काठमाडौँ – पछिल्लो समय मानसिक समस्या आत्महत्याका घटनामा परिणत हुँदै गएको छ। मानसिक समस्याका रुपमा एन्जाईटी, डिप्रेसन, पेनिक अट्याकजस्ता समस्या बढेर मानिसलाई आत्महत्या गर्न बाध्य पारिरहेका घटना धेरै छन् । मानिसहरुले धेरै खालको मानसिक तनाव लिने, त्यसमा पनि किशोरीहरुमा हर्मोनको कारणले ‘मुड चेन्ज’ भइरहने र मन अस्थिर हुने समस्याका कारण पनि आत्महत्याका घटना बढेका छन् । यस्तो बेलामा राम्रो ‘सपोट’ र हेरविचार भएन, उल्टै परिवारबाट दबाब भयो भने झनै समस्या पर्न सक्छ । परिवारले बुझ्ने कोशिस गरेमा आत्महत्याको जोखिम घटाउन सकिन्छ । बढ्दो मानसिक समस्या र त्यसले निम्त्याउने आत्महत्या जस्ता घटनाका विषयमा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
छोराछोरीलाई पढाइको लागि घरबाट बाहिर होस्टेलमा राख्दा पनि आत्महत्याका घटना भइरहेका भनिन्छ नि ! हो ?
हो, किशोरकिशोरीलाई सम्झाएर, बुझाएर होस्टेलमा राम्रो पढ्न पाउँछौ । तिम्रो भविष्य राम्रो हुन्छ, कुनै डिस्टर्ब हुँदैन भनेर उनीहरु बस्न मान्छन् भने राख्ने हो । तर आमा बाबुसँग समय छैन, जसरी पनि पढाउनुपर्छ, हामी जति पनि पैसा खर्च गर्छौँ भनेर छोराछोरी नमान्दानमान्दै पनि राख्यो भने उनीहरूमा ‘आमाबाबुले माया गर्दैनन्, खाली दबाब मात्रै दिन्छन्’ भन्ने सोचको विकास हुन्छ । चिन्ता बढ्छ र डिप्रेसनमा जाने सम्भावना धेरै हुन्छ । आमाबाबाले नै माया गर्दैनन् भने किन पढ्नु, किन बाँच्नु भन्ने सोच आएर आत्महत्याको जोखिम बढ्छ ।
आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी देखिन्छन् । यसको कारण के हो ?
किन बढी हुन्छ भनेर खोज त भएको छैन । तर बच्चा पाउने उमेरका महिलामा डिप्रेसनको जोखिम बढी हुने भएकाले आत्महत्या बढेको हो भनेर केही तथ्याङ्कले देखाएको छ । तर यो नै कारणले गर्दा किशोरीले आत्महत्या बढेको भनेर भन्न सकिने अवस्था छैन । तर बढी भावुक, बढी इमोश्नल, हीनताबोध धेरै हुने भएकाले मानसिक समस्या आएको हुन सक्छ । अरु कुनै समस्याले गर्दा पनि आत्महत्या गरेको हुन सक्छ ।
यस्तो अवस्थामा घर परिवारको भूमिका कस्तो हुनुपर्छ ?
धेरै तहमा आत्महत्या रोकथाम गर्न सकिन्छ । एक त किशोरकिशोरीलाई नै हाम्रो जिन्दगीको महत्व कति हो, एक पटक पाएको जिन्दगी त्यसै फाल्नु हुँदैन भनेर चेतना जगाउनु पर्छ । त्यसपछि आमाबाबुले छोराछोरी कस्तो तनावमा गुज्रिरहेको छ ? कस्तो खालको समस्या रहेको छ ? स्कुल तथा कलेजमा के छ ? साथीहरू कस्ता छन् ? अल्कोहल खाने, ड्रग्स खाने बानी छ कि छैन ? भनेर याद गर्नुपर्छ ।
कतिपय कुरा घर परिवारलाई भन्न नसक्ने तर साथीभाइलाई भन्न सक्ने हुन्छ । यस्तोे बेला साथीभाइको भूमिका कस्तो हुनुपर्छ ?
एकदम हो । साथीसँग जति सजिलै आफ्ना कुरा राख्न सकिन्छ, घरमा कतिले सक्दैनन् । आफ्नो मिल्ने साथीसँग मनमा लागेका कुरा भन्न सकियो भने पनि आफूभित्र गुम्सिएका समस्या पोख्न सकियो भने त्यसले मनलाई हल्का पार्छ । समस्या परेको बेला साथीहरूले सहयोग गर्नुपर्छ । साथीसँग मिलेर कसरी समाधान गर्ने भनेर सहयोग लिन पनि सकिन्छ । अनि मिडिया, इन्टरनेटमा आत्महत्या, हिंसा जस्ता सामग्री हेर्नु हुँदैन । यसले नराम्रो सन्देश दिन सक्छ । आत्महत्या कुनै पनि समस्याको समाधान होइन । योभन्दा पहिले उनीहरूलाई सहयोग चाहिन्छ र साथीले सहयोग गर्नैपर्छ ।
आत्महत्या रोकथामका लागि अरु उपाय के हुन सक्छ ?
व्यक्तिगत रुपमा आत्महत्या कस्तो खालको समस्या हो भनेर जनचेतना बढाउनुपर्छ । परिवारले राम्रोसँग समस्या बुझ्नुपर्ने हुन्छ । स्कुल कलेजमा काउन्सिलिङ गर्ने मान्छे तथा समन्वयकर्ता राख्नु पर्छ । त्यस्तै मानसिक समस्या आयो भने कसरी कसलाई भन्ने भनेर वातावरण मिलाउनु पर्छ। कुनै खालको मानसिक समस्या देखा पर्यो भने मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको गएर सल्लाह लिनुपर्छ । त्यस्तै ‘सुसाइड हेल्पलाइन’ भन्ने छ, कसैलाई नराम्रो सोच आयो भने यो हेल्पलाइनमा फोन गरेर सहयोग लिन पनि सकिन्छ ।
प्रतिक्रिया