आज विश्व मुटु रोग दिवस नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। नेपालमा भने अहिले झन्डै २७ लाखको हाराहारीमा कुनै न कुनै खालको मुटु रोग भएको पाइएको छ। चिकित्सकका अनुसार धुम्रपान तथा मद्यपान सेवन र धेरै चिल्लो पिरो भुटेको तारेको खानेकुरा खाने गर्नाले मुटुको रोगी बढ्दै गएको बताएका छन्। यसै विषयमा आधारित रहेर वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
आज विश्व मुटु रोग दिवस मनाइरहँदा यो किन मनाउनुपर्छ होला ?
यो हामीले हाम्रो मुटुलाई पनि सम्झिनुपर्छ भनेर यो मनाइन्छ। सधैँ मुटुको समस्या भएको थाहा पउन सकिँदैन। मुटु सबैको छ सबैको धड्किन्छ। त्यसैले यो विश्वव्यापी रूपमा नै मनाइएको होला। विगत केही वर्षमा हामीले मुटुको कुरा गर्ने गरेका छौँ। आज मात्र नभएर भोलि पनि हामीले यसको बारेमा कुरा केयर गर्नु पर्दछ।
पछिल्लो समय नेपालीमा मुटुमा कस्तो कस्तो समस्या धेरै देखिएको छ ?
अहिले धेरै देखिने समस्या भनेको हाम्रो मुटुलाई रक्तसञ्चार गर्ने रक्त नलीमा केही अवरोध पैदा गर्ने जसलाई मुटु सम्बन्धी रोग भनिन्छ। त्यसमा बन्द नै भयो भने हृदयाघात नै हुन्छ हाटफेल हुने पनि छन् मुटुको बाथ रोग हुने पनि छन्। जन्मजात मुटुको रोग पनि हुन्छ। अन्य रोगहरू पनि छन्। तर, धेरै जसो सहरी भागमा बसोबास गर्ने मुटुको हृदयाघातको समस्या धेरैमा देखिन्छ।
यो कस्तो उमेर समूहमा धेरै हुन्छ ?
यो धेरै वयस्कमा हो। तर, कसैमा या वंशाणुगत पनि हुन्छ। अहिले यो युवामा २० २५ वर्षका युवालाई पनि यो हृदयाघातबाट मृत्यु हुने गरेको छ।
यो युवा अवस्थामा धेरै देखिनुको कारण के हो त ?
एउटा यो वंशाणुगत कारण हो। त्यसलाई हामी परिवर्तन गर्न सक्दैनौँ। धुम्रपान सेवनले पनि यो समस्या धेरै भएको छ। खाने कुराहरू अहिले धेरै आएका छन्। त्यसमा धेरै चिल्लो खानाले पनि यो समस्या बढ्दै गएको छ। मोटोपन, सहरी क्षेत्रहरूमा हिँड्ने चलन नै हटिसेको छ। शारीरिक व्यायम पनि कमी भएको देखिन्छ। अल्छी भएमा शारीरिक समस्या निम्तिने खतरा हुन्छ।
घरमा नै बसेर मुटुमा समस्या छ भनेर थाहा पाउन सकिन्छ कि सकिँदैन ?
भित्र के भएको छ बाहिरबाट थाहा पाउन गार्हाे हुन्छ। तर, चेकजाँच गरेपछि आफ्नो अवस्थाबो थाहा हुन्छ। धुम्रपान गछौँ कि गर्दैनौँ। प्रेसरको अवस्था कस्तो छ। समयमा जाँच भएको छ कि छैन ? सुगर जाँच गरेर हेर्दा ठिक छ कि छैन। आवश्यक भन्दा बढी छ भने यसले पनि डाइबेटिज हुनसक्छ। त्यसैले जाँच गर्नु पर्दछ। आफूलाई चाहिने भन्दा बढी तौल छ कि यी सबै कुराहरूलाई समयमा जाँच गर्नु पर्दछ। नियमित शारीरिक व्यायाम गछौँ कि गर्दैनौँ। हाम्रो शरीरमा रगतको मात्रा ठिक छ कि छैन विशेष ख्याल गर्नुपर्छ। यसको प्रमुख लक्षण भनेको छाती दुख्ने हो। छाती दुखेसँगै कसै कसैलाई हिँड्दा सास बढ्ने हुन्छ। यस्ता लक्षण कसैमा देखियो भने एक पटक सजक हुनु पर्दछ।
हृदयाघात हुनु भन्दा अगाडि आफूलाई यस्तो हुँदै छ भनेर पहिला नै थाहा पाउन सकिन्छ कि सकिँदैन ?
यो सकिँदैन। यो हुन सक्ने सम्भावनालाई पहिला नै ध्यान चाहिँ दिनु पर्दछ। कुनै पनि लक्षणहरू देखा परे भने तुरुन्तै अस्पताल गए जाँच गर्नु पर्दछ।
हृदयाघात भएपछि कति समयसम्म अस्पताल पुग्यो भने बचाउन सकिन्छ ?
जतिसक्दो छिटो पुग्नु पर्दछ। आदि घण्टा भित्र नै बिरामीको मृत्यु पनि हुन्छ। छाती दुख्यो भने तुरुन्तै अस्पताल जानु पर्दछ। दुख्न थालेपछि एक छिन भनेर बस्नु हुँदैन। अस्पतालबाट उपचार गरेर फकिनु भएको छ। जो अहिले राम्रो हुनुहुन्छ।
दसैं पछाडि मुटुका बिरामी बढ्छन् भन्छन्। मुटुका बिरामी र दसैँको के सम्बन्ध छ ?
दसैँ एउटा उल्लासमय पर्व हो। हामी दसैंमा धेरै खाने भन्छौ त्यसमा पनि रमाइलो गर्न रक्सीहरू र मासु अत्यधिक खाने गर्नु हुन्छ। त्यसैले खानु पर्दछ। तर, ठिक मात्रामा खानु पर्दछ। पहिला अरु बेला मासु धेरै खाने हुँदा दसैंमा धेरै खानु हुन्थ्यो। तर, अहिलेको बच्चाले धेरै मासुमा ध्यान दिएको जस्तो मलाई लाग्दैन। जुनसुकै समय आए पनि खानेकुरा खाँदा ख्याल गर्नुपर्छ। खानपानसँगै शारीरिक व्यायाम आवश्यक पर्छ।
सागसब्जी फलफूल खाने, मासुमा मात्र कम गरेर खाने रक्सी सेवनमा पनि धेरै नखाने ठिक्क मात्रामा खाने गर्नुपर्छ। हुस्कीलाई हामीले ६० एमएल भन्दा बढी नखानु भन्छौँ। बियरलाई एक बोतल भन्दा बढी नखाने, बाइन खाने हो भने एक बोतल भन्दा बेसी नखाने यसरी खाँदा रमाइलो पनि भयो र नराम्रो पनि भएन ।
दसैंमा हामीले कसरी खाने कुरा खाँदा मुटुलाई असर गर्दैन ?
गुलियो पदार्थले शरीरमा नराम्रो असर गर्दछ। चिल्लो पदार्थले पनि राम्रो गर्दैन। सागसब्जी फलफूलहरू मिलाएर खाने तेल पनि खानु नै नहुने होइन ठिक्क मात्रामा खाने गर्नुपर्दछ।
हामीले मुटुलाई सधैंको लागि कसरी स्वास्थ्य बनाउन सक्छौँ ?
हामीले आफ्नो मुटु कस्तो भनेर जाँच गर्नु पर्यो, उच्च रक्तचाप र चिनी रोगलाई नियन्त्रण गर्ने चिन्ताबाट मुक्ति हुने, पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्ने र शरीरलाई चलायमान राख्ने, राति सुत्दा धेरै घुर्ने मान्छे र दिउँसो सुत्ने मान्छेमा पनि मुटु रोगको सम्भावना धेरै छ। बाटोमा धुलो धुवाको कारणले पनि मुटु रोगको सम्भावना बढी हुन्छ।
जाडोको समयमा बिहान चिसोमा हिँड्दा पनि मुटु रोगीलाई धेरै समस्या हुन्छ। आफ्नो मुटुको धड्कन आफूलाई थाहा हुने गरी धड्किएको छ कि छैन भनेर थाहा पाउनु पर्दछ। ब्लड प्रेसर जाँच गरिरहने माथिल्लो १४० र तलको ९० भन्दा माथि छ कि छैन भनेर थाहा पाउनु पर्दछ।
मुटु स्वास्थ्य राख्ने केही सूत्र छ कि ?
हामीले आफ्नो र अरूको मुटुलाई स्वस्थ राख्नु पर्दछ। सबैले मुटुलाई स्वास्थ्य राख्यौँ। आफ्नो मुटुलाई माया गर्न र सम्झिन दैनिक आधा घण्टा समय दिनुहोस् ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया