युवाहरुको मुठिदानले चलिरहेको सुर्खेतको 'साझा घर' | Khabarhub Khabarhub

युवाहरुको मुठिदानले चलिरहेको सुर्खेतको ‘साझा घर’

कर्णालीका ६९ जना बेसहारा बालबालिकाको आश्रयस्थल



सुर्खेत- दैलेख तल्लो डुङ्गेश्वरकी भगवती वादीले सौनमा बुवा गुमाइन् । बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरिन् । सहारा दिने आमा पनि अर्कैको पछाडि लागेपछि उनको सहारा कोही पनि भएन । दैलेखको डुङ्गेश्वर बजारमा दिनरात सडकमा मागेरै पेट भर्थिन् । तल्लो माथिल्लो घरमा मागेरै दिन गुजार्ने उनको अवस्थाले समाजलाई चिन्तित तुल्यायो ।

तर त्यसको विकल्प स्थानीय समाजमा थिएन । उनीहरूले चिनेकै मानिसबाट सुर्खेतमा सञ्चालित साझा घरले यस्ता काम गर्छ भनेपछि उनलाई उद्धार गरियो । साझा घरले उद्धार गरेपछि अहिले भगवतीले खान बस्न र राम्रो शिक्षा समेत पाएकी छन् । राम्रो लगाउन र आमाबुबाको माया साझा घरले दिएको छ । पहिले आमाबा कस्ता थिए राम्रोसँग देख्नै नपाए पनि अहिले साझा घर पुगेपछि आमाबुबाले भन्दा धेरै माया पाएको उनी बताउँछिन् ।

‘सानैमा आमाबुवाको माया त पाउन सकिन । बुवा त थाहा छैन, आमा पनि अर्को पोइल (दोस्रो बिहे) जानुभयो’ उनले भनिन्, ‘अहिले साझा घर आएपछि खान, बस्न र पढ्न पाएकी छु ।’

त्यस्तै कालिकोटको मीनबहादुर नेपाली पनि ८ वर्षका भए । आमाबुबाको राम्रोसँग माया नपाउँदै आमाको स्वर्गवास भयो । रोजगारीका लागि बुबा भारतको कालो पहाड पुगे । तर उनी घर फर्केनन्, गाउँमा उनको बिचल्ली भयो ।

केही दिन आफन्तले राखे पनि पछि घरबाटै निकालिए । पछि कर्णाली राजमार्गको छेउमा मागेर गुजारा चलाउने गरेका उनी अलपत्रै अवस्थामा थिए । साझा घरले उनको उद्धार गरेपछि उनका दिनहरू सहजै बित्न थालेका छन् ।

यस्तै सुर्खेतका आशिस मुल १२ वर्षको भए । उनी शारीरिक रूपमा मानसिक अपाङ्ग छन् । उनका पनि आमा बुबाकै मृत्युपश्चात् आफन्तले साझा घरको जिम्मा लगाए । जहाँ उनको दैनिकी अहिले अन्तभन्दा राम्रो भइरहेको छ ।

साझा घरको सहारा
सडकमा रहेका बेसहाराहरूलाई सहारा दिँदै आएको साझा घर एउटा सार्वजनिक संस्था हो । त्यो पनि युवाहरूले चलाएको साझा घर कर्णालीका धेरै अबोध बालबालिकाको सहारा र शिक्षा दिने थलो बनेको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा रहेको साझा घर नेपाल बेसहाराको सहारा बनेको छ । सडकमा रहेका आमाबुबा कोही नभएका फरक पहिचान भएका व्यक्ति, बेसहारा बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरूको साझा घर नेपालले सहारा दिँदै आएको छ । पहिले वीरेन्द्रनगर ९ लाटिकोइलीबाट सेवा दिँदै आएको थियो ।

सडक बालबालिका, मानसिक सन्तुलन गुमाएका र बेसहारा मानिसलाई उचित वासस्थान र उनको परिवारसम्म मिलन गराउने उद्देश्यले सञ्चालनमा आएको साझा घरका अध्यक्ष भीम विश्वकर्मा बताउँछन् ।

उनका अनुसार साझा घरले अहिले २७ जना बालिका र ४२ जना बालक गरी ६९ जना बालबालिकालाई आश्रय दिँदै आएको छ । उनीहरूको गाँस बाँस र कपासको व्यवस्था गरेर अभिभावकको भूमिका पनि साझा घरले निर्वाह गर्दै आएको छ ।

मुठिदानबाट चलेको अभियान
एक सार्वजनिक संस्था चलाउन धेरै सकस छ । कैयौँ संघ संस्था राम्रो व्यवस्थापन गर्न नसकेर बन्द भएका छन् । तर कर्णालीको पहिचान बन्दै आएको साझा घर एक फरक अभियानबाट सञ्चालित संस्था हो ।

‘एक छाक, एक मुठिदान : साझा घर नेपालको अभियान’ भन्ने नारासहित यो संस्था सञ्चालित छ । अर्थात् एक जनाले एक मुठी दान दियो भने धेरै बालबालिकाको पेट भर्न सकिन्छ भन्ने प्रेरणा यो संस्थाले दिँदै आएको छ । युवाहरूले सञ्चालन गरिरहेको साझा घरमा अहिले तीन जना स्वयंसेवीले बालबालिकाको हेरचाह गरिरहेका छन् ।

सडकमा रहेका बेसहारालाई घरसम्म पुर्‍याउने  र आमाबुबा नभएका बालबालिकालाई साझाघरमा राखेर गास, बास, शिक्षा दिक्षाको व्यवस्था गर्ने उद्देश्यसहित २० चैत २०७५ सालमा साझा घर सञ्चालनमा आएको संस्थाका अर्का संस्थापक तपेन्द्र विश्वकर्माले बताए ।

‘हामीले यहाँ सहयोग जुटाएरै बेसहारालाई खाने बस्ने र पढ्ने व्यवस्था गरेका छौँ’ उनले भनेका छन् । उनका अनुसार त्यसमध्ये ९ जना बालबालिकालाई उनीहरूले घरपरिवारसँग पुनर्मिलन गराएका छन् ।

व्यवस्थापन गर्न चुनौती
संस्थाका संस्थापकहरूका अनुसार साझा घर सञ्चालनमा आएपछि सुरुवाती दिनमा निकै सकस थियो । खासगरि व्यवस्थापनको पाटोमा बाहिरबाट मानिसहरुले बचन दिए पनि व्यवहार पूरा नगर्दा आफैँले व्यवस्थापन गर्नुपरेको उनीहरूको तितो अनुभव छ ।

‘बाहिरबाट भन्न सहज छ । तर वास्तविक रूपमा व्यवस्थापन गर्न निकै जटिल छ’ तपेन्द्रले साझा घर सञ्चालनको दुःख बिसाउँदै भने, ‘हामीले आफैँलाई जोखिममा राखेर पनि बेसहाराका लागि आश्रय स्थल बनाएका हौँ । राम्रो सोच भएकाले सुरु गर्‍यौ । तर निकै गाह्रो छ ।’

मुठिदानले सञ्चालन हुँदै आएको यो संस्थालाई अरू कुनै बाह्य संघ संस्थाको सहयोग छैन । स्थानीय पालिका, प्रदेश सरकारका कुनै पनि निकायले सहयोग गरेका छैनन् । तर पनि युवाहरु साझा घर सञ्चालनमा कटिबद्ध छन् ।

‘कुनै तहबाट ठूलो सहयोग छैन । कुनै सहयोगी मनहरू जन्मदिनको उपहारमा खाद्यान्न, लत्ता कपडा लगायतका सामान दिन्छन्,’ तपेन्द्रले चुनौती भए पनि व्यवस्थापनबारे भने, ‘मासिक ८० हजार रुपैयाँ भाडा पर्ने घर लिएर बालबालिकालाई सहारा दिएर राखेका छौँ । ठूलो सहयोग चाहिँदैन । अरुका लागि सहारा बन्न सक्नेले सकेको सहयोग गरे पुग्छ ।’

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  २ : १० बजे

तपाईंलाई थाहा छ, कुन कपडा तातोपानीले धुनु हुँदैन ?

‍काठमाडौं– मौसम परिवर्तनसँगै जाडोयाम भित्रिसकेको छ। जाडोयाम छिप्पिँदै जाँदा पानी

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं– हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य

हिमाल हेर्न कोखेडाँडा

पर्वत – मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय