रवि लामिछानेको अस्पष्ट राजनीति र अनुत्तरित प्रश्नहरू | Khabarhub Khabarhub

रवि लामिछानेको अस्पष्ट राजनीति र अनुत्तरित प्रश्नहरू



काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर संगठन विस्तारका लागि देश दौडाहामा छन् ।

काठमाडौँको राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तार गरिरहेका छन् ।

वाग्मती प्रदेशको चितवनमा पहिलो प्रदेश भेला राखेका उनले क्रमिक रुपमा प्रदेश नम्बर १ को विर्तामोड, मधेश प्रदेशको मोरङ, गण्डकी प्रदेशको पोखरा लगायतमा कार्यक्रम गरिसकेका छन् ।

हालसम्मको उनको कार्यशैली हेर्दा उनी प्रदेश केन्द्रित तयारीमा रहेको स्पष्ट हुन्छ । क्रमिक रुपमा उनी लुम्बिनी प्रदेशको बुटवल र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको मुकाम धनगढी, महेन्द्रनगर लगायतका ठाउँमा कार्यक्रम गर्ने तयारीमा छन् ।

मुलुकका विकृति र विसंगतिलाई पत्तासाफ पार्छु भन्दै स–साना कुरा गरेर जनताको वाहवाही र ताली पाएका उनले मुलुक विकास गर्ने पार्टीको लाइन, मार्गदर्शन र सिद्धान्तबारे खास कुरा सार्वजनिक गर्न सकिरहेका छैनन् ।

त्यसैले लामिछानेले राजनीति गर्न जान्दैनन् भन्ने तप्का बढिरहेको छ । यति मात्र होइन, उनको अहिलेको खर्च कसरी जुटेको छ ? अनेकन प्रश्न उनीमाथि तेस्रिरहेका छन् ।

अस्पष्ट राजनैतिक दर्शन र विचार

रवि लामिछानेले अहिलेसम्म आफ्नो पार्टीको विचार, दर्शन मार्गदर्शक सिद्धान्त यो नै हो भन्न सकेका छैनन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्त हो ।

मुलुकको प्रमुख शक्ति नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी वामपन्थी पार्टी हुन् भने मधेशवादी पार्टी पनि वामपन्थी धारमा छन् । राष्ट्रिय जनमोर्चाबाहेक अरु पार्टीले संघीयता स्वीकार गरेका छन् ।

राप्रपा र राप्रपा नेपालले गणतन्त्र स्वीकार गरेको स्थिति छैन । उनीहरु अझै पनि हिन्दू राज्य र संवैधानिक राजसंस्था चाहन्छन् । निर्वाचन आयोगमा दर्ता भएका राष्ट्रिय  र अरु पार्टीका पनि आ–आफ्नै मार्गदर्शक सिद्धान्त छन् ।

निर्वाचन आयोगमा दर्ता भएर प्रमाणपत्र ग्रहण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै मार्गदर्शक सिद्धान्त के हो भन्ने जनतालाई थाहै छैन । उनी भन्छन्, हामी संघीयता, गणतन्त्र पनि स्वीकार गर्दछौँ । तर बाहिरी भाषणमा भने उनी वर्तमान राज्य व्यवस्था र प्रणालीमाथि तीव्र वितृष्णा व्यक्त गरिरहेका छन् ।

पोखराको एक कार्यक्रममा सनातन धर्मलाई पनि उनीहरुले अंगिकार गरेको देखिन्छ । त्यसैले उनको खास राजनैतिक लाइन के हो भनेर बुझ्न सकिने अवस्था छैन । त्यसैले पनि उनले राजनीति गर्न जान्दैनन् भनेर बेलाबेलामा टिप्पणी भइरहेका छन् ।

मुलुक बनाउन पार्टीको खास दर्शन चाहिन्छ । त्यही दर्शनको आधारमा जनताले चुनावमार्फत भोट दिने हुन् । लामिछानेका भाषणलाई केलाउने हो भने उनलाई राजनीति गर्न आउँदैन तर विदेशमा अलपत्र पारिएका व्यक्तिको रिपोर्ट बनाएर ब्रोडकास्ट गर्न राम्ररी आउँछ ।

‘मलाई राजनीति आउँदैन तर बदमास र ठगलाई कसरी तह लगाउने भन्ने आउँछ । मलाई राजनीति आउँदैन तर भ्रष्टचारीलाई कारबाही गर्न आउँछ ।,’ उनको यो भाषण जनताका लागि सुन्न त ठिकै होला तर देश बनाउन भने योग्य छैन ।

अहिले उनीसँग यो मुलुकको भविष्य र यति वर्षमा यस्तो बनाउँछु भन्ने स्पष्ट रोड म्याप छैन । उनी अहिले आफू सांसद बन्न चाहिरहेको स्पष्ट देखिन्छ । त्यसैले उनी भन्छन्– ‘मलाई सिंहदरबार छिर्न दिनुहोस्, समानुपातिक मत दिनुहोस् । पूरा व्यवस्था बदल्छु । अवस्था बदल्छु ।’

चुनाव जिते पनि रवि एक्लैको बलले केही परिवर्तन हुँदैन । त्यसको लागि उनले आफ्नो बहुमतको सरकार बनाउनुपर्दछ । त्यसका लागि उनलाई धेरै वर्ष लाग्न सक्छ ।

चुनावी अभियानका लागि उठेको खर्चको स्रोतबारे अस्पष्टता

अर्को प्रश्न उनीमाथि यत्रो देश दौडाहाको खर्च कहाँबाट संकलन भइरहेको छ भन्ने पनि छ । आफ्नो करिअरको २० वर्षभन्दा लामो सञ्चार अनुभव बोकेका उनी केही वर्ष अमेरिकामा बसे ।

त्यहाँ उनले कति कमाए, कमाएनन् त्यसको हिसाब किताब नगरौँ । त्यसपछि उनी नेपाल आएर लामो समय नै टेलिभिजन कार्यक्रम चलाए । टिभी खोले ।

अहिले राजनैतिक पार्टी खोलेर बसुन्धरामा पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएका छन् । अहिले देशव्यापी उनको दौडधूप छ । यो सारा खर्च उनले कसरी धानिरहेका छन् । देशभर होटेलहरुमा गरिने कार्यक्रमको खर्च कहाँबाट जुटिरहेको छ?

पार्टी कार्यालयको घर आफ्नै सम्पत्ति भए त ठिकै छ । होइन र भाडा तिर्नुपर्दछ भने त्यो भाडा र त्यहाँका कर्मचारीको खर्च कहाँबाट पुगिरहेको छ? उनको खर्चको स्रोत के हो? प्रश्न उठ्न थालेको छ ।

उनले अमेरिकाबाट कमाएर ल्याएको पैसाले यो सारा गर्दैछन् कि टेलिभिजन कार्यक्रमबाट यो सारा सम्पत्ति कमाए? टेलिभिजन कार्यक्रमबाट मानौँ उनले मासिक २ लाख नै कमाए भने पछिल्लो दश वर्षमा यसको हिसाब सबैले गर्न सक्छन्?

तर नेपालमा एउटा कार्यक्रम चलाएर कति कमाइन्छ भन्ने कुरा छर्लङ्ग छ । के त्यो कमाइले उनको यो सारा खर्चको हिसाब मिलिरहेको छ? यति धेरै जम्बो टिम उनले कसरी चलाइरहेका छन् ? या सबै स्वयम् सेवक हुन्?

जनतालाई मिडियामार्फत समयमै जवाफ दिनुपर्छ । उसो त पार्टीको विधि बनाउँदा उनले कहिँकतैबाट चन्दा नलिने उनको घोषणा छ ।

उनी विकृति विसंगति, भ्रष्टाचारविरुद्ध खरो उत्रन्छन् भने आफ्नो आर्थिक पारदर्शिताबारे जनतालाई भन्नैपर्छ । यदि उनले खर्च विवरण सार्वजनिक गर्न सक्दैनन् भने उनको व्यक्तित्वमा पनि खोट लुकेको छ भन्न सकिन्छ ।

अर्को उनको पार्टीको झण्डाको विषयमा पनि अनेकन टिप्पणी आइरहेका छन् । झट्ट हेर्दा रविको पार्टीको झण्डा अन्तर्राष्ट्रिय दातृ निकाय युएनडीपीको जस्तो छ । अर्थात् कलर ब्राण्डिङमा उनले युएनडीपीको कपी  गरेका छन् ।

यो कलर म्याचिङमा कुनै रहस्य त छैन भनेर आजभोलि चर्चा हुन्छ । यसबारे पनि प्रश्न उठिसकेपछि उनले भन्न सक्नुपर्छ।

लामिछानेको चरित्रमाथि पनि बारम्बार प्रश्न उठ्ने गर्छ । उनले बहुविवाह गरेका छन् । परिवार चलाउन र सन्तुलनमा राख्न असफल पात्र मुलुक चलाउन कसरी सक्षम हुन्छन् भनेर पनि बारम्बार उनले आरोप खेपिरहेका छन् ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध यस्तै खाले आरोप लगाएर चुनाव लड्ने घोषणा गर्नुले पनि उनीमाथि नैतिक खोट देखिन्छ । १ सय ७५ निर्वाचन क्षेत्रमध्ये रवि जहाँबाट उठ्छन्, त्यहाँबाट लड्ने उनको घोषणा गर्दै उनले रविमाथि विभिन्न आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एक नाबालिग छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरू र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने । ! त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ ।’

न्यूज २४ टेलिभिजन च्यानलमामा रहँदा लामिछानेले टेलिभिजनको दुरुपयोग गरेको आरोप पनि उनले लगाएका छन् । भण्डारीले रविमाथि किन यस्तो आरोप लगाए ? यो कति सत्य हो आम नागरिकलाई केही पनि थाहा छैन । तर उनले यसबारे जनतालाई उत्तर भने दिनैपर्ने स्थिति देखिएको छ ।

हो, रविले टेलिभिजनबाट जनस्तरमा राम्रो छवि बनाए । त्यसैको क्रेडिट नै अहिलेको उनको चित्र हो । उनी नैतिक रुपमा गलत नहोलान् । सही नियत नै राखेर आगामी चुनावको तयारी गरेका होलान् ।

उनी जुन उद्देश्य लिएर हिँडेका छन् । पूरा गरुन् पनि । तर उनको चरित्र पारदर्शी हुनैपर्छ । टेलिभिजनको पर्दामा उनी जसरी यहाँको व्यवस्था र पात्रमाथि कड्किरहेका छन्, म त्यस्तै छैन भनेर उनले जनतालाई प्रमाण दिन सक्नुपर्छ ।

त्यसैगरी उनले पार्टीको स्पष्ट धारणा, कुन धारको पार्टी हो लोकतान्त्रिक, कम्युनिष्ट, राजावादी या हिन्दू ? यसको उत्तर नदिइकन मुलुकका सानातिना विकृति विसङ्गति अन्त्यको कुरा गरेर जनताको असन्तुष्ट मत बटुल्न खोज्नु एउटा ब्ल्याकमेलिङ गर्ने योजना मात्र हो ।

यदि उनी साँच्चिकै भ्रष्ट छैनन् भने उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्दछ  र अहिले भइरहेको खर्चको बारेमा जनतालाई छर्लङ पार्नुपर्दछ । झण्डाको रङको विषयमा पनि कुरा उठिसकेपछि उनले यसबारे सार्वजनिक रुपमा प्रष्टसँग भन्न सक्नुपर्दछ । त्यसपछि मात्र उनलाई सबैले विश्वास गर्ने वातावरण बन्नेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १० : ३० बजे

नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण

त्रिशूली– जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार

आजको कार्टुन : बाघलाई अनुहार देखाउने ऐना चाहियो

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ

कर्जा प्रवाह नबढेपछि फेरि घट्यो वाणिज्य बैंकको ब्याजदर

काठमाडौं – आर्थिक शिथिलताका कारण कर्जा प्रवाह नबढ्दा नेपालका वाणिज्य