इटहरी उपमहानगरपालिका ९ का ६० वर्षीय खेमबहादुर ढुंगानाका मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी पाथीभरा मन्दिर पुगेर पूजापाठ लागि मन्दिर परिक्रम गर्ने क्रममा बेहोस भएका थिए । बेहोस भएपछि जिल्ला अस्पताल ताप्लेजुङमा पु¥याइएको केही समयमै अस्पताले उनलाई मृत घोषणा गरेको थियो । उनी श्रीमती, छोरा, छोरी र ज्वाइँसहित पाथीभरा मन्दिरमा पूजा गर्न पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते
ताप्लेजुङको पाथीभरामा मन्दिरमा पूजा गर्न जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा ११ जना तीर्थयात्री घाइते भएका छन् । को१ज २८४६ नम्बरको ट्याक्सी पाँचथरको फिदिममा दुर्घटना हुँदा तीर्थयात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्यो काठमाडौं 
विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्न पुगेको छ । स्विट्जरल्याण्डको वायु प्रदूषण मापन गर्दै आएको आईक्यू एअरले जनाएअनुसार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बनेको हो ।आइक्यू एअरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक १५४ छ । त्यस्तै वायु प्रदूषणको दोश्रो स्थानमा भारतको कोलकाता शहर छ । त्यहाँको वायु प्रदूषणको सूचकांक १५२ रहेको छ ।तेश्रो स्थानको बंगलादेशको राजधानी ढाकाको वायु प्रदूषण सूचकांक १५० रहेको आईक्यू एअरले जनाएको छ ।त्यसैगरी चौथो स्थानमा भारतकै मुम्बई, पाचौं स्थानमा इटालीको मिलानो शहर छन् ।भारतको राजधानी दिल्ली भने यो सूचीको सातौँ स्थानमा छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि 
पछिल्लो २४ घण्टामा नेपालमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ५२ पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार १ सय ५७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार २ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

एपोनले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने
नेपाल औषधि उत्पादक संघ (एपोन) ले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने स्पष्टीकरण दिएको छ ।संघले आज प्रेस विज्ञप्ति जारी गरी ६५० एमजीको सिटामोल उत्पादन गरे पनि नेपालमा ५०० एमजीको सिटामोल उत्पादन नरोकिने जनाएको हो ।५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शेयर बजार परिसूचक नेप्सेमा लगातार गिरावट 
शेयर बजार परिसुचक नेप्सेमा लगातार गिरावट आएको छ । नेप्से आज २९ दशमलव ९८ अकंले घटेर २ हजार ५ सय ४२ दशमलव २८ विन्दुमा पुगेको हो । आज कुल ४९ लाख ५८ हजार ९ सय १४ कित्ता शेयर २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रुपैँयामा कारोबार भएको छ । आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्य १० प्रतिशत बढेको छ ।आज कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त, अपि पावर, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन अगाडि रहेको छ ।

७ अर्ब लागतको प्रादेशिक अस्पताल भवनको टेण्डर रद्द
करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेण्डर रद्द भएको छ । १२ सय शैय्याको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको निर्णय अनुसार रद्द गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए ।

लेटाङ घटना: २० जना प्रहरी नियन्त्रणमा, १६ जनाविरुद्ध म्याद थप
बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रकरण एकजना महिला प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको घटनामा अहिलेसम्म प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । यही ६ चैतमा मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको धारिलो हतियार प्रहारगरी हत्या भएको थियो । प्रहरी उपरीक्षक जीसीले नियन्त्रणमा लिइएका १६ जनाको जिल्ला आदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । 

तीन वर्षीया बालिका करणी आरोपमा २५ वर्षीय युवक पक्राउ
पाल्पामा तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् । पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौँको कलंकीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ
काठमाडौँको कलंकीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखनउ भर भइ कलंकी बस्दै आएका १८ वर्षीय मोहमद गुफरान, भारत लखनउ नै  घर भइ कलंकी बस्ने १८ वर्षीय अह्यान अन्सारी र ललितपुर धोबीघाटका ३९ वर्षीय गणेश रजक  रहेका छन् । उनीहरूको साथबाट ४३ ग्राम ब्राउन सुगर, लागूऔषध जोख्न प्रयोग गरिने मेसिन, २ लाख ४५ हजार रुपैयाँ, ४ थान मोबाइल, मोटरसाइकल बरामद गरिएको कालिमाटी वृत्तले जनाएको छ । 

लागूऔषधसहित सिराहामा पनि एक जना पक्राउ
सिरहामा अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–५ बस्ने ३२ वर्षीय अरूणकुमार साह  रहेका छन् । उनको साथबाट नियन्त्रित लागूऔषध ६ सय ट्याब्लेट नाइट्राभेट र इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घरमा जाँच गर्दा  सो लागुऔषध, इन्जेक्सनलगायतका सामान फेला परेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ३६ बजे

व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने कदम गतल : बिन्दा पाण्डे

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारीको सहयोग

डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन चिकित्सकको आग्रह

कास्की-चिकित्सकहरुले डेंगु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै ‘मनिथान’ मन्दिर

गण्डकी– पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुई सय वर्ष

फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने

काठमाडौं– जुनिम गहतराजको डेब्यु निर्देशकीय फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन

विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को पाँचौँ परीक्षण सफल

काठमाडौं– विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौँ परीक्षण सफल भएको