काठमाडौँ – मानिसलाई बसोबास गर्न योग्य मुलुकका सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू के के होलान् ? सर्वसुलभ शिक्षा, प्रभावकारी एवं सर्वव्यापी स्वास्थ्य उपचार, रोजगारी, लामो औसत आयु, न्यून भ्रष्टाचार, लैंगिक समानता, न्यून हिंसात्मक अपराध इत्यादि ।
जो कसैले कुनै मुलुकमा चाहने पनि यही कुरा न हुन् । अझ त्यसमाथि आफू हिँड्ने सडक चिल्ला होउन्, कानुनहरू खुकुला र प्रगतिशील होउन् ।
उच्च व्यक्तिगत स्वतन्त्रता पाइयोस्, पर्यावरणीय हिसाबमा स्वच्छ हावापानी होस्, सरकारले हरेक नागरिकको भलो चिताओस्, कतै फोहोर नदेखियोस्, गरिबी नहोस् । समाजमा यति भए हरेक मानिसको सर्वाङ्गिण विकास हुने निश्चित हुन्छ ।
आन्ध्र महासागरको उत्तरतिर एउटा सानो टापु छ । साढे तीन लाखभन्दा केही बढी जनसङ्ख्या रहेको । नाम हो आइसल्याण्ड । कुनै पनि समाज शत प्रतिशत दोषरहित हुँदैनन् तर मानिसले सहजतापूर्वक जीवनयापनका लागि अपेक्षा गर्ने प्रायः सबै कुरा आइसल्याण्डको समाजमा उपलब्ध छन् ।
त्यसैले आइसल्याण्ड हरेक अन्तर्राष्ट्रिय संस्थाहरुले निकाल्ने सूचकांकको शीर्ष स्थानमा आउँछ ।
यो मुलुकको इतिहास धेरै पुरानो भने छैन । नवौं शताब्दीतिर यो मुलुकमा मानिसहरु (प्रायः नोर्स भाइकिङ्गहरु) बसोबास गर्न आएका थिए । सन् ९३० मा आइसल्याण्डमा तत्कालीन नर्वेजियन राजालाई सल्लाह दिनका लागि अल्थीङ नामक संसद् निर्माण गरियो ।
अल्थिङलाई हालसम्म कायम रहेको संसारकै सबैभन्दा पुरानो संसद मानिन्छ । आइसल्याण्ड सन् ९३० देखि दोश्रो विश्वयुद्धसम्म नर्वेजियन र डेनिस अधिराज्यको अधिनमा रहेको आइसल्याण्डले सन् १९४४ मा आएर मात्र स्वतन्त्रता प्राप्त गर्यो ।
सक्रिय ज्वालामुखी, लाभा मैदान, हिमनदी र पहाडी भू–भाग रहेको यो मुलुक क्षेत्रफल र जनसङ्ख्याका आधारमा निकै सानो भए पनि लोभलाग्दो छ । आइसल्याण्डलाई ‘ल्याण्ड अफ फोर्स्ट एण्ड फायर’ त्यसै भनिएको होइन ।
भौगोलिक बनोट र विविध सुन्दर प्राकृतिक छटाका कारण मात्र नभई आर्कटिक वृत्तभन्दा केही बाहिर अवस्थित यो मुलुकले आफ्ना नागरिकको जीवन स्तर, लोककल्याणकारी व्यवस्थामा आधारित प्रणाली एवं सामाजिक गतिशीलताका क्षेत्रमा विश्वका लागि प्रेरणा बनेको छ । त्यहाँको सामाजिक व्यवस्था लोककल्याणकारी नर्डिक मोडेलको एउटा उत्कृष्ट नमुना हो भन्दा फरक पर्दैन ।
आखिर के छ, जसले आइसल्याण्डलाई अरुभन्दा फरक बनाउँछ ? त्यस्तो एउटा मात्र कारण छैन, जसले आइसल्याण्डलाई अरु देशभन्दा फरक बनाउँछ । त्यहाँको राजनीतिक, सामाजिक एवं आर्थिक प्रणाली नै त्यहाँका नागरिकको कल्याणका लागि एकदम सुहाउँदो छ ।
नवउदारवादी नीतिका कारण पश्चिमा पुँजीवादमा आर्थिक असमानता र असमानुपातिक विकास भइरहेका बेला सामाजिक लोकतन्त्रवादी व्यवस्था रहेको यो मुलुकमा यस्तो असमानता देखिन्न । त्यहाँको सरकारले मुलुकको हरेक क्षेत्रमा नागरिकको अधिकार र कल्याणलाई ध्यानमा राख्दै आएको छ ।
आइसल्याण्डमा शिक्षा सर्वव्यापी एवं निःशुल्क छ । स्वास्थ्य सेवा पनि सार्वजनिक स्वामित्वमा छन् । त्यहाँ निजी अस्पताल र निजी स्वास्थ्य बिमा सेवा छैनन् । सबै सरकारले हेरेको छ ।
सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा पनि स्वास्थ्य सेवामै खर्च हुन्छ । त्यहाँको श्रम बजारमा पनि सार्वजनिक क्षेत्रको ठूलो हिस्सा छ । करिब ३० प्रतिशत रोजगारी यस्तै सार्वजनिक क्षेत्रमा रहेका छन् ।
त्यहाँ युनियनहरु उत्तिकै मजबुत छन् । मजदुर युनियनहरुले सरकारी मध्यस्थतामा रोजगारदाताहरुको युनियनसँग सामूहिक छलफल गरी औद्योगिक नियमहरु बनाउने, भएका नियमहरुलाई समयअनुकूल परिमार्जन गर्ने गर्छन् ।
यस्तो अवस्थामा मजदुर र रोजगारदाता दुवै पक्षको हित सुरक्षित रहन्छ । सरकारी मध्यस्थताका कारण यस्ता युनियनबीचका छलफलले राष्ट्रिय अर्थतन्त्रमा धेरैभन्दा धेरै सहयोग पुग्ने निश्चित हुन्छ ।
दुवै पक्षको हितलाई केन्द्रमा राखी गरिने यस्ता सम्झौताका कारण त्यहाँ कुनै किसिमका कठोर नियम र कानुन नै स्थापित छैनन् । यस्तो अवस्थामा मजदुरको अधिकतम अधिकार र रोजगारदाताको अधिकतम लाभ दुवै सुरक्षित रहन्छन् । मजदुर र मालिक वर्गबीच अरु मुलुकमा देखिने ‘वर्ग संघर्ष’ आइसल्याण्डमा देख्न पाइँदैन ।
आइसल्याण्डको समाज अत्यन्त उदार लुथेरियन इसाई धर्मबाट धेरै नै प्रभावित रहेका कारण यहाँको समाज पनि उत्तिकै उदार एवं शिक्षित छ । त्यहाँ लैंगिक असमानता संसारमै सबैभन्दा कम छ भने सामाजिक उदारतामा पनि आइसल्याण्ड सबैभन्दा अघि छ ।
यसको एउटा उदाहरणका रुपमा संसारकै सबैभन्दा पहिलो समलिङ्गी प्रधानमन्त्रीका रुपमा सन् २००९ देखि सन् २०१३ सम्म त्यहाँ योहान्ना सिगुरदोरदोत्तिरले जिम्मेवारी सम्हालेकी थिइन् ।
प्रतिक्रिया