आर्थिक प्रतिबन्धले रुसी कार उद्योग धराशयी | Khabarhub Khabarhub

युक्रेन-रुस युद्ध

आर्थिक प्रतिबन्धले रुसी कार उद्योग धराशयी

युक्रेनसँगको युद्धमा फसेको रुसमा समस्या बढ्दै



काठमाडौँ – युक्रेनमाथि आक्रमण गरेसँगै पश्चिमा मुलुकहरुले प्रतिबन्धको घोषणा गरेपछि रुसको अर्थतन्त्रमा परेको प्रभावबारे अनेकन टिकाटिप्पणीहरु भइरहेका छन् । रुसले आफ्नो मुलुकमा सबैकुरा ठिक रहेको बताउने गरेको छ । हालै सार्वजनिक तथ्यांकमा रुसमा रोजगारीको स्तरले कीर्तिमान कायम गरेको देखिएको छ ।

यसबाहेक रुसले आफ्नो मुलुकबाट पलायन भएका बहुराष्ट्रिय कम्पनीहरु म्याकडोनाल्ड्स र स्टारबक्सलाई छोटो समयमा नै आफ्नै स्वदेशी उत्पादनले प्रतिस्थापन गर्ने कदम पनि चालेको छ । बाहिर जे जस्तो देखिएपनि रुसको आर्थिक यन्त्रमा भने भित्रभित्रै तनाव र दबाब उत्पन्न हुन थालेका छन् । युक्रेनमा जारी द्वन्द्वको ६ महिना बितिसक्दा रुसका सवारी निर्माताहरुको रणनीति र संघर्षले रुसी अर्थतन्त्रको भित्री पाटा उजागर गर्छन् ।

रुसको सवारी निर्माता कम्पनी अभ्तोभाजले पश्चिमा मुलुकको प्रतिबन्ध, आपूर्तिको अभावलगायतका कारण गत मार्च महिनामा आफ्नो ‘लाडा’ नामक ब्राण्डको उत्पादन बन्द गरेको थियो । यही बर्खायाममा उसले पुनः उत्पादनलाई निरन्तरता दियो । हालसम्म यस कम्पनीले आफ्ना ४२ हजार कर्मचारीलाई हटाइसकेको भने छैन ।

यद्यपि कम्पनीमाथिको दबाब भने सानो छैन । यही दबाबका कारण कम्पनी खुम्चिँदै गएकोजस्तो देखिएको छ । रुसको इजेभ्स्क औद्योगिक सहरस्थित यस कम्पनीको कारखानामा अझै काम सुरु भएको छैन । करिब ३२ सय कामदार मार्चयता काममा फर्किन पाएका छैनन् । कम्पनीले ती कामदारलाई दुई तिहाई ज्याला दिँदै आएको छ । थोरै कामदारलाई भने अल्पकालीन, अस्थायी र कम समय मात्रै काममा खटाइएको छ ।

इजेभ्स्कबाट ६ सय किलोमिटर टाढा रहेको टोग्लियाटीस्थित मुख्य कारखानालाई प्राथमिकता दिन यस कम्पनीले एकमुष्ट उपदान लिएर काम छाड्न यी कादारहरुलाई प्रस्ताव गरेको छ । कामदारहरुलाई २ लाख रुबल लिएर काम छाड्न वा कामलाई निरन्तरता दिने भन्ने दुई विकल्प दिइएको छ । ‘हाम्रोसामु खराब र भयानक अवस्थामध्ये के चुन्ने भन्ने दुई विकल्प छन्’ अलेक्जाण्डर कन्यजेभ भन्छन् । प्रतिमहिना ४५ हजार रुबल कमाउँदै आएका उनले गत साता कारखानामा काम नगर्ने विकल्प रोजे । ‘उनीहरुलाई अब प्राविधिकहरु चाहिएको छैन’ उनले भने ।

कति कामदारहरुले काम छाडे भन्ने प्रश्नमा अभ्तोभाजले यसबारे अर्को महिनापछि विस्तृत विवरण सार्वजनिक गर्ने बताएको छ ।
यसबाहेक दैनिक कार्यअवधि घटाइएका कामदारहरुलाई सातामा ५ दिन काम गर्नेगरी आगामी अगस्ट २९ बाट नयाँ नियम अघि सारिने समेत उक्त कम्पनीले जानकारी दिएको छ ।

इजेभ्स्कमा रहेको कारखानाबारे भने यस कम्पनीले कुनै विवरण दिन मानेन । यद्यपि यही महिनाको सुरुतिर कम्पनीले उक्त कारखानामा काम अघि बढाउन दृढ रहेको उल्लेख गरेको थियो । यस कारखानालाई थप सुधार गरी ‘लाडा इ लार्गस’ नामक विद्युतीय कार उत्पादन गर्ने उक्त कम्पनीले जनाएको थियो ।

‘प्रतिबन्धको दबाब र अन्य कारणहरुले गर्दा वर्तमान अवस्थामा हामी रोजगार कायम गर्न वृहद कदमहरु चालिरहेका छौँ ।’ त्यसबेला अभ्तोभाजका अध्यक्ष माक्सिम सोकोलोभले भनेका थिए । मस्कोको न्यु इकोनोमिक स्कुलमा अर्थशास्त्रका प्राध्यापक रुबेन एनिकोलोपोभले भने ‘लुकेको बेरोजगारी’ ले रुसी सवारी उद्योगको संघर्षलाई छोपेको बताउँछन् ।

उनका अनुसार कामदारहरुलाई सोझै कामबाट निकालिएको त छैन, यद्यपि उनीहरुलाई अनिश्चितकालसम्मका लागि कामबाट विदा दिइएको छ । प्रतिबन्धहरु तत्काल फुकुवा नहुने देखिएकाले उनले यस वर्षको अन्त्यतिर बेरोजगारी बढ्ने अपेक्षा गरिएको बताए । ‘रुसी श्रम बजारमा विदा दिने चलनका कारण आर्थिक संकटले रुसमा तत्कालै आम बेरोजगारी आइहाल्दैन ।’ उनी भन्छन् ।

रुसी अर्थ मन्त्रालयले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । यसै महिना रुसी अर्थमन्त्री माक्सिम रेसेत्निकोभले मुलुकमा बेरोजगारी बढ्ने कुराको खण्डन गरेका थिए । हाल रुसको सरकारी तथ्यांक अनुसार जुन महिनामा त्यहाँको बेरोजगार दर कीर्तिमानी न्यून ३ दशमलब ९ प्रतिशत कायम छ ।

‘मेरो विचारमा शरद ऋतुका बेला हामी यो कीर्तिमानी संख्याबाट पछि हट्ने छौँ तर धेरै चिन्तित नहोऊँ, अवस्था नियन्त्रणमै रहेको छ ।’ येकाटेरिनबर्ग सहरमा आयोजित एक सम्मेलनमा अर्थमन्त्री रेसेत्निकोभले भनेका थिए । रुसी प्रशासन आशावादी हुनुको केही कारण पनि छन् । तेलको उच्च मूल्य र मुद्रास्फीतिका कारण उत्पन्न हुने प्रभावलाई न्यून गर्न चालिएका कदमले सरकारी नीति निर्माताहरुलाई केही राहत दिएको छ ।

यस्ता कारणले गर्दा यसअघि अपेक्षा गरिएभन्दा रुसी अर्थतन्त्रको संकुचन न्यून हुने रुसी प्रशासनको विश्वास छ । पश्चिमा मुलुकको प्रतिबन्धको प्रभाव रुसको सवारी उद्योगमा मात्रै परेको छैन । रुसकी उप प्रधानमन्त्री टाटानिया गोलिकोभाका अनुसार जुलाई महिनाको अन्त्यसम्म २ लाख ३६ हजार रुसी कामदारहरुलाई या त विदा दिइएको छ या त उनीहरुको काम गर्ने समायावधि घटाइएको छ । यद्यपि ती कामदारहरु रुस सरकारको आधिकारिक बेरोजगारको सूचीमा भने दर्ता छैनन् ।

रुसमा हवाई क्षेत्रका एअर ट्राफिक कन्ट्रोलरमध्ये झण्डै आधा अर्थात् १४ हजार जनालाई कि त विदा दिइएको छ या त उनीहरुको काम गर्ने अविध छोट्याइएको छ । यसबाहेक धेरै विदेशी कम्पनीहरु रुसबाट पलायन भएका छन् । स्विडेनको फर्निचर कम्पनी आईकेया एवम् स्पेनको फेसन कम्पनी जाराले पनि रुसी कामदारहरुलाई विदा दिएका छन् ।

तर, यीमध्ये सबैभन्दा धेरै चपेटामा भने रुसको सवारी उद्योग नै परेको छ । रुसी सरकारी तथ्यांक निकायका यस वर्षको पहिलो ६ महिनामा रुसमा उत्पादन हुने सवारी कारमा अघिल्लो वर्षको तुलनामा ६२ प्रतिशतले कमी आएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेसँगै विदेशी कार कम्पनीहरु फक्स्वागन, निसान, ह्युण्डाई, स्टेलान्टिस, मित्सुबिसी र भोल्भोजस्ता कम्पनीले रुसमा आफ्नो गतिविधिलाई स्थगित गरेका छन् भने कामदारहरुलाई दुई तिहाई ज्यालामा विदा दिइएको छ । यसका कारण १४ हजारभन्दा धेरै रुसी सवारी कामदारहरुले विदा पाएका छन् ।

सवारी उद्योगलाई दशकौँयता रुसी सफलताको एक सूचक नै मानिन्छ । यस उद्योगले विदेशी कम्पनीहरुलाई लगानी गर्न आकर्षण मात्रै गरेको छैन, यस उद्योगले धेरै नागरिकहरुलाई रोजगारी पनि दिएको छ । युक्रेनमा युद्ध लम्बिँदै जाँदा यी कामदारहरुको भविष्य भने अनिश्चित जस्तै छ ।

पश्चिमा मुलुकको प्रतिबन्धले सवारी उद्योगमा परेको प्रभाव र यसले समग्र रुसी अर्थतन्त्रमा परेको असर पनि कम छैन । सन् २०२० को आँकडाअनुसार यस उद्योगले ४ लाख भन्दा धेरै रुसीलाई रोजगारी दिँदै आएको थियो । यसबाहेक ४० लाख मानिसहरुले यस उद्योगबाट अप्रत्यक्ष रोजगारी पाएका थिए । पश्चिमा मुलुकको प्रतिबन्धले विश्वव्यापी आपूर्तिचक्र र रुसी निर्यातमा परेको प्रभावलाई कम गर्न अभ्तोभाजले केही कदमहरु पनि चालेको छ ।

गत जुन महिनामा यस कम्पनीले नयाँ शैलीको ‘लाडा ग्रान्टा’ नामक सवारीको उत्पादन सुरु गरेको थियो । यस्तो नयाँ शैलीको सवारीमा आयातित वस्तुबाट मात्रै सम्भव हुने साँचोबिनाको रिमोट नियन्त्रण, एअर कन्डिसनजस्ता सुविधा भने कटौती गरिएको थियो । जे जस्तो भएपनि यस कम्पनीको बिक्रीमा यस वर्षको पहिलो ७ महिनामा ६३ प्रतिशतले कमी आएर ८५ हजार सवारीमा सीमित भएको छ ।

अभ्तोभाजको तथ्यांकअनुसार यस कम्पनीले उत्पादन गर्न ‘लाडा भेस्टा’, ‘लाडा एक्स–रे’, र ‘लाडा लार्गस’ मोडेलका कार उत्पादन ठप्पप्रायः छन् । इजेभ्स्कजस्ता क्षेत्रमा भने यसले अन्य क्षेत्रलाई पनि प्रभावित बनाएको छ । राजधानी मस्कोबाट १३ सय किलोमिटर पूर्वमा रहेको उद्मुर्तिया क्षेत्रको राजधानी इजेभ्स्कमा रहेको अभ्तोभाजको कारखानाबाट हालै काम छाडेका अलेक्जाण्डर कन्यजेभले अब सोही सहरमा रहेको ‘एके ४७’ जस्ता बन्दुक बनाउने कालाश्निकोभ कम्पनीको कारखानामा काम पाउने अपेक्षा गरेका छन् । तर, त्यहाँ जागिर पाएपनि आफूलाई कार निर्माताले भन्दा कम तलब दिने उनको भनाइ छ ।

अभ्तोभाजमा कार्यरत १ सय भन्दा धेरै कामदारले कालाश्निकोभको कारखानामा रोजगारी पाएको उद्मुर्तिया क्षेत्रकी उपप्रधानमन्त्री टटान्या चुराकोभाले बताइन् । ‘कार कारखानाका कामदारलाई अन्य कारखानामा संयोजन गर्न हामी हरसम्भव गरिरहेका छौँ ।’ उनले भनिन् । यस्ता प्रयासका बावजुद रुसले युक्रेनमा ‘विशेष सैन्य कारवाही’ थालेको ६ महिना बितिसक्दा पनि यस औद्योगिक सहरका धेरै मानिसहरु अनिश्चित आर्थिक भविष्यप्रति चिन्तित छन् ।

इजेभ्स्क औद्योगिक सहरमा रहेको अभ्तोभाज कारखानाका व्यवस्थापक ५८ वर्षे सर्गेई तलब कटौती गरी दिइएको विदा आफूलाई नै स्वीकार्य नरहेको बताउँछन् । उनले आफ्नो थर भने बताउन चाहेनन् । ‘उनीहरुले कसैलाई पनि निकाल्दैनन्, जो यहाँ बस्न चाहन्छ, बस्छ । धेरै मानिसहरु यहीँ रहन चाहन्छन् ।’ उनले भने, ‘अहिले कसैलाई केही थाहा छैन । अहिलेसम्म कुनै ठूलो निर्णय लिइसकिएको छैन । सबैजना पर्खेर बसिरहेका छन् ।’

अभ्तोभाजले इजेभ्स्कको कारखानामा बन्द भएको ‘लाडा भेस्टा’ कारको उत्पादन टोग्लियाटीस्थित मुख्य कारखानाबाट अर्को वर्षको वसन्त ऋतुसँगै सुचारु गर्ने बताएको छ । यद्यपि विदेशी प्रतिबन्धका कारण आयात गर्न नसकिने सामान बिना कम्पनीले कसरी कारको उत्पादनलाई निरन्तरता दिनेछ भन्नेबारे कुनै ठोस जवाफ भने दिएन ।

-रोयटर्सबाट

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : १४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका