चुनावको ‘क्रसरोड’मा गायक सञ्जय श्रेष्ठ | Khabarhub Khabarhub

चुनावको ‘क्रसरोड’मा गायक सञ्जय श्रेष्ठ

भन्छन्, ‘युवा पुस्ताको सोचमा आएको परिवर्तन नै जितको आधार’



काठमाडौँ – स्वतन्त्र उम्मेदवार गायक बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवार हुनेहरूको ताँती लाग्यो।

ठुला प्रमुख दलहरुप्रति जनतामा व्याप्त विकर्षणको लाभ लिन हरेक तह, तप्का र क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरू खडा भएका छन्। काठमाडौँमा ठुला दललाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले चुनौती खडा गरिरहेका छन्।

तर, सन् १९९० को दशकमा नेपाली पप गायनमा सर्वाधिक चर्चित गायक संजय श्रेष्ठले यो पछिल्लो लहरबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवारी दिएका भने हैनन्।

तिन दशकअघिदेखि नै उनी राजनीतिमा प्रत्यक्ष/अप्रत्यक्ष सहभागी रहँदै आएका छन्। २०४६ सालको जन आन्दोलनताका कलिलो उमेरमै उनी जुलुसहरुमा सहभागी भएका थिए।

‘गायनमा आउनुअघिदेखि नै राजनीतिप्रति म रुचि राख्थेँ। मलाई तिन दशकअघिदेखि नै राजनीतिमा रुचि थियो। परिवर्तनका बेला युवा उमेरमा म पनि सक्रिय थिएँ। असल राजनीतिले नै देशमा सार्थक परिवर्तन ल्याउँछ भन्ने चेतना ममा तन्नेरीवयदेखि नै थियो’, काठमाडौँ क्षेत्र नम्बर–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक श्रेष्ठले खबरहबसँग भने।

सन् १९९२ मा संजयको एउटा ब्यान्ड थियो, ‘क्रस रोड’। यो त्यो कालखण्डको प्रसँग हो जतिबेला नारायण गोपाल, गोपाल योञ्जन आदि सङ्गीतको स्वर्ण युगका हस्तीहरुले संसार त्यागीसकेका थिए।

सुगम सँगीतमा एकखालको ‘भ्याकुम’ सिर्जना भएको थियो। ठिक त्यसैबेला नेपाली सँगीतमा पप सङ्गीतको युग प्रारम्भ भयो। गायक ओम विक्रम बिष्टले प्रारम्भ गरेको पप गायनलाई नेपाली सँगीतकै मुलधारमा स्थापित गराउने ‘लिजेन्ड’ गायक हुन्, संजय श्रेष्ठ।

संजयले गाएको गीत ‘माया मेरी माया, हाम्रो मिलन कहिले हुन्छ’ले त्यो बेला हरेक युवक युवतीलाई मोहित बनाएको थियो। यो गीत नगुनगुनाउने सायदै कोही हुन्थे।

संजय श्रेष्ठसँगै हरिश माथेमा, भीम तुलाधर, बबिन प्रधानजस्ता गायकहरुले नै प्रारम्भिक कालमा पप गायनको जग बसाएका हुन। यही जगमा टेकेर निमा रुम्बा, नबिन के. भट्टराई, धीरज राई, मोहन भुषाल, नलिना चित्रकार, शरीस्मा अमात्य, नेपथ्य र कन्दरा आदि ब्यान्डहरु फस्टाएका हुन्।

पप गायनका जिवित किंवदन्ती (लिभिङ लिजेन्ड) गायक श्रेष्ठ खासमा गायनमा आउनुअघिदेखि नै राजनीतिमा सक्रिय रहेछन्। त्यसैले गायक बालेन शाहबाट प्रभावित भएर चुनाव लडेको हो कि ? भन्ने प्रश्नलाई उनले नकारे।

‘म बालेन शाह भाइको समर्थक हुँ। उहाँको कार्य मलाई मन पर्छ। तर बालेन राजनीतिमा आउनुअघि नै म राजनीतिमा सक्रिय थिएँ। २०७० सालदेखि नै म चुनाव लड्दै आएको हुँ’, श्रेष्ठले भने।

राजेन्द्रबाट धोकाधडी
राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्गठन सुदृढीकरण र ख्यातीका लागि अहोरात्र निकै मेहनत गरेका गायक श्रेष्ठलाई अन्तिम घडीमा आएर पार्टीले नै धोका दियो।

अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पहिले नै टिकट दिने प्रतिबद्धता जनाएका थिए। तर, लिङदेनले वचन पुरा नगरेपछि उनले राप्रपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

स्वतन्त्र उम्मेदवारी दिँदै गर्दा सामाजिक सञ्जालमार्फत गायक श्रेष्ठले राप्रपामा हालीमुहाली गरेर बसेका केही प्रपञ्चकारीहरूले आफूमाथि षड्यन्त्र गरेर टिकट नदिएको आरोप लगाएका थिए।

सामाजिक सञ्जालमा उनले भनेका थिए, ‘मेरो उद्घोष हिजो पनि त्यही थियो , आज पनि त्यही छ र भोलि पनि त्यही रहनेछ। मैदानमा ओर्लिसकेँ, जोसुकै आओस् लडिन्छ र जितिन्छ।

मात्र यति हो कि मेरो ४ महिनादेखिको यो उद्घोष र हिम्मतलाई राप्रपाका जिल्ला र क्षेत्रमा अनैतिक हालीमुहाली गरेर बसेका केही थान प्रपञ्चकारीहरू हुँडारहरुले लगाम लगाउन खोजे।

तर तिनिहरुलाइ यो थाहा छैन कि सिंह लम्केपछि पछि हट्दैन। ती हुँडारहरुकै लहैलहैमा पार्टी नेतृत्वकर्ताहरु पनि लाग्छन् र आफूले बोलेको जुबानबाट हट्छन् भने त्यस्तो नेतृत्वको के विश्वास ?? यसर्थ, त्यो पार्टी परित्याग गर्दै मैले स्वतन्त्र उम्मेदवारी दिन्छु भनी अघिल्लो पोस्टमा उल्लेख गरिसके। मेरो आधिकारिक घोषणा मेरो स्वतन्त्र उम्मेदवारी नै हो। जय होस।’

गायन क्षेत्रमा त श्रेष्ठ लोकप्रिय छन्, तर राजनीति चाहिँ सङ्गठन र शक्ति प्रभावको खेल पनि हो। गायक श्रेष्ठ भने आफूले जित्नेमा विश्वस्त छन्।
‘मेरो पक्षमा बिस्तारै माहौल बन्दै गएको छ। मेरो विश्वास छ, मैले जित्ने आधार बनाएको छु, म अवश्य जित्छु’, श्रेष्ठले भने।

‘अबको युग युवाको’
श्रेष्ठका अनुसार अब युग परिवर्तन भएको छ र युवामा नयाँ सोच र भिजन पलाएको छ। ‘नेपाली युवाको सोच र चिन्तनमा परिवर्तन आएको छ। अबको युग युवाको हो, पुराना र बारम्बारको परीक्षणमा असफल भइसकेका अनुहारहरूको ठाउँमा जनता नयाँ अनुहार चाहन्छन्। मंसिर ४ को चुनावपछि युवाको सोचमा आएको परिवर्तन देशव्यापी रुपमा स्पष्ट देखिनेछ’, श्रेष्ठले भने।

अघिल्ला निर्वाचनहरुको मत परिणाम हेर्दा काठमाडौँ क्षेत्र–६ मा नेपाली कांग्रेसको बलियो पकड देखिन्छ। कांग्रेसको गढका रुपमा चिनिने यो क्षेत्रमा गायक श्रेष्ठले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमसेन दास प्रधान र नेकपा (एमाले)का सर्वेन्द्रनाथ खनालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

२०७० को संविधानसभा निर्वाचन र २०७४ को आम निर्वाचनमा काठमाडौँ–६ बाट विजयी भइसकेका प्रधान र हालै मात्र एमाले प्रवेश गरेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनालविच नै मुख्य प्रतिस्पर्धा हुने आम आंकलन भए पनि युवा पुस्ताको सोचमा आएको पछिल्लो परिवर्तनले चुनावी गणितलाई जता पनि ढल्काउन सक्ने सम्भावनालाई नकार्न सकिन्न।

२०७४ सालको निर्वाचनमा कांग्रेसका प्रधान १६ हजार ७८५ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए।

हालैको स्थानीय निर्वाचनमा काठमाडौँ–६ मा कांग्रेसले १७ हजार २७७, एमालेले १४ हजार ३०३, माओवादीको २ हजार ४६२, एकीकृत समाजवादीको १ हजार ८५९, राप्रपाको १ हजार ८१६ मत ल्याएका छन्।

यद्यपि स्थानीय निर्वाचन र संसदीय निर्वाचनको मतको गणित दुरुस्तै हुन्छ भन्न पनि सकिन्न। यो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार प्रधानलाई कांग्रेसभित्रको किचलोले समस्यामा पार्न सक्छ।

यो क्षेत्रमा कांग्रेसबाट जिल्ला सभापति कृष्ण बानिया (सबुज) र पूर्वमन्त्री भीमसेनदास प्रधानको नाम सिफारिस भएको थियो। टिकट प्रधानले पाएपछि बानिया समूह रुष्ट देखिन्छ।

हेक्का रहोस्, बानिया काँग्रेस नेता प्रकाशमान सिंहसँग नजिक छन्। प्रधान चाहिँ कृष्ण सिटौला निकट। काठमाडौँमा प्रकाशमान सिंह र भिमसेनदास प्रधानबीचको टकरावले मत परिणाममा पनि असर नपार्ला भन्न सकिन्न।

एमालेको तल्लो तहले यो क्षेत्रमा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस गरेको भए पनि अन्तमा खनाललाई टिकट दिइयो। यसले गर्दा खनालमाथि एमाले पङ्क्तिबाट पनि अन्तर्घातको खतरा देखिन्छ।

२०७० को दोस्रो संविधानसभा चुनावमा राप्रपा नेपालका तर्फबाट उम्मेदवार बनेका र हाल स्वतन्त्र उम्मेदवारी दिएका गायक श्रेष्ठलाई ठूला दलप्रति जनताको व्यापक विकर्षण र उनीहरुकै आन्तरिक किचलोले चुनावी लाभ दिन सक्ने सम्भावना छ।

यद्यपि, आफ्नै भिजन र लोकप्रियताका आधारमा चुनाव जित्ने गायक श्रेष्ठले बताए। ‘मेरो मूल नारा पूर्वाधार विकास हो। अरुले पनि यसै भन्छन्, तर बाचा पुरा गर्दैनन्। म चाहिँ वाचा गरेपछि लागू गरेरै छाडने खालको मान्छे हुँ’, श्रेष्ठले भने।

काठमाडौँ–६ मा बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगार र खानेपानी आवश्यकता पूर्ति गर्ने मुद्दा नै आफ्नो मूल एजेन्डा भएको श्रेष्ठले बताए।
‘अहिलेको संकटबाट देशलाई पार लगाउने विषय पनि शिक्षा, स्वास्थ्य र रोजगारीको एजेन्डामै निहित छ। यी एजेन्डाको समुचित सम्बोधन हुन सक्यो भने देश पनि संकटबाट माथि आउँछ’, श्रेष्ठले भने।

राजनीतिमा आफ्नो सक्रियता निजी स्वार्थपूर्तिका लागि नभई समाजसेवाका खातिर भएको उनले बताए। ‘राजनीतिलाई पेसा बनाउनुहुँदैन, राजनीति भनेको समाज सेवा हो। यही सोचका साथ सबै जुट्ने हो भने हाम्रो सुन्दर देश माथि उठ्न धेरै समय लाग्दैन’, उनले भने।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : २७ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा