विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन १२, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २८, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

भारतमा २० हजार भन्दा धेरै कोभिड सङ्क्रमित थपिए

बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ । देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ११ जनाको मृत्यु भएको छ ।

महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

श्रमिकहरुको अधिकार प्रत्याभूत गर्न कतारलाई बेलायती अधिकार समूहको आग्रह

बेलायतस्थित एक अधिकार समूहले आगामी फिफा विश्वकपको आयोजक राष्ट्र कतारसँग श्रमिकहरुको अधिकार प्रत्याभूत गर्न आग्रह गरेको छ ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुने प्रतियोगिताका क्रममा कतारमा एक लाखभन्दा बढी आगन्तुकहरू आउने अपेक्षा गरिएको छ । यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले ठूलो सङ्ख्यामा अस्थायी जनशक्ति भर्ती गरेको छ ।

श्रम अधिकार अभियान संस्था इक्विडेमका अनुसार तेलका लागि धनी खाडी राष्ट्रमा प्रतियोगिताअघि नै कामदारहरूको ‘गम्भीर श्रम शोषण र मानव अधिकारको हनन’ गरिएको समाचारहरू बाहिरिएका छन् ।

कतारले विश्वकपका लागि गरेको संरचना निर्माणमा समेत प्रवासी मजदुरको अवस्थाप्रति पटक–पटक आलोचना खेप्दै आएको छ ।

यद्यपि कतारले हालैका वर्षहरूमा ठूलो सुधार गरेका जनाउँदै आएको छ । श्रम ठगीलाई दुरूत्साहन गर्न न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र धेरै विवादास्पद प्रणालीलाई खारेज गर्नेजस्ता काममा सुधार गरिएको कतारको भनाइ छ ।

कतारले श्रमिकले रोजगार परिवर्तन गर्दा वा घर फर्किँदासमेत काम गरिराखेको कम्पनी वा फर्मको मालिकको अनुमति लिनुपर्ने भएकोले श्रमिकहरूको श्रम अधिकारको हनन हुने गरेको स्वीकार्दै यसलाई सुधारेको दाबी गरेको छ ।

विश्व फुटबलको नियामक निकाय विश्व फुटबल महासंघ फिफाले यसै हप्ता कतारसँग ‘सहभागी टिमहरू १५९ होटलहरूमा श्रमिकको अधिकार र हितको संरक्षण गर्न आवश्यक प्रक्रिया’ लागू गरेको जानकारी दिएको गरेको छ ।

इक्विडेमले बताएअनुसार सर्वेक्षणमा बङ्गलादेशलगायत मुलुकका होटल श्रमिकहरूले आफूहरुले उही कामको लागि अरब राज्यका नागरिकहरूको तुलनामा निकै कम ज्याला पाउने गरेको बताएका थिए ।

केन्याका सुरक्षा गार्डहरूले अन्य मुलुकको कामदारको तुलनामा आफूहरूलाई अत्यधिक तातो गर्मीमा काम गर्न दबाब दिइएको दाबी गरेको अधिकार समूहले बताएको छ ।

इक्विडेमका अनुसार केही कर्मचारीहरूले आफू ‘रोबोटजस्तै’ बिना तलब अत्यधिक समय काम गर्न बाध्य भएको र कोरोनाभाइरस महामारीको दौरान छुट्टिंदा धेरैले ज्याला र क्षतिपूर्ति प्राप्त नगरेको बताएका थिए ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनले २० वटा ठूला होटलले गुनासो समाधानका लागि कामदार व्यवस्थापन समिति गठन गरेको तर त्योभन्दा बढी सुधार आवश्यक भएको बताएको छ ।

इराकको संसद्भित्र प्रदर्शनकारीको प्रवेश

इराकको राजधानी बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर सयौँ मानिसहरूले इराकको संसदमा पुगेका छन् ।

प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौँ समर्थक संसद् भवन प्रवेश गरेका हुन् ।

९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ ।

देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन ।

प्रधानमन्त्रीका लागि पछिल्लो नामांकनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए ।

खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको तयारी

रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् ।

युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ ।

यसकारण हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा रहेको बताइएको छ । रणनीतिक रूपमा डिनिप्रो नदीको पश्चिममा अवस्थित यो शहर युद्धमा पहिलो पटक मस्कोको सेनाले कब्जा गरेको थियो ।

युक्रेनी सेनाले हाइमर्स आर्टिलरी रकेट प्रणाली प्रयोग गरेर खेरसनको एन्टोनिभस्की पुलमा प्रहार गरेका छन् ।

अब रुसी सेना उक्त पुल पार गर्न नसक्ने अवस्थामा रहेको बताइएको छ । आधा माइल लामो पुलको केवल छरिएका भग्नावशेष मात्र बाँकी छ ।

मस्कोले अब अधिकतम संख्यामा खेरसन दिशामा सेना सादै गरेको युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले बताए ।

कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टबाट जोगिन अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए. ५’ अमेरिकामा पनि भेटिएकोले सतर्क रहन नागरिकहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन् – ‘अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र देशव्यापी रुपमा नै विस्तार भइरहेको छ, त्यसैले यसबाट बच्नका लागि सबैले सतर्कता अपनाउन जरुरी छ ।’

उनले यसबाट आफू पनि संक्रमित हुन पुगेको बताएका छन् । राष्ट्रपति बाइडेनले भने– ‘यो ‘बिए.५’ नयाँ भेरियन्टबाट म संक्रमित हुन पुगेँ, म मात्र होइन अमेरिकीहरु पनि यो संक्रमणबाट संक्रमित भएका छन् र हामी अमेरिकी मात्र नभएर संसारकै नागरिकमा यो संक्रमण फैलिएको छ ।

उनले जनस्वस्थ्यका मापदण्डहरु अपनाउन पनि सबैलाई आग्रह गरेका छन् । सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन भनेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन ७९ वर्षका छन् । उनलाई गत हप्ता मात्र यो नयाँ भेरियन्टको संक्रमण देखिएको बताइएको थियो । उनले आफूलाई सामान्य लक्षण मात्र देखिएको जनाएका थिए । उनी एकहप्ता पछि बुधबार मात्र आइसोलेसनबाट निस्किएका छन् ।

कोभिड १९ संक्रमणले सबैभन्दा बढी असर पारेको अमेरिकामा पछिल्लो समयमा यसको संक्रमण थप फैलिएको बताइएको छ । त्यसैले अमेरिकी अधिकारीहरुले सबैलाई थप सतर्कता अपनाउन सूचना जारी गरिरहेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनको वुहान सहरमा पुनः लकडाउन

कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ।

वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो ।

झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

१ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने क्रम निरन्तर भइरहेको छ ।

सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

सन् २०२८ सम्म रुस अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको हिस्सा रहने नासाको भनाइ

आफ्नो स्टेसन नबनुन्जेलसम्म रुस अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने अमेरिकी अन्तरिक्ष निकाय नासाका एक वरिष्ठ अधिकारीले बताएका छन् । रुसी अन्तरिक्ष अधिकारीहरूले आफ्ना अमेरिकी समकक्षहरूलाई यस्तो जानकारी दिएको नासाका अधिकारीले बताए ।

नासाका अन्तरिक्ष अपरेसनका प्रमुख क्याथी लुएडर्सले एक अन्तर्वार्तामा रुस सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको हिस्सा रहने बताए ।

‘हामीले कुनै पनि परिवर्तन भएको संकेत पाएका छैनौं’, लुएडर्सले रोयटर्सलाई भने, ‘रोसकोसमोससँग नासाको सम्बन्ध सामान्य रूपमा रहन्छ ।

मंगलबार मात्र रुसको अन्तरिक्ष एजेन्सी रोजकोसमोसका नवनियुक्त महानिर्देशक युरी बोरिसोभले मस्कोले ‘२०२४ पछि’ लामो समयदेखिको अन्तरिक्ष स्टेसन साझेदारी अन्त्य गर्ने योजना बनाएको घोषणा गरेका थिए । उनको घोषणाले नासा आश्चर्य चकित भएको थियो ।

पाकिस्तानमा आफ्नै श्रीमतीको हत्या गरी पानीमा उमालेको घटना बाहिरियो, हत्यारा फरार

पाकिस्तानमा अर्को अमानवीय घटनाको खुलासा भएको छ ।

पाकिस्तानबाट प्रसारण हुने जियो न्युज टेलिभिजन च्यानलका अनुसार मुलुकको कराँची सहरमा ६ सन्तानका पिता एक जना श्रीमान्ले छोराछोरीकै अगाडी श्रीमतीको हत्या गरी पानीमा उमालेको घटना सार्वजनिक भएको हो ।

कराँचीको गुल्सन ए इकबालमा रहेको एक विद्यालयको भान्साघरमा महिलाको क्षतविक्षत शव फेला परेपछि घटनाको खुलासा भएको हो ।

घटनापछि पीडितकी १५ वर्षे छोरीले प्रहरीलाई जानकारी गराएकी थिइन् । हत्या गरिएकी महिलाको नाम नरगिस रहेको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

आशिक नाम गरेका उनका श्रीमान् सोही निजी विद्यालयमा चौकीदारको रुपमा कार्यरत रहेको र घटनापछि उनी फरार रहेको जनाइएको छ । फरार आशिकले आफ्ना तीन सन्तानलाई पनि लिएर गएको प्रहरीले जानकारी दिएको छ ।

अंगोलाको खानीमा दुर्लभ हिरा भेटियो

अफ्रिकी मुलुक अंगोलाका खानीमा एउटा दुर्लभ शुद्ध गुलाबी हिरा फेला परेको छ । उक्त हिरा ३ सय वर्षयता फेला परेको सबैभन्दा ठूलो हो ।

देशको उत्तरपूर्वको लुलो खानीमा १७० क्यारेटको गुलाबी हिरा फेला परेको लुकापा डायमण्ड कम्पनीले जनाएको छ । उक्त हिरालाई लुलो रोज नाम दिइएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।

लुलोमा फेला परेको गुलाबी हिराले अंगोलालाई विश्व मञ्चमा चिनाएका अंगोलाका खनिज मन्त्रीले बताएका छन् । उक्त हिरा अन्तर्राष्ट्रिय टेन्डरमा चर्को शुल्कमा बेचिने सम्भावना रहेको बताइएको छ ।

यो हालसम्म अफ्रिकी महादेशमा फेला परेको पाचौँ ठूलो हिरा रहेको दाबी गरिएको छ ।

कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि बहस कार्यक्रमकी प्रस्तोता नै बेहोस

बेलायतको कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता नै बेहोस भएकी छन् । बहस कार्यक्रममा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रद्द गरिएको छ । पार्टी नेतृत्वका लागि ऋषि सुनक र लिज ट्रस बीचको पछिल्लो बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रोकिएको हो ।

पत्रकार केट म्याकनद्वारा आयोजित सन र टकटिभी बहस ठूलो आवाज सुनिएपछि अचानक बीचमै रोकिएको थियो । टकटीभीका अनुसार म्याकक्यान “ठीक’’ थिइन तर कार्यक्रमलाई निरन्तरता नदिन सल्लाह दिइएको थियो ।

उक्त घटनापछि च्यानलले माफी मागेको छ । ‘हामी हाम्रा दर्शक र श्रोताहरूसँग माफी चाहन्छौं’, च्यानलले भनेको छ ।

म्याकक्यान ठीक भएको खवरले आफूहरूलाई राहत मिलेको नेतृत्वका उम्मेदवारहरूले ट्वीट गरेका छन् । टकटीभी प्रस्तोताले द सनका राजनीतिक सम्पादक ह्यारी कोलको साथमा बहसको सह–आयोजना गर्ने कार्यतालिका थियो । तर, उनलाई कोभिड भएपछि कार्यक्रममा आएका थिएनन् ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार  ८ : ०० बजे

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको

दुई ओभरमै नेपालले लियो स्कटल्याण्डको तीन विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलको पहिलो

आजका समाचार : प्रचण्डविरुद्ध खनिँदै एमाले, संसद्‌मा रास्वपाको फरक रूप र  इरान-इजरायल तनाव जारी 

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमालेसत्ताको

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने

काठमाडौं– त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले टस जितेको