काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, बढ्दो सवारी सङ्ख्या तथा सवारी चाप, धुलो, धुवाँ लगायतका वायु प्रदूषणका कारण मानिसको जीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार वायु प्रदूषणमा पाइने हेभी मेटल्स, सिलिकन लगायतका हानिकारक तथा क्यान्सिरोजेनस तत्त्वका कारण मानिसहरूमा दम, खोकी, छातीको सङ्क्रमण, क्यान्सर जस्ता दीर्घकालीन रोगको सङ्क्रमण बढ्दै गएको छ । अहिले काठमाडौँमा बढेको वायु प्रदूषणको कारण स्वास्थ्यमा कस्ता असर देखा पर्छन् ? कसरी यो समस्याबाट बच्न सकिन्छ ? कस्ता व्यक्तिलाई धेरै समस्या देखा पर्ने हो ? उपचार तथा बच्ने उपायका बारेमा आधारित भएर वातावरणविद् भूषण तुलाधरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
वायु प्रदूषण भनेको के हो ?
हाम्रो जनस्वाथ्यको लागि एउटा खतरा हो । नेपालका दुई तिहाई घरमा अझै दाउरा, गुइँठा बाल्ने चलन छ, यसले वातावरण र जनस्वास्थ्य असर पारेको छ ।
अहिले हामी कुन अवस्थामा छौँ ?
काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पर्दछ । घरभित्रको प्रदूषण पनि नेपालमा धेरै छ विशेष गरी यो जाडो महिनामा बढी वायू प्रदूषण हुने गरेको छ । नेपालमा वर्षेनी करिब ४२ हजार मानिसको बायु प्रदूषणको कारणले ज्यान जाने विभिन्न अध्ययनले जनाएको छ । फोक्सो, मुटुका रोग र मस्तिष्क रोग पनि लागेको छ ।
वायु प्रदूषण बढ्नुको कारण के हो ?
कुनै पनि कुरा बाल्दा चाहे त्यो घर भित्र बाल्ने दाउरा, गाडीको धुवा, धुलो,उद्योगहरूबाट प्रदूषण हुने गर्दछ । यसले वायु प्रदूषण गरेको छ ।
जाडो सुरु भएपछि वायु प्रदूषण किन बढ्छ ?
पानी पर्न बन्द हुन्छ । पानीले फोहोर पखाल्छ । जाडोमा चिसो हावाले उपत्यकाको बेलुकाको प्रदूषण बाहिर जान सक्दैन । दिउसो हल्का हावा चल्छ र त्यो बाहिर जान्छ । जाडोमा आगो बालेर ताप्ने काम बढी हुन्छ र उद्योगहरू पन धेरै जाडोमा नै चल्छन् ।
एउटा विज्ञको हिसाबले अहिले प्रदूषणलाई कत्तिको ठुलो समस्या देख्नु भएको छ ?
अहिले वायु प्रदूषणले स्वस्थमा असर गर्दछ भनेर धेरै अध्ययनहरुले जनाएका छन् । श्वास प्रश्वासमा र रक्तनलीदेखि लिएर सम्पूर्ण शरीरमा नै असर गर्दछ । त्यसैले प्रदूषणबाट बच्नु पर्दछ ।
घर भित्र र बाहिरको प्रदूषणलाई हामीले कसरी कम गर्न सक्छौँ ?
घर भित्रको प्रदूषण भनेको दाउरा, गुइँठा बाल्ने छ भने सके सम्म धुवा कम गर्ने व्यासको प्रयोग गर्ने, विद्युतीय चुलोहरू प्रयोग गर्ने, विद्युतीय चुलो कम खर्चमा चलाउन सकिन्छ । बाहिरको प्रदूषणले थोरै बाटो भए हिँड्ने साइकलको प्रयोग गर्ने,आफ्नो यातायातको धुवा व्यवस्थापनमा गर्ने कम गर्ने, फोहोरको व्यवस्थापन गर्ने,उद्योग धन्दाबाट कम धुवा निकाल्ने प्रवृत्ति अपनाउने । प्रदूषण नियन्त्रण गर्न आफूले घर भित्र बाट सुरु गर्नु पर्दछ ?
वायु प्रदूषण नियन्त्रणको लागि विभिन्न निकायले पनि आवाज उठाएका छन् तर पनि यो कम किन भएन ?
काठमाडौँ उपत्यका वायु गुणस्तर कार्य योजना मन्त्री परिषद्बाट पादीद भए नीति आएको थियो त्यो कार्यान्वयन भएन । सरकारले नीति मात्र ल्याएर हुँदैन नियत पनि हुनु पर्याे सरकारले बजेट पनि छुट्टाउनु पर्दछ ।
यो बढ्दै गएर भोलिको दिनमा कस्तो समस्या निम्त्याउँछ ?
हामी भन्दा प्रदूषित सहरहरू छन् त्यहाँ विद्यालय र उद्योगहरू बन्द गर्नु परेको थियो । त्यसैले यसले शिक्षामा र अर्थतन्त्रमा र जनस्वास्थ्यमा असर गर्दछ । यो वायु प्रदूषणलाई कम गर्न सकिन्छ, पेट्रोल डिजेलबाट चल्ने सवारी भन्दा विद्युतीय चलायौँ भने हामीले हाम्रो देशको विद्युत् प्रयोग गर्छौँ, साइकल चढ्यौँ भने त्यसले स्वास्थ्यमा धेरै फाइदा गर्दछ ।
अहिलेको अवस्थामा के गर्याे भने भावी पुस्तालाई सजिलो हुन्छ ?
यातायात मन्त्रालयले बसहरू व्यवस्थापन गर्नु पर्दछ । फोहोर मैला व्यवस्थापन गर्नु पर्दछ । धेरै काम हरू स्थानीय तह बाट गर्नु पर्ने हुनाले विशेष काम नगरपालिकाको हुन्छ । वातावरण मन्त्रालयले सबैलाई समेटेर कार्य योजना बनाएर अगाडी जाँदा राम्रो हुन्छ । निजी क्षेत्रले पनि सहयोग गर्नु पर्दछ ।
अन्तिममा, वायु प्रदूषणबारे के सन्देश दिन चाहनु हुन्छ ?
आफूले गर्ने हुन सक्ने प्रदूषणलाई कम गर्ने, प्रदूषण बढी भएको ठाउँमा जान्छौँ भने मास्कको प्रयोग गर्ने, प्रदूषणको विरोधबारे आवाज उठाऔँ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया