काठमाडौँकै गल्ली गल्लीमा छ दाइजो प्रथा | Khabarhub Khabarhub

ब्लग

काठमाडौँकै गल्ली गल्लीमा छ दाइजो प्रथा



‘अहिलेको जमानामा पनि सानो तिलहरी ल्याएकी रै छ, मलाई त खोलेर हेर्न मन पनि लागेको छैन। त्यस्तो धुमधामले बिहे गरेर भित्र्याएकी बुहारी चित्तै बुझेन भन्या। माइती कामै नलाग्ने रहेछन् कि क्या हो ? ’ यो संवाद काठमाडौँको चर्चित ठाउँ बसन्तपुरको कालभैरव मन्दिर नजिकबाट अन्जान महिलाबाट निस्किएको।

सायद उनले आफ्नो बुहारीको बारेमा सार्वजनिक ठाउँमा भनेका यी वाक्य सार्वजनिक गरेकी थिइन्। उनीसँगै अरु तीन जना महिला पनि थिए, ‘अरूलाई के के ल्याएकी रहेछ,’ सँगै बसेकी उनकी साथीले थप जिज्ञासा राख्दै सोधिन्।

‘आमालाई तिलहरी, बाबालाई सानोऔंठी, मलाई सानो तिलहरी अनि, नानुलाई सानो औठि। यो बिहेमा राम्रो भनेको एउटा सारी मात्रै देखे। संवाद त दुई जना महिलाबीचको हो। तर मेल सबै खान्छ।

यो संवाद सुनेपछि त्यै एकछिन रोकिन मन लाग्यो। साथीले यस्ता कुरा सुन्नु हुँदैन भनेर हात ताने पनि मेरो मन मानेन। हुन त अरुको कुरामा चासो दिने मान्छे त होइन। तर पनि यो कुराले झन् उकुसमुकुस बनाइदियो।

कुरा त उनीहरूबीचको थियो। तर चासो भने मलाई भयो। उनीहरूबीचको संवादले धेरै प्रश्न जन्माइदियो। सुन्ने बित्तिकै धेरै कुरा भन्न मन लागेको थियो। तर अन्जान मान्छेलाई के भनूँ आफैँलाई सम्हाले।

दुई जनाबीचको अनेकौँ टीकाटिप्पणीले त्यो ठाउँ नजिकमा भएका सबैको ध्यान तानेको थियो। अरूलाई केही भयो भएन त मैले जान्न सकिनँ। तर मलाई भने टाउको दुख्न थाल्यो, मसँग विकल्प पनि केही थिएन।

एउटा छोरीले आफू जन्मेको घर छोडेर अरू कसैको घरमा आजीवन बिताउन सक्छु भनेर गएको हुन्छे। आफ्ना जन्म दिने बाबाआमा आफू हुर्केको घर, आफ्ना सबै कुरा छोडेर एक्लै पराइ घर सम्हाल्छु भनेर जाँदा पनि उल्टै त्यो नारीभन्दा दाइजो ठूलो ? आफू पनि त्यही दिन पार गरेर आएको कुरा किन बुझ्दैनौँ हामी ?

के अरू कसैको छोरी बुहारी बनेर आउँदैमा सारा सम्पत्ति नै बोकेर ल्याउनु पर्ने हो र ? के त्यो नारीले पढेको योग्यता सम्पत्ति होइन ? के उसको शरीर श्रम त्यो नयाँ घरको सम्पत्ति होइन ? उसले बाबाको घर छोड्नुपर्छ त्यो त्याग नयाँ घरको लागि सम्पत्ति होइन र ?
यस्ता प्रश्न त धेरै छन् तर उत्तर कसले दिने।

हिजोआज जति नै बुझ्ने जति नै पढेका गनिए पनि दाइजोको मामिलामा भने मौन रहेको देखिन्छ। बाहिर दाइजो प्रथाको घोर विरोध गर्नेले पनि दाइजो नभएर बिहे नगरेको उदाहरण धेरै देखेको छु मैले।

एउटा छोरीले जन्मदेखि उसको लागि गरेको लगानी आखिर लैजाने त कर्म घरमा नै हो नि, त्यसमाथि पनि दाइजो खोज्ने हाम्रो सोच कति संकिर्ण छ ? आफैँले आफैँलाई प्रश्न गरौँ त ?

एउटा छोरीलाई जन्मेदेखि बिहे गर्ने उमेरसम्म पुर्‍याउनको लागि उसको जन्मघरले कति लगानी गरेको हुन्छ ? कति बाधा व्यवधान पार गरेर त्यो अवस्थासम्म पुर्‍याएको हुन्छ ? एउटा छोरीले आफ्नो जन्मघर छोड्दाको पीडा कति हुन्छ ?

त्यो छोरी जन्माउने आमाबाबालाई मात्रै थाहा होला। त्यसैमाथि सम्पत्ति ल्याई, ल्याएको सामान यस्तो, उस्तो भनेर टीकाटिप्पणी गर्न आवश्यक छ र ? नेपाली समाजमा कायम रहेको दाइजो प्रथाले महिलाहरूमाथि गम्भीर हिंसा भइरहेको छ।

नेपालको तराईमा यस्ता घटना धेरै भएको पाइन्छ। दाइजो कम ल्याएकै बहानामा कति नारीले ज्युँदै जल्नु परेको छ भने कतिले आत्मदाह गर्नुपर्ने बाध्यता बनेको छ।

दाइजोकै निहुँमा अझै पनि कति बाबुआमाका काख रित्तो भएको छ भने कति अझै बेपत्ता बनेका छन्। मलाई थाहा भए अनुसार नेपालको कानुन प्रणालीमा पनि दाइजोको अवधारणालाई मान्यता दिइएको पाइन्छ। कहीँ यो कानुनविपरित भनिएको छ, कहीँ यसलाई घुमाउरो शैलीमा कानुनी मान्यता दिइएको छ।

नेपाली समाजमा दाइजो, तिलक तथा दहेजलगायतका शब्दहरू दाइजोकै पर्यायवाचीका रूपमा प्रयोग भएका छन्। दाइजो प्रथाले नेपाली समाजमा महिलाहरुमाथि दैनिक गम्भीर हिंसाका घटनाहरू भइरहेको तथ्य विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारबाट पुष्टि भएको छ।

यसैगरी एक्सन–एड नेपालको सहयोगमा कन्र्सोटियम फर वुमेन राइट्स र राष्ट्रिय महिला अधिकार मञ्चले संयुक्त रूपमा दाइजोविरूद्ध गरेको अध्ययनले दाइजोको कारणबाट महिलाहरूमाथि गम्भीर हिंसा भएको तथ्यगत रूपमा पुष्टि गरेको छ।

सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ को दफा ५(२) को उपरोक्त व्यवस्था संरचनागत हिंसाको एउटा रूप भएको तथ्यमाथि उल्लिखित घटना र अध्ययनले देखाएको छ।

कुल परम्पराअनुसार दश हजारसम्म दाइजो दिन हुन्छ भन्ने व्यवस्था नेपालको अन्तरिम संविधान, २०६३ को धारा २(३) सँग बाझिएको छ। यसबाट महिलाहरूलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, २० र २१ प्रदत्त मौलिक हकको समेत अपहरण भएको छ।

कानुनमा जे जस्तो व्यवस्था भए पनि आखिर लागू गर्न सक्ने कमै छन्। सबैलाई अरूको सम्पत्तिमा किन यति धेरै लोभ लाग्छ थाहा छैन। छोरी नहुनेलाई त थाहा नहोला म मान्छु तर आफ्नो पनि छोरी अरू कसैको बुहारी बन्ने छ। त्यो अवस्थामा अरूको छोरी आफ्नी बुहारी बनेर आउँदा उसले के के त्यागेर आएकी छ भन्ने कुरा किन बुझ्न सक्दैनौँ हामी ?

आफूले बुहारीलाई गरेको अनि भनेको कुरा आफ्नै छोरीलाई पर्दा के सहन सक्छौँ हामी ? पक्कै पनि सक्दैनौँ। त्यसैले अरूको छोरीमाथि दोष खोतल्न लाग्ने भन्दा पनि कसरी गुण धेरै बढाउन सकिन्छ भनेर लाग्नुपर्ने देखिन्छ।

अरूको सम्पत्ति होइन आफूले आफ्नो बनाउने मान्छेको योग्यता हेर्नुपर्छ जस्तो लाग्छ। यसो भन्दै गर्दा ममाथि अर्को आरोप पनि लाग्न सक्ला, कि बुहारीले पनि त्यो व्यवहार गर्न सक्नुपर्दैन भन्ने ? आफ्नो जन्म घर त छोडेर अरू कसैको घरलाई आफ्नो भनेर जान्छौँ भने त्यो घरलाई पनि आफ्नै घर बनाउन सक्नुपर्छ।

आफ्ना जन्म दिने बाबा आमाको स्थानमा अब कर्म दिने बाबाआमालाई राख्न सक्नुपर्छ। ती नै बाबाआमाले जन्माएको छोरा आफ्नो हुने तर जन्माउने बाबाआमा पराए बनाउने चलन पनि धेरै देखिन्छन् त्यो पक्कै पनि ठिक होइन।

सम्बन्ध मजबुत बनाउने वा टुक्र्याउँदै जाने भन्ने कुरा केवल दुई जनाको हातमा हुन्छ, त्यसैले दुवै पक्षले आ–आफ्नो ठाउँमा जिम्मेवारी राम्रोसँग समाल्न सके पनि घरमा दरार पैदा नहोला।

अनि अरूको छोरीलाई पनि आफ्नै छोरी मान्ने र अरूको बाबाआमालाई पनि आफ्नै बाबाआमा मान्न सक्ने हिम्मत राख्ने हो भने घर पक्कै पनि घर जस्तै बन्ने छ। अहिले बढेको सम्बन्ध बिच्छेद पनि क्रमशः घट्दै जान सक्नेछ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १२ : १५ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान