चितवन क्षेत्र नं ३ : मतदाता ठूला दलका, उम्मेदवार साना दलका « Khabarhub

चितवन क्षेत्र नं ३ : मतदाता ठूला दलका, उम्मेदवार साना दलका


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन–  चितवन क्षेत्र नं ३ मा विसं २०७४ को संघीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार थिएनन् । यस पटक पनि यी दुई दलका उम्मेदवार छैनन् । मतदाता भने सबैभन्दा बढी कांग्रेस र दोस्रोमा एमालेका छन् । यसअघिको निर्वाचनमा वाम गठबन्धन हुँदा नेकपा एमालेले तेस्रो पार्टीका रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्र छाडेको थियो ।

प्रचण्डसँग चुनावी प्रतिस्पर्धाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई कांग्रेसले सघाएको थियो । निर्वाचनमा दाहालले ४८ हजार दुई सय ७६ मत ल्याएर विजयी हुँदा राप्रपाका पाण्डेले ३८ हजार नौ सय ३५ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फको मतमा नेपाली कांग्रेसले २६ हजार एक सय ३७, एमालेले २४ हजार एक सय ५५, माओवादी केन्द्रले २२ हजार नौ सय ८८ र तत्कालीन राप्रपाले पाँच हजार छ सय ३३ मत प्राप्त गरेका थिए ।

यो मतलाई आधार मान्दा पहिलो नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्र पर्न आउँछन् । यो स्थितिलाई हेर्दा गठबन्धनका ठूला दुई दल कांग्रेस र माओवादीको ४९ हजार एक सय २५ मत हुन आउँछ । गत स्थानीय तहको चुनावमा यो क्षेत्रमा गठबन्धनका २८ जना वडाध्यक्षका उम्मेदवारले ४५ हजार एक सय ७२ मत प्राप्त गरेका थिए । भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिकाका ११ वटा वडा यस क्षेत्रमा पर्दछन् ।

नेकपा एमालेका वडाध्यक्षहरूले ३० हजार छ सय नौ र राप्रपाका वडाध्यक्षले सात हजार चार सय ५४ मत ल्याएका थिए । भरतपुर महानगरपालिकाबाट कांग्रेसका असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेर प्रमुखमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले क्षेत्र नं ३ मा पर्ने १९ वटा वडाबाट आठ हजार दुई सय ५३ मत ल्याएका थिए ।

अहिले नेपाली कांग्रेसको साथ माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारीलाई छ भने एमालेको कांग्रेसका असन्तुष्ट दिनेश कोइरालालाई छ । त्यही क्षेत्रमा राप्रपाका नेता पाण्डे पुनः उम्मेदवार हुन् । कांग्रेसकै असन्तुष्ट पक्षका जगन्नाथ पौडेल पनि उम्मेदवार छन्। नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने ठूला दलले दुई पटकसम्म उम्मेदवारी नदिँदा कार्यकर्तामा उत्साह नरहेको बताए । निर्वाचनका माध्यमबाट नेतृत्वमा पुग्नका लागि क्षेत्र लिने दिने स्वाभाविक भए पनि दोस्रो पटक पनि छोड्दा भने शुभेच्छुकहरूमा निराशा रहे पनि नेतृत्वले भनेको ठाउँमा मतदान गराउनेमा पार्टीको प्रयत्न रहेको उनको भनाइ थियो ।

विसं २०७४ मा आफ्नो पार्टीले दाहाललाई सहयोग गर्दा समानुपातिक मतसमेत कम आएको तर क्षेत्र नं ३ मा एमालेको बलियो पकड  रहेको उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका  पूर्व जिल्लासभापति टेकप्रसाद गुरुङले  कार्यकर्तालाई सन्तुष्ट बनाउन अझै नसकिएको बताए । सो क्षेत्रको पहिलो पार्टी भएर पनि दुई पटक उम्मेदवार दिन नसक्दा नोक्सान भए पनि पार्टीको निर्देशनलाई भने मान्नुपर्ने तर दुई ठूला पार्टीका उम्मेदवार नभएकाले नतिजा कस्तो आउँछ भन्न नसकिने उनको भनाइ थियो ।

सो क्षेत्रमा अघिल्लो निर्वाचनमा एक लाख २५ हजार आठ सय २३ मतमध्ये ९३ हजार आठ सय १३ अर्थात् ७४.५६ प्रतिशत मत खसेकामा ९० हजार दुई सय ९३ सदर भएको थियो । अहिले मतदाता सङ्ख्या बढेर एक लाख ४४ हजार दुई सय ८२ पुगेको छ । सोही अनुपातमा मत खसेमा एक लाख सात हजार पाँच सय ७६ मत खस्ने अनुमान गरिएको छ ।

–नारायण अधिकारी रासस

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १२ : ४४ बजे

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा