काठमाडौँ– थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।

‘हामीले नेपाली पन बोकेको, नेपाली परिवेशको, नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँछ नै नेपाली कला, संस्कृतिलाई समेत प्रवर्द्धन गर्छु अध्यक्ष केसीले भने । उनले नेपाली फिल्म के/कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिनु पर्ने देखेको बताए । ‘हामी कहाँ के कस्ता फिल्महरू बनिरहेका छन । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केही फिल्म मात्र देखाउने छौँ’ उनले भने । अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ३ दर्जन फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरूको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरू मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । ‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षाअनुरूप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले थपे, ‘यसै गरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिसहरू अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ । ’महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरूता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए । कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए । ‘हामीले नेपाली फिल्मको बजारलाई अगाडि बढाउन यस्ता गतिविधिले मद्दत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनु पर्छ’ नीरले भने ।

यस्तै करिश्माले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडि बढ्ने प्रेरणा मिल्ने बताइन् । ‘हामीले विदेशी मार्केटमा नेपाली फिल्मको बढाउने गतिविधिले नै भोलि दर्शक बढ्ने हुन् । झनै यस्तो महोत्सवले राम्रा फिल्म हेर्ने मौका पाउँछन् । यसको सही सदुपयोगिता हुनु पर्छ’ करिश्माले भनिन् । कार्यक्रममा उपस्थित सरोज खनालले आफूले नेपाली फिल्म प्रवर्द्धनका लागि गरिने कार्यक्रममा सहभागी हुनुका साथै सहयोग गर्ने पनि बताए ।
 
‘यस किसिमको कार्यक्रमले हाम्रो कला , संस्कृतिलाई टेवा पुर्याउँछ । म यसमा सहभागी भएर प्रस्तुति दिन समेत आतुर छु’ उनले भने । अभिनेत्री निरूता सिंहले आफू नेपाली फिल्मको प्रवर्द्धनका निमित्त सदैव साथमै रहेको बताइन् । मुम्बईबाट नेपाल आइपुगेकी निरूताले अब नेपाली फिल्मको अन्तराष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरू जुट्नु पर्ने बताइन् । ‘हाम्रो नेपाली पन बोकेको फिल्म देखाएर दर्शक बढाउनु पर्छ । अब हामीले नेपालमै मात्र हाम्रो बजार सीमित राख्न हुदैन’ निरूताले भनिन् ।
नेफ्टा अवार्ड मार्फत नेपाली कलाकारहरूलाई विदेशी भूमिकामा लगेर अवार्डको सुरुवात गर्ने मनोज केसीले अवार्ड कार्यक्रमले दर्शक बढ्नेमा आफू विश्वस्त रहेको बताए । घोषणा कार्यक्रममा नम्रता सापकोटा, गायक विक्रम जंग शाह, अभिनेता भुवन केसी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा, फिल्म लेखक तथा समीक्षक सामिप्य तिमल्सेना, अभिनेता यशराज ग्राच, अभिनेत्री पुजना प्रधान, निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकास रौनियार, गायक यम बराल, कलाकार दमन रूपाखेती, कलाकार सुलेमान शंकर ‘इकु’ लगायतको उपस्थिति रहेको थियो ।


 
                            










प्रतिक्रिया