विज्ञापनले बनाउँदैछ बिरामी « Khabarhub

विज्ञापनले बनाउँदैछ बिरामी

गाउँमै उत्पादन हुने अन्नमाथि अन्याय !



अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्स्ट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु। मकैभटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो। बाहिरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो।

मकै हाम्रो भान्सामा पाइने सस्तो तर ऊर्जा दिने खाना हो। हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका ‘मकै पनि खाजा खाने हो र ?’ भनेर नाक खुम्च्याउँछन्। अनि त्यही मकैलाई अचेल मल्टिप्लेक्स हलहरुमा ‘पप कर्न’का रुपमा बेच्न राखिएको हुन्छ।

हाम्रा बालबालिका दुई मुठी मकैलाई दुई–तीन सय रुपैयाँसम्म तिर्छन्। किनकि, पप कर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरुमै देखाइन्छ।

मैले चिनेकी एक महिला मित्र छिन्। एक दिन उनले बडो गर्वका साथ आफ्नो छोराले बिहानको खाजामा कर्नफ्लेक्सबाहेक केही नखाने बताइन्।

‘किन यस्तो महगो खाना दिएको। फेरी कर्नफ्लेक्स बनाउँदा त त्यसमा भएका धेरै पौष्टिक तत्व हराइसक्छ। बरु मकैको च्याखलादिनुस् न’, मैले भनें।

‘ओहो , मेरो छोराको घाँटीबाट मकैको च्याँखला कसरी जान्थ्यो होला रु मकै त नुरुले पचाउन पनि सक्दैन नि’, ती महिलाले मलाई कर्के नजरले हेरिन्।

ती महिलालाई थाहा रहेनछ, आखिर कर्न फलेक्स मकैबाटै बन्छ। उनी पनि पत्रपत्रिका र टिभीमा आउने विज्ञापनबाट प्रभावित थिइन्।

उनलाई वास्तविकता थाहा थिएन र महँगो मूल्य तिरेर सुक्ष्म पोषकतत्व नभएको कर्न फलेक्स् घोरालाई खुवाइरहेकै थिइन्।

फर्सी फालेर ‘पम्कीन केक’
विज्ञापनको प्रभाव कस्तो भने मानिसहरु तरकारी पसलबाट गोलभेँडा ल्याएर अचार बनाउन जाँगर गर्दैनन्, फर्सीको लेदो मिसाइएको ‘टोम्याटो केचप’ किनेर घरमा ल्याउँछन्। भित्र चिज के छ थाहा हुँदैन, बाहिरको झिलीमीली लेबलबाटै प्रभावित भइहाल्छन्।

आफ्नै बारीमा फलेको फर्सी नखानेहरु विज्ञापनको भाउँतोमा सभ्य, शिक्षित र आधुनिक बन्ने नाममा डिपार्टमेन्ट स्टोरबाट ‘पम्पकिन केक’ या ‘पम्पकिन सुप’ खान चाहिँ अघि नै सर्छन।

फर्सी त सस्तो तरकारी भयो, त्यसको के मूल्य रु शहरीयाहरु शिक्षित र आधुनिक त भएका छन्, तर फर्सीको हलुवा बनाएर खाने चेतना भने उनीहरुमा पटक्कै जागेन। अङ्ग्रेजी नाम भएकाले फर्सीमाभन्दा बढी पौष्टिक तत्व ‘पम्पकिन केक’मै हुन्छ जस्तो गलत ठम्याइ।

हो, विहानदेखि बेलुकासम्मको हाम्रो खानामा विज्ञापनले नकारात्मक असर पारिरहेको छ। ‘सर्ट कमर्शीयल ब्रेक’मा आउने विज्ञापनहरुले हाम्रो ‘हेल्थ ब्रेक’ गरिरहेका छन्। विज्ञापनको चमक धमकमा हामी दृष्टिविहीन भएका छौं।

कहाँसम्म भने बालबालिकालाई सकेसम्म चिनीले बनेका पदार्थ नखुवाउन चिकित्सकहरुको सल्लाह हुने गर्छ। तर, विज्ञापनले दूधमा पनि चकलेट हालेर खुवाउनुपर्ने अवस्थामा मानिसहरुलाई पुर्‍याइदिएको छ।

त्यस्ता विज्ञापन हेर्ने बच्चाहरु पनि विशुद्ध दूधको साटो चकलेट हालेको दूध खान झगडा गर्छन्। चकलेट हालिएको दूध खाँदा सानैदेखि बच्चाको दाँत बिग्रन्छ, मोटोपन बढ्छ।

विज्ञापनले सबैको मुखमा बुझो !
यस्ता भ्रामक विज्ञापन रोक्न मैले र अधिवक्ता विष्णु तिमल्सिनाले अदालतमा मुद्दा दायर गरेका थियौँ। सर्वोच्च अदालतले कानुनको दायरामा रहेर मात्रै विज्ञापन दिन र चाउचाउ, औषधिलगायतमा भ्रामक विज्ञापनलाई नियमन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो।

तर त्यसलाई सरकारले सुनेन। अदालतको आदेश कुनै पत्रिकाको समाचार पनि बनेन। ती पत्रिकाका मुख पनि त तिनै विज्ञापनले बुझो लगाएका छन्।

ब्रिटेनमा बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै ‘एक्सन अन जंक फुड मार्केटिङ’ नामक समूहले सरकारलाई खानाका बारेमा भ्रामक जानकारी दिने विज्ञापनमाथि रोक लगाउन या ‘प्राइम टाइम’मा ती विज्ञापन प्रसारण गर्न नदिन दबाब दिइरहेको छ।

नेपालमा भने गलत विज्ञापनकविरुद्ध बोल्ने कुनै समूह छैन। विज्ञापनदाता कम्पनी र व्यापारिक घरानाले सबैको मुखमा बुझो लगाइदिएका छन्।

टीआरपीको यो होडमा हामी विज्ञापन प्रसारण गर्ने टेलिभिजन च्यानललाई त केही भन्न सक्दैनौं, तर दर्शकहरु नै विवेक प्रयोग गरेर त्यस्ता विज्ञापनको प्रभावमा पर्नुहुँदैन।

अब जाग्न बेला भएन ? अब स्कुलका शिक्षक–शिक्षिका, आमा, बुबा, बाजे बज्यैहरु नै यस्ता विज्ञापनको चंगुलबाट बच्नुपर्छ र आफ्ना बालबालिकाहरुलाई स्वस्थ र पौष्टिक घरकै खाना खान प्रेरित गर्नुपर्छ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ४० बजे

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १