सम्झनामा 'इरफान'  | Khabarhub Khabarhub

सम्झनामा ‘इरफान’ 



बलिउडमा अभिनेता इरफान खान जीवन्त अभिनय गर्ने कलाकारमा पर्छन् । फिल्म र थियटरका चम्किला तारा इरफानले अभिनयकै कारण दर्शकको मन जित्दै आएका थिए । बलिउड हुँदै हलिउडसम्मको फिल्ममा काम गरेका इरफानले सन् २०२० को अप्रिल २९ मा संसार छाडे । ५४ वर्षको उमेरमा भएको उनको निधनको दुःख बलिउडसँगै संसारकै कलाप्रेमीलाई भयो । उनको भौतिक शरीर नभएता पनि उनी आफ्नो काम मार्फत दर्शकको मनमा छन् । उनले गरेका कामहरुले छुटै छाप छोडेको छ । पात्रलाई आफूमा ल्याउने र आँखा मार्फत भाव व्यक्त गर्ने इरफानको कामहरु अझै पनि धेरैका लागि ‘सिकाई’ बनेकै छ । उनको कामले आज पनि क्यारेक्टरमा जीवन खोज्नेलाई प्रभावित बनाउने गरेको छ ।

अन्तिम फिल्म अंग्रेजी मिडियममा देखिएका इरफानले स्वास्थ्यमा आएको समस्याकै कारण प्रमोसन गर्न सकेका थिएनन् । फिल्मको प्रमोसनको समयमा अडियो मार्फत फ्यानलाई सम्बोधन गरेका इरफानको स्वास्थ्य राम्रो नरहेको अनुमान धेरैले लगाई सकेका थिए । आमा गुमाएको केही दिनमै इरफानले संसार छाडेका थिए ।

पहिलो पटक ‘पान सिंह तोमार’ मार्फत नेशनल अवार्ड जितेका इरफान त्यो फिल्म भन्दा अगाडि टुटी सकेका थिए । आफूलाई काम गर्न मन लागेको कथा नपाउँदा बलिउडमा मसाला फिल्ममा देखिरहेका उनले विश्राम लिने सोच समेत बनाएका थिए । जीविकोपार्जनकै लागि उनी अभिनयलाई मारेर काम गर्ने सोचमा थिएनन् । उनले नजिकका साथीलाई बाँकी समयमा थियटरमा केन्द्रित हुने समेत बताएका थिए ।

तर, इरफानको मेहनतलाई नजिकबाट नियालिरहेका साथी तिमांशु धुलियाले उनलाई अन्तिम समयमा ‘पान सिंह तोमार’ अफर गरे । फिल्मको स्क्रिप्ट नै सुनाउने समयमा निर्देशक तिमांशुले इरफानलाई भनेका थिए ,’कहाँ घर जाने कुरा गर्छौ । आउ, पहिला नेशनल अवार्ड जित्ने फिल्म गर ।’ त्यसपछि कथाले इरफानको मन छोयो र उनले फिल्म गरे । फलतः त्यो फिल्मले उनको अभिनय क्षमतालाई अझै चिनायो । त्यसपछि उनले आफूले चाहे अनुसारको फिल्म गर्दै बलिउडमा अगाडि बढे ।

उनको करियरमा तिमांशु झैँ विशाल भारद्वाज पनि खास छन् । उनले चाहेको फिल्म गर्ने अवसर यी निर्देशकले दिएका थिए । इरफानकै भाषामा भन्ने हो भने विशालले उनलाई तत्कालिन समयको फरक फिल्म ‘मकबुल’ दिए । जहाँ उनले एउटा प्रेम जीवनलाई बाच्ने अवसर पाए । एनएसडीबाट पासआउट भएपछि पनि इरफानलाई बलिउड यात्रा सजिलो थिएन । उनले चाहेको काम गर्न सकिरहेका थिएनन् । टिभीमा बल्लतल्ल पुगेला इरफानले काम गर्न लागेको फिल्म ‘सलाम बम्बे’ बाट पनि उनको रोल काटियो । यस्ता विभिन्न घटना भए । तर, इरफान हारेनन् । उनी लडिरहे । र , यो नाम बनाए । कुनैबेला ‘जुरासिक पार्क’ हेर्न पैसा नहुने इरफान यसकै सिरिज ‘जुरासिक वर्ल्ड’ मा एक कलाकार बने । यो संघर्ष चुनौतीपूर्ण थियो ।

बाल्यकालमा इरफान

इरफानको बाल्यकाल जयपुरमा बित्यो । उनी सामान्य परिवारका थिए । उनका पिता शिकारी थिए । उनी पितासँग शिकार खेल्न जान्थे,बन्दुक पनि चलाए तर कहिले कुनै पशु पंक्षीको हत्या गरेनन् । उनले एक अन्तर्वार्तामा भनेका थिए कि उनी पशु पंक्षीको परिवारको बारेमा सोच्थे । उनलाई शिकार खेल्ने रहर कहिले भएन । घरका जेठा छोरा इरफालाई कहिले उनका बुबाले यो बन भनेर फोर्स गरेनन् ।

उनले केवल इरफानलाई कुनै एउटा शिप सिक्न प्रेरित गर्थे । इरफानका पिता शिक्षा भन्दा पनि सीपले मानिसलाई अगाडि बढाउने सोचका थिए । इरफानको पनि गन्तव्य अभिनय सिकेर फिल्म थियो । तर , त्यो सहज थिएन । जतिबेला उनले एनएसडीमा जाने सोच बनाए , उनका पिताले संसार छाडे । त्यतिबेला उनलाई निकै डर लागेको थियो , किनकी उनी घरका जेठा छोरा थिए ।

बुबाको अन्तिम समयमा उनी डाक्टर बोलाउन तुफाननै बनेको धेरै अन्तर्वार्तामा बताएका छन् । तर , डाक्टर लिएर घर आइपुग्दा उनको पिताले संसार छाडी सकेका थिए । त्यसपछि उनलाई एनएसडीसम्मको यात्रा नै कठिन थियो । किनकी उनको आमा चाहन्थिन कि उनी जयपुरमै केही अफिसियल काम गरुन् । र , सँगै बसून् । तर , इरफानको सपना त अर्कै थियो । उनी रोकिने बाला थिएनन् । उनले नेशनल स्कुल अफ ड्रामामा एडमिसन पाएपछि आमालाई ‘प्रोफेसर’ बन्छु भन्दै जयपुर छाडेर दिल्ली लागेका थिए ।

पहिलो काममै फेल

एनएसडीमा पढ्दा पढ्दै उनले एउटा सिरियलमा काम गर्ने अवसर पाए । त्यहाँ उनको सानो दृश्य थियो । स्वतन्त्रताको लागि लडिरहेका एक लिडरलाई उनले पक्राउ गर्ने दृश्य थियो । एनएसडीका विद्यार्थी भएकोले उनी आर्टमा विश्वास राख्थे । उनले स्वतन्त्र सेनानी देख्दा नै विश्वास गर्न सकेनन् । किनकी उनले एनएसडी क्यारेक्टर देखिनु पर्छ भन्ने सिकेका थिए तर , त्यहाँ दृश्य अर्कै थियो ।

स्वतन्त्रताको अगुवाइ गर्ने लिडरमा त्यो क्यारेक्टर उनले देखेनन् । तर , काम त गर्नु थियो । पहिलो काममा उनी निकै नर्भस भए । बन्दुक देखाउदै पक्राउ गर्ने दृश्यमा उनको हात काँप्यो । त्यसपछि उनलाई त्यहाँ रहेका प्रायले काम गर्न नसक्ने कलाकार भने । यद्यपि उक्त समयमा कलाकार निकै कम हुने भएकोले उनले त्यो दृश्य जसरी पनि सके । र , त्यसबापत तिन सय रुपैयाँ पनि पाए । इरफानले जीविकोपार्जनकै लागि काम गर्दै गए । तर , त्यो समयमा काम पाउन सहज थिएन । निकै मेहनत गर्नु पर्ने । उनी स्ट्रगल त गरिरहेका थिए र स्पष्ट पनि थिए कि मेरो गन्तव्य यो हो भनेर । त्यसै अनुरूप उनी अगाडि बढ्दै गए ।

पहिलो फिल्मकै रोल काटियो

इरफानले एनएसडीबाट निस्किएर निकै स्ट्रगल गरे । उनले थियटर र टिभीमा साना तिनाकाम गरे । तर , उनको गन्तव्य त्यो थिएँन । यसैबीच उनलाई मिरा नायरको निर्देशनमा बन्ने फिल्म ‘सलाम बम्बे’ को अफर आयो । इरफान निकै खुसि भए । त्यो फिल्मको लागि झन्डै २ महिना वर्कसप पनि भयो । तर , छायाँकन हुने समयमा इरफानलाई उनको रोल काटिएको बताइयो ।

फिल्मका अन्य कलाकार र इरफानको हाइट नमिल्ने हुँदा फ्रेमिङ गर्न समस्या हुने भन्दै उनको रोल काटिएको जानकारी दिइयो । उनले त्यो थाहा पाउँदा निकै रोए । किनकी बर्षौको मेहनत फल पाउने बेला थियो । त्यो समय इरफान निकै टुटेका थिए । उनलाई लागेको थियो कि ,’मेरो पनि कोही यस मायानगरीमा भएको भए ।’ तर , उनले त्यसलाई पनि सिकाइकै रुपमा लिए । त्यसपछि दिनमा उनी तयार भए कि यहाँ जे पनि हुनसक्छ ।

वारियरले व्युताएको अभिनय

इरफानले झन्डै दशक संघर्ष गरिसकेका थिए । तर , फिल्म गर्न पाएका थिएनन् । टेलिभिजनकै सिरियल र थियटर मार्फत उनले जीविकोपार्जनसँगै आफ्नो सपनालाई अगाडि बढाईरहेका थिए । उनलाई सिरियलमा पनि कम बोलाइन्थ्यो । किनकी उनले फटाफट डायलग बोल्ने भन्दा पनि दृश्यलाई हाउभाउले पूर्ण गर्थे । केही उनको तारिफ पनि गरे तर , अधिकांसले उक्त समयमा खर्च बढाउने कलाकार भन्थे ।

दशकको संघर्ष चल्दै गर्दा उनलाई आसिफ कपाडियाको ‘वारियर’ फिल्म गर्ने अवसर मिल्यो । त्यसले उनको अभिनयलाई व्युतायो । उनले त्यसमा क्यारेक्टर बाच्ने मौका पायो । फिल्मको वर्कशप र छायाँकनको लागि तिन / चार महिनाको समय लागेको थियो । जहाँ उनले क्यारेक्टर बाच्ने मौका पहिलो पटक पाएका थिए । किनकी टिभीको स-साना क्यारेक्टरबाट उनी दिक्दार भएका थिए ।

त्यसपछि उनी फिल्म गर्दै अगाडि बढे । ‘हासिल’ नामक फिल्म हेरेपछि विशाल भारद्वाजले इरफानलाई ‘मकबुल’ अफर गरे । त्यो समयमा आएको ‘मकबुल’ रेगुलर लभ स्टोरी थिएन । त्यसको रिलिजपछि इरफानले फर्केर हेर्नु परेन । उनी निरन्तर अभिनय यात्रामा अगाडि बढ्दै गए ।

अभिनय छाड्न लागेका थिए इरफान

इरफान एनएसडीको विद्यार्थी भएकोले पनि नयाँ किसिमको फिल्म चाहन्थे । उनले क्यारेक्टरलाई कहिले रिपिट गर्न चाहेनन् । उनी प्राय हरेक भूमिकामा नयाँपन खोज्थे । स्ट्रगलको समयमा पनि उनले यश चोपडा , सुभाष घई कहाँ फिल्म माग्न कहिले गएनन् । किनकी उनलाई थाहा थियो , त्यहाँ आफ्नो लागि स्थान छैन भन्ने । ‘मकबुल’ पछि इरफान बलिउडमा स्थापित त भए । तर , आफुले चाहेको फिल्म गरिरहेका थिएनन् ।

कमर्सियल भ्यालु बढी भएको फिल्म देखि उनी दिक्दार हुन् थालेका थिए । उनलाई ‘मकबुल’ जस्तै फरक फिल्म चाहिएको थियो । तर , मसाला फिल्म गर्दा गर्दै उनको अभिनयको प्यास मर्न लागेको थियो । त्यसपछि उनले फिल्म छाडेर थियटर मात्र गर्ने सोच पनि बनाएका थिए । नयाँ पात्र अनुभव गर्न नपाएका इरफानलाई त्यहिँ समयमा ‘पान सिंह तोमार’ अफर भयो ।

उनको अभिनय क्षमतालाई बुझेका साथी तिमांशु धुलियाले फिल्म अफर गरे । इरफानले पनि खोजेको जस्तै क्यारेक्टर पाएपछि खुसि भए । एउटा पुलिस कसरि डाकु बन्छ भन्ने कथा देखाइएको फिल्म मार्फत इरफानले नेशनल अवार्ड जिते । फिल्मलाई दर्शक र समीक्षकले रुचाए । त्यसपछि इरफानले फरक विषय बोकेको फिल्म पाउन पनि थाले र गर्न पनि थाले । त्यसपछि उनले द लन्चबक्स , मदारी , पिकु , लाइफ अफ पाई , हिन्दी मिडियम जस्ता फिल्म गरे । जसले उनको अभिनय क्षमतालाई दर्शक समक्ष पुर्‍यायो । उनी खुसि थिए , किनकी उनले गर्न चाहेको यस्तै फिल्म थियो ।

 (इरफानले दिएको विभिन्न अन्तर्वार्ताको सहयोगमा)

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५३ बजे

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार