गाउँघरमा बज्नै छाडे मालश्री धुन « Khabarhub

गाउँघरमा बज्नै छाडे मालश्री धुन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रामपुर – नेपालीको महान् पर्व दशैँ-तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जायमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ-तिहार सुरु भएको आभास छाउँछ । कुनै समय मालश्री धुन घन्किने गाउँ पछिल्ला वर्षमा सुनसानमय बनेको छ । दशैँको घटस्थापनादेखि नै गाउँ-गाउँमा पुगेर मालश्री धुन बाउबाजेले बजाउने गरे पनि पछिल्ला वर्षमा यो धुन बजाउने व्यक्ति नहुँदा संस्कृति नै लोप भएको बताउँछन् , पाल्पा रामपुरका ५९ वर्षीय रामबहादुर बादी ।

‘दशैँ सुरु भएपछि विभिन्न बाजागाजा लिएर मङ्गल धुन बजाउने चलन हुन्थ्यो, हाम्रा पुर्खादेखि नै चलिआएको संस्कृति पछिल्ला वर्षमा कतै बजेको सुन्न पाइँदैन, बजाउने व्यक्तिको अभावमा रेकर्ड गरिएका धुन रेडियो, टिभीबाट बज्ने गरेको छ ।’  

मङ्गल धुन बजाउने कला भएका व्यक्तिको पहिचान र प्रोत्साहन नहुँदा परम्परागतदेखि नै गाउँघरमा चलिआएको संस्कृति अहिले हराउँदै गएको रामबहादुरको बुझाइ छ । समाजमा प्रत्यक्ष बाजागाजा अनि थिति मिलाएर सामूहिकरूपमा बजाइने मङ्गल धुन वास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मङ्गल धुन अर्थात् मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लयमार्फत हरेक नेपालीको मनभित्र बस्न सफल छ ।

झ्याम्टा, मादल, सारङ्गी, ढोल, मुरलीलगायत थुप्रै बाजा मालश्री धुनमा बजाइन्छन् । रेडियो र टिभीबाट बज्ने मीठो धुनको गुञ्जनले बल्ल दशैँ लाग्यो भन्ने जनमानसमा आभाष जनाउँछ । गाउँघरमा अहिले सबैका हातहातमा मोबाइल, इन्टरनेट तथा सूचना प्रविधिको सुविधाले मालश्री धुन सुन्ने गरिए पनि गन्धर्व दाइले बजाएको धुन प्रत्यक्ष सुनेजस्तो आनन्दानुभूति नभएको बाद्यवादक टीकाराम ढकालले बताए ।

‘पुराना तथा आधुनिक खालका धेरै बाजा बजाउन सिकियो तर मालश्री धुन बजाउने औधी रहर भएर पनि बजाउन आएन, गाउँमा सिकाउने पुराना व्यक्ति कोही छैनन्, कोसँग सीप सिक्ने हो र ?’, उनले भने, ‘कहिलेकाहीँ घरमा युट्युबमा धुन सुनेर अभ्यास गर्छु, तर अरु बाजाको जस्तो ताल अलि आएन ।’

 गाउँघर, सहरबजारमा गन्धर्वहरूले मालश्री धुन बजाएको सुन्ने र हेर्नेको उल्लास छाउँथ्यो । गाउँका चौतारी, कोतघर, शक्तिपीठमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको रौनकता बढाउँथ्यो तर हिजोआज यी ठाउँमा मालश्रीका आवाज सुन्नै छाडिएको देवराज अर्यालले बताए ।

घटस्थापनादेखि पूर्णिमासम्म माता दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो । धुन बजाउन सीप जानेको व्यक्तिको अभाव, पुराना संस्कृतिप्रति नयाँ पुस्ताले चासो नदिँदा पर्व विशेषसँग जोडिएका मौलिक संस्कृति नै लोप हुँदै गएका छन् ।

पुराना पुस्तामा भएको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु अर्थात् आधुनिक प्रविधिको विकास र सुविधा, नयाँ पुस्ताले मौलिक संस्कृति जगेर्नामा बेवास्ता गर्दा नेपाली समाजमा रहेका लोपोन्मुख संस्कृति हराउन पुगेको लेखनाथ शर्मा मरासिनीको भनाइ छ ।

किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ । यो धुनलाई नेपाली परिप्रेक्ष्यमा दशैँ अनि तिहारको अवसरमा बजाइन्छ, प्रयोग गरिन्छ । ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक-फरक छन् । 

मालश्री धुन, माल अर्थात् वस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ । कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुआतसँगै आउने चाड दशैँ अनि यसै लहरसँग फुल्न तयार धानका बाला, फूल, विभिन्न प्रजातिका दानालगायतका आगमनको खुसी पनि हो, मालश्री धुन । मालश्री धुनलाई दशैँ पर्वसँग मात्र सम्बन्धित नभई शरद ऋतुको सुरुआतका रुपमा लिइन्छ ।

–सुशीला रेग्मी रासस

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : ४१ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत