विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १३ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २९, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

लिबियामा हिंसा

लिबियाली सेना र सशस्त्र समूहबीच भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको लिबियाली सञ्चारमाध्यमले जनाएका छन् ।

अरब न्युजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन् ।

लिबियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पु¥याउनुका साथै आवासीय भवनमा आगजनी गरेका थिए । आक्रमणबाट छ वटा अस्पताल प्रभावित भएका छन् । आक्रमणका कारण एम्बुलेन्सहरु प्रभावित क्षेत्रमा पुग्न नसकेको जनाइएको छ ।

सन् २०१९ र २०२० मा लिबियाली सैनिक नेता खलिफा हफ्तारले लिबियाको राजधानीलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गरेयता लिबियाको राजधानीमा भएको यो सबैभन्दा घातक हिंसा हो ।

अमेरिका फेरि गोलीकाण्ड

अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन् ।

उनीहरूको शरीरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए । आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका चौथा व्यक्तिले बताए । आक्रमणकारीले उनलाई पनि गोली हानेका थिए ।

गोली लागेर तीन जनाको मृत्यु भएको छ । संदिग्धको तस्बिर सार्वजनिक गरेर उनलाई चिन्नेले जानकारी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ । ‘ती व्यक्तिले जथाभाबी गोली हानेका थिए’, ह्वाइटले भने ।

‘एक जना बस पर्खिरहेका थिए, अर्का कुकुरलाई डुलाउँदै थिए र तेस्रा व्यक्ति बाटोमा हिँडिरहेका थिए’, पीडितबारे प्रहरी प्रमुख ह्वाइटले भने ।

मलेसियामा भूकम्प

मलेसियामा शक्तिशाली भूकम्प गएको छ । राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर सोमबार बिहान ६ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको मलेसियाको भूकम्प मापन केन्द्रले जनाएको छ ।

राजधानी क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ५९ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

भूकम्पले पु¥याएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन । यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रवाह रोकिएको थियो । भूकम्पको केन्द्रबिन्दु समुद्री तटबाट ६४ किलोमिटर टाढाको समुद्रमा रहेको जनाइएको छ ।

भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

पाकिस्तानमा प्रदर्शन

१३ वर्षे बालकको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शनको आयोजना गरिएको छ । बालकको अपहरणको विरोधमा पाकिस्तानको सिन्ध प्रान्तस्थित ज्याकोबावाद सहरमा प्रदर्शको आयोजना गरिएको हो ।

प्रदर्शनकारीले अपहरित बालकलाई तत्काल उद्धार गर्न प्रशासनसमक्ष माग गरेका छन् ।

ती बालकलाई नजिकै रहेको रमजानपुर सहरबाट अपहरण गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

अपहरित बालकको उद्धार गर्नमा प्रहरी असक्षम भएको प्रदर्शनकारीको आरोप छ ।

पाकिस्तानमा आपराधिक घटनामा वृद्धि हुँदै गएको समाचार सार्वजनिक भइरहँदा अपहरणविरुद्ध प्रदर्शनको आयोजना गरिएको हो ।

भारतीय कांग्रेसको अध्यक्ष चुन्न अक्टोबरमा निर्वाचन हुने

भारतीय कंग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो ।

मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. मनमोहन सिंह, पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्वअध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाइन मार्फत बैठकमा सहभागिता जनाएका थिए ।

पार्टीका वरिष्ठ नेता गुलाम नाबी आजादले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सी पल्ट कंग्रेसको बैठक बसेको हो । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकाले नयाँ अध्यक्षको जिम्मेवारी निकै चुनौतीपूर्ण रहेको ठानिएको छ । यसअघि पनि आम निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा हारको जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा लामो समयसम्म अस्वीकृत गरिएको थियो भने पार्टीका नेताहरुलाई उनलाई राजीनामा नदिन दबाब दिँदै आएका थिए । सबै दबाब र अनुरोधलाई अस्विकार गर्दै उनले पदमा नफर्किने अडान लिएपछि उनकै आमा तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

तर अहिले फेरि पनि राहुल गान्धीलाई नै अध्यक्षका निर्वाचित गराउनु पर्नेमा पार्टीका धेरै नेताहरुले खुलेरै जोड दिने गरेका छन् । उनले भने आफू अहिले पनि अध्यक्ष बन्न नचाहेको बताउँदै आएका छन् ।

यद्यपि भारतीय कंग्रेस पार्टीले यसअघि नै उनकै नेतृत्वमा ‘भारत जोडो यात्रा’ सञ्चालन गर्ने घोषणा गरिसकेको छ । आगामी सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु हुने यात्रा १४८ दिनको हुने तय गरिएको छ । सो यात्रा काश्मिरमा पुगेर अन्त्य गरिने भएको छ ।

पैदलमार्फत हुने सो पाँच महिने यात्राका क्रममा झण्डै तीन हजार पाँच सय किलोमिटर पार गरिने भएको छ । दैनिक औसतमा २५ मिलोमिटर यात्रामा हुने अनुमान गरिएको छ । सहभागीहरूले १२ राज्य भ्रमण गर्ने छन् । यात्राका क्रममा छोटा छोटा ¥याली, सार्वजनिक कार्यक्रम, भेला, आमसभा, अन्तरक्रिया, बैठकलगायतका गतिविधिहरू गरिने भएको छ ।

इस्लामिक स्टेटका १८ सय लडाकु रिहा गरेको तालिबानद्वारा स्वीकार

अफगानिस्तानमा गत वर्ष तालिबानले सत्ता कब्जा गरेसँगै १८ सय भन्दा धेरै इस्लामिक स्टेटका लडाकु जेलबाट रिहा भएको तालिबानले जनाएको छ ।

तालिबानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले जनाएअनुसार गत वर्ष तालिबानले बाग्राम र पुल ए चार्खीमा रहेका जेलबाट १८ सयभन्दा धेरै इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको जनाएका हुन् ।

द फ्रन्टियर पोस्ट्ले जनाएअनुसार विदेशमन्त्री मुत्ताकीले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको स्वीकार गरेका हुन् । यद्यपि उनले हाल आफ्नो समूह मजबुत भइसकेको एवम् इस्लामिक स्टेटविरुद्ध लड्न सक्षम रहेको समेत दाबी गरेका छन् ।

उनले गत वर्ष आफ्ना लडाकुले मुलुकको जवजवान प्रान्तमा इस्लामिक स्टेटका केही लडाकुलाई घेराबन्दीमा पारेको भएपनि पूर्ववर्ती सरकारले उनीहरुलाई राजधानी काबुलतर्फ लगेको समेत दाबी गरे ।

यसअघि अमेरिकी अधिकारीले तालिबानले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरेका कारण उक्त समूह अफगानिस्तानमा मजबुत बन्दै गएको जनाएका थिए ।

पछिल्लो समय इस्लामिक स्टेटले अफगानिस्तानमा सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी विभिन्न घातक हमलाहरु गर्दै आएका छन् ।

पाकिस्तानमा बाढी पहिरोबाट ३ करोड ३० लाखभन्दा धेरै प्रभावित

पाकिस्तानमा बाढी पहिरोबाट ३ करोड ३० लाख मानिसहरु प्रभावित भएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार अविरल वर्षासँगैको बाढी र पहिरोका कारण तीन करोड ३० लाख मानिस प्रभावित भएका हुन् ।

बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ ।

गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका वर्षाजन्य घटनामा परी ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै एक करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरोका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने उद्धारकर्ताहरुले जनाएका छन् ।

यस बर्षको प्राकृतिक प्रकोप तीस वर्ष यताकै सबैभन्दा बढी घातक देखिएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरोलगायतका घटना भएको प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् ।

त्यसैगरी करिब सात लाख घर क्षतिग्रस्त भएका छन् भने १५० भन्दा बढी पुल भत्किएका छन् । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र ठूलो मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको छ ।

सरकारले गत बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रीत गरिने जनाएको छ ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् ।

कोरोना अपडेट

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको पाइएको छ ।

भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार सात सय ९९ जनाको मृत्यु भइसकेको छ ।

भारतमा हाल ८४ हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख १५ हजार सात सय २३ पुगेको छ ।

यसैगरी भारतको छिमेकी मुलुक पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या तीस हजार पाँच सय ७५ पुगेको छ ।

गएको २४ घण्टा अर्थात आइतबार मध्यरातिसम्म कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको जनाइएको छ । पाकिस्तानमा एक सय १० जना बिरामीको अवस्था गम्भीर छ ।

यसैबीच, मलेसियामा कोरोना लागेर दुई जनाको मृत्यु भएको तथा दुई हजार एक सय १९१ जना नयाँ बिरामी थपिएका छन् । आइतबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीले अझै पनि देशभर ३२ हजार नौ सय एक जना सक्रिय सङ्क्रमित रहेका बताएका छन् ।

यता, दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिले सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या दुई करोड तीस लाख २६ हजार नौ सय ६० पुगेको छ ।

केही दिनअघिसम्म दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर एक लाखभन्दा धेरै कम भएको छ ।

अघिल्लो हप्ता पनि औसतमा दैनिक एक लाख चार हजार नयाँ सङ्क्रमित हुने गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ९७ जना गम्भीर अवस्थामा रहेका छन् । ती मध्ये १६ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४९ जनाको मृत्यु भएको छ । योसँगै दक्षिण कोरियामा कोरोनाका कारण अहिलेसम्म २६ हजार छ सय १८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ७ : ५९ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा