दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १. प्रतिनिधि सभाको बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश 

 प्रतिनिधि सभा बैठकमा सत्य निरुपणसम्बन्धी विधेयक पेश भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द  प्रसाद शर्माले  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

 विधेयकमाथि दफावार छलफलमा भाग लिँदै  सांसद प्रदिप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रकृया विश्वसनीय बनाउनुपर्ने बताएका हुन् । सांसद ज्ञवालीले फास्टट्रयाकबाट विधेयक पारित गरिए परिस्थिति गिजोलिने बताए ।

विधेयकमा सरकारले गम्भीर मानव अधिकार उल्लंघन र मानव अधिकार उल्लंघन दुईवटा क्याटोगोरीमा बाँड्नु भएको पनि उनले जिकिर गरे । सो विषयमा  गम्भीरतापूर्वक छलफल गर्न जरुरी  रहेको पनि सांसद ज्ञवालीले जोड दिए  ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन्  ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा देखिएका  विकृतिको हल गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले सरकारलाई यथाशीघ्र समस्या समाधान गर्न निर्देशन दिएका हुन्  ।

प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले विश्वविद्यालयमाथि सत्तापक्षबाटै पटकपटक आक्रमण हुँदै आएको बताएका थिए । 

२. धरान उपमहानगरपालिकाका मेयर साम्पाङको राजीनामा माग 

सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी संगठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ  ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस (धरान) का अध्यक्ष आभाष अधिकारीले  आज  विज्ञप्ति जारी गरी मेयर साम्पाङको राजीनामा माग गरेका हुन् । मेयर साम्पाङले सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको  र  इन्जिनियरहरूको मानमर्दन गरेको आरोप संगठनले लगाएको छ ।

राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् । केही दिनअगाडि अगाडि धरानका मेयर साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए ।

मेयर साम्पाङको तुच्छ शब्दले विवेकशीलता, कूटनीतिक क्षमतामा प्रश्न उठेको विद्यार्थी संगठनले उल्लेख गरेको छ ।

३. विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र पेश गर्न निर्देशन 

काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । महानगरको टोलीले  आज विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।

विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावी गरेको  छ । यस्तै । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बेसमेन्ट र त्यस वरपरका अवैध संरचरना हटाउन निर्देशन दिएपछि महानगरको टोली त्यहाँ पुगेको  थियो ।

महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना दिएपनि सुरज आर्केडको व्यवस्थापनले आनाकानी गरेपछि महानगरले बेसमेन्ट खाली गर्न २४ घन्टे अल्टिमेटम दिएको हो । यसअघि महानगरले कोटेश्वर, बानेश्वर, भोटाहिटी–रत्नपार्कलगायत क्षेत्रमा बनाइएका अवैध संरचना हटाएको थियो

 ४. नेपाल विद्यालय कर्मचारी परिषद शिक्षा मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने 

नेपाल विद्यालय कर्मचारी परिषदले  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुने निर्णय गरेको छ । राष्ट्रिय समितिको  आज  बसेको आकस्मिक बैठकले वार्तामा जाने निर्णय गरेको परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी  दिए  ।

वार्ता तथा छलफलका लागि आज नेपाल शिक्षक महासंघको समन्वयमा बसेको हाम्रो बैठकले ७ सदस्यीय वार्ताका लागि समिति गठन भएको उनले बताए । परिषद्ले विभिन्न मागहरू राख्दै भदौ १२ गतेदेखि १८ गते अर्थात एक साता सामुदायिक विद्यालय बन्द आह्वान गरेको थियो ।  यही आह्वान ऐक्यबद्धता जनाउँदै हिजो केही स्थानीय तह, विद्यालयले बन्द गरेको थियो ।

मन्त्रालयले विद्यालय कर्मचारीहरूको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्न शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित मागहरू कार्य सूचीमा समावेश गरिएको जनाएको छ ।  त्यस्तै, अन्य ज्ञापन पत्रमा राखिएका मागहरू विषयमा वार्तामा बसी छलफल गरिने मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिए । 

 ५. विद्यार्थीलाई दुर्व्यवहार गरेको  आरोपमा नोबेल कलेजका एक शिक्षक पक्राउ

 काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । प्लस टु मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराले जानकारी दिए ।

आज बिहान उनले कलेजभित्र दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । आरोपित शिक्षकले छात्राहरूलाई अश्लील म्यासेज र तस्बिर पठाउने गरेको आन्दोलित विद्यार्थीहरूले आरोप लगाएका छन् । प्रहरी कार्यालयमा अहिले पीडित छात्राहरू समेत पुगेका छन् ।

डीएसपी श्रीवास्तवका अनुसार अहिले पीडित छात्राहरूले आफ्ना अभिभावकलाई बोलाएका छन् । विद्यार्थीहरूले आज बिहानैदेखि आरोपित शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

कलेज प्रशासनले दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई निलम्बन गरी छानबिनका लागि प्रहरीलाई सघाउने जनाएको छ ।

 ६. बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ 

बुटवलमा आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दीपक पुन रहेका  छन् ।

आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७. मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, बसपार्कमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का ३० वर्षीय प्रमात्मा तिवारीको मृत्यु भएको हो ।

गए राति करिब पौने १२ बजे पनौतीबाट खोपासीतर्फ जाँदै गरेको बा ६० प ५२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको  थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

८. जर्मनीमा साइकल लेन व्यवस्थित गर्न माग गर्दै प्रदर्शन  

जर्मनीमा साइकल लेन व्यवस्थित गर्न माग गर्दै हजारौं साइकल यात्रीहरूले प्रदर्शन गरेका छन् । फ्र्याङफर्टविस्वदेन सडकमा भएको प्रदर्शनमा ८ हजार ५ सय साइकल यात्रीहरू सहभागी भएका थिए ।४० किलोमिटरसम्मको बाटोमा साइकलसहित प्रदर्शनका क्रममा उनीहरूले मोटरसाइकललाई प्रवेशमा रोक लगाएका  थिए ।  साइकल लेनमा पनि जथाभावी रूपमा मोटर र मोटरसाइकलहरूले सवारी चलाउने गरेकाले आफूहरूको ज्यान जोखिममा परेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यातायात सेवा अवरुद्ध भएको छ ।साइकल यात्रीहरूले भने आफूहरूको माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने जनाएका छन् ।

 ९.  भेनेजुएला र कोलिम्बियाबीचको  कूटनीतिज्ञ सम्बन्ध पुन स्थापना 

  भेनेजुएला र कोलिम्बियाले तीन वर्ष पछि कूटनीतिज्ञ सम्बन्ध पुन स्थापना गरेका छन् । भेनेजुएलाका  लागि कोलिम्बियाका  राजदुतअर्मान्डो बेनेडेट्टी  राजधानी काराकास आइपुगेसगैँ पुन दुई देशबीचको सम्बन्ध स्थापना भएको हो  ।

भेनेजुएलाका उप–विदेशमन्त्री रान्डर पेना रामिरेजले ट्वीट  गर्दै दुई देशबीचको   ऐतिहासिक सम्बन्धले पुन स्थापित भएको खुसी व्यक्त गर्नुभयो ।कोलम्बियाका  राष्ट्रपतिगुस्ताभो पेट्रो, र भेनेजुएलाका  समकक्षी निकोलस मादुरोले गत अगस्ट ११ मा दुई देशबीचको कूटनीतिक पुनस्थापित गर्ने  घोषणा गरेका थिए ।

सन् २०१९ मा भेनेजुएलाल विपक्षी दलका सदस्यहरूले  खाद्यान्न र औषधिले भरिएका ट्रक लिएर कोलम्बियाली क्षेत्रबाट पार गर्न खोजेपछि दुई देशबीचको सम्बन्ध तोडिएको थियो ।

सम्बन्ध तोडिएसगैँ  दुबै देशका दूतावास र वाणिज्य दूतावासहरू बन्द गरिएको थियो भने उडानहरू ग्राउन्ड पनि बन्द गरिएको थियो ।

१०. नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता  घट्यो 

नेपालको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टी वरीयतामा १५ औं स्थानमा झरेको हो । अघिल्लो वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।

वरियता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।

एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ ।  टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।यस्तै दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : ५२ बजे

पाँच वर्षदेखि थन्किएका बस सञ्चालन

लुम्बिनी – लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध

प्रथम अदानचुली सांस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

सिमकोट– जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली सांस्कृतिक

बेलायतका तीन पूर्व विदेश सचिवले गरे सुकीको रिहाइको माग 

लन्डन– बेलायतका तीन पूर्व विदेश सचिवले आङ सान सुकीको रिहाइको

साङ्लाले रेशमको खुट्टा बाँधेको फोटो हाल्दै रञ्जिताले लेखिन–हामीलाई विभेद भएको रहेछ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना श्रीमान् रेशम

बामदेव एमालेमा भित्रिए पार्टी क्षतिग्रस्त हुन्छ

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्रको विषयले व्यापक