पानी परेपछि दाङका किसान खुशी « Khabarhub

पानी परेपछि दाङका किसान खुशी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिए। उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका केही गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ। घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, गढवा, राजपुरलगायतका  गाउँपालिकाका केही ठाउँमा  छिटपुट रूपमा मात्र रोपाइँ सम्पन्न भएका छन् । तीमध्ये केही ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीउ पनि मर्न थालेकोमा गए राति परेको पानीले धेरै राहत मिलेको किसान बताउँछन् । केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेका छन् । कुनै ठाउँमा भने अझै बीउसमेत राख्न सकेका छैनन् ।

यसैबिच गएरातिदेखि यस जिल्लामा पानी परेकाले किसान खुसी भएका छन् । आज बिहानैदेखि यहाँका  किसान खेतीपातीको काममा व्यस्त छन् । मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतीपातीको काममा व्यस्त देखिन्छन् । जिल्लामा छिटपुट रूपमा वर्षा भए पनि खोला नै आउने गरी अझै पानी परेको  थिएन, गएरातिदेखि पानी परेकाले अब खेतीपाती हुन्छ कि भन्ने आशा पलाएको छ, पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय  भानु चौधरीले भने ।

उनी भन्छन्,“कुलोमा कहिले पानी आउला र  धान रोपाइँ गरौँला भनी कुरेर बसेको थिएँ । रातिदेखि ठूलो  पानी परेपछि आज बिहानैदेखि  खेत जोत्न सुरु गरेको छु ।”  यसै गरी पानी परे अबको चार दिनमा धान रोपाइँ सुरु गर्ने सकिने बताए । उनले थपे ,“ब्याड  रोप्नका लागि तयार भइसकेको छ अब यसै गरी निरन्तर पानी परेपछि ट्र्याक्टर प्रयोग गरेपछि तीन चार दिनमै रोपाइँ गर्ने गरी तयारीमा छु ।” उनले यस पटक  धान रोपाइँ गर्दा आवश्यक पर्ने मल नहुँदा उत्पादनमा कमी आउने बताए ।

त्यसै गरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोपाइँ गर्न नसकेको बताए। समयमा पानी नपरेपछि धानको बीउ बोरिङको पानी प्रयोग गरेर राखेको बताएका उनले गए राति परेको पानीले केही आशा पलाएको बताए । उनले यहाँका अधिकांश खेत आकाशे पानीको भरमा हुने र पर्याप्त वर्षा नहुँदा  रोपाइँ गर्न समस्या हुने बताए ।

तुलसीपुर नगरपालिका–६ रजौराका  ५५ वर्षीया ज्ञानु चौधरीले पनि गए राति परेको पानीले आफूजस्ता सयौँ किसानलाई धेरै राहत मिलेको बताए। वर्षा निरन्तर भएमा  एक हप्ताभित्र धान रोपाइँ  सुरु गर्ने  चौधरीले बताए ।

यसैबिच १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस जिल्लामा पनि सम्पन्न भएको छ ।  जिल्लाको  तुलसीपुर,  घोराही,  लमही ,राप्ती गाउँपालिका लगायतका स्थानमा रोपाइँ महोत्सव गरिएको छ ।  तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको धान रोपाइँ  वडा नं १ को  भमके गाउँमा  सम्पन्न भएको छ ।

जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिएकोमा यस वर्ष ३९ हजार ४०० हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्ण सङ्कर जातका धान लगाएका छन् ।

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका धान लगाउने गरिएको छ । जिल्लामा यस पटक धान रोपाइँको लागि आवश्यक पर्ने रासायनिक मलकोसमेत अभाव रहेको  छ । जिल्लामा युरिया मलको अभाव भएपछि किसानले मल नहालेर नै धान रोपाइँ गर्न थालेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : १३ बजे

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट

दुबई– कतारको प्रमुख प्राकृतिक ग्यास निर्यात केन्द्रमा पुनः सञ्चालनको तयारी

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ