अन्तर्वार्ता

प्रचण्डलाई रोक्ने शक्ति हामीसँग छैन

By खबरहब

December 29, 2022

अचानक वाम लोकतान्त्रिक गठबन्धन टुटेसँगै नेकपा (एमाले), माओवादी केन्द्र अन्य केही राजनीतिक दल मिलेर बनेको गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ४४ औ प्रधानमन्त्री बन्नु भएको छ। यससँगै पछिल्लो समय उदाएका राजनीतिक दल पनि सरकारमा सामेल भएका छन्। पुराना राजनीतिक दलले केही गर्न सकेनन् अब सरकारमा सहभागी भएका नेताले जनताका आशा र आकांक्षालाई सम्बोधन गर्न सक्लान् ? यी र यस्तै विषयमा आधारित भएर राजनीतिक विश्लेषक मुमाराम खनालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

अहिले बनेको सरकारले साँच्चै देश र जनताको लागि केही गर्ला ? अहिले प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्ति हुनुभएको छ। उहाँलाई नागरिकले धेरै आश गरेको भनेको पहिलो पटक प्रधानमन्त्री हुँदा हो। तर अहिले उहाँप्रतिको अपेक्षा खुम्चिदै गएको छ। नेकपा गठबन्धन भएपछि वाम पन्थीलाई कांग्रेसले काम गर्न नदिएर हो। अब हामी एक भएपछि राम्रो गछौँ भनेको सुनिन्थ्यो। तर त्यो भएन। नयाँ पार्टीका मान्छेलाई हामीले राजनीतिमा चिन्दैनौँ। मान्छेले चिनेकोले केही गरेनन्। अब नयाँलाई अवसर दिनुपर्छ भनेर मत दिए। नयाँ राजनीतिक दल पनि हतार गरेर सरकारमा सामेल हुनु ठिक कि बेठिक ? उहाँहरूलाई सरकारमा बस्न जनताले मत दिएका होइनन्। राजनीतिका चलाख र चतुर खेलाडी भनेको प्रचण्ड हुन्। अहिले प्रचण्डको राजनीतिलाई रोक्ने हामीसँग शक्ति नै छैन। ठूला पार्टीले त प्रचण्डलाई रोक्न सकेन भने साना र नयाँले रोक्ने कुरा नै भएन। उहाँ जहाँ बाट पनि प्रधानमन्त्री बन्नुभयो। त्यसको विपरितमा नयाँ दल आए। नयाँ आएका दल आफू भ्रष्ट नहुन सक्छन्। सुशासनमा राम्रो गर्न सक्छन्, कुशासनको मूल स्रोत राजनीतिबाट चलेको छ। मुलुकको आर्थिक अवस्था एउटा मन्त्रीले घटाउन सक्दैन। त्यसैले राजनीतिमा सबै बुझेर जानु पर्दछ। उनीहरू सबै नबुझी गएका छन्। राजनीतिलाई स्थिर बनाउन प्रचण्डको राजनीतिक व्यवस्थापन भनेको के हो त्यो बुझ्नु पर्यो।

नयाँ पार्टीको उदय र कांग्रेसको कदमलाई कसरी हेर्ने ? नयाँ पार्टी खोलेर ६ महिनाको फरकमा नै रवि लामिछानेले छलाङ मारे। प्रचण्डको जुन ढंगले आलोचना हुन्थ्यो त्यो अब रहेन। अहिले नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिएको भए कांग्रेसले धेरै पाउँथ्यो। तर त्यसमा एमालेले खेल्यो। प्रचण्डको राजनीतिमा जुन नयाँ पार्टी गएका छन् उनीहरूमा केही मिल्दैनन्। तर सहकार्य बाध्यता भएको छ। अधिकारको हिसाबले प्रधानमन्त्री प्रचण्ड ८० प्रतिशत हुन् भने अरु २० प्रतिशत हुन्। नयाँ मान्छेले जतिसुकै गर्न खोजे पनि प्रचण्डको सरकारले नयाँ काम गर्ला जस्तो मलाई लाग्दैन।

यो दुई वर्षको सरकारको प्रकृति कस्तो हो ? यो सरकार असाध्यै विजातीय छ। सरकारमा बार्गेनिङ सुरु हुन्छ र त्यसले प्रधानमन्त्रीलाई असर गर्दछ। केपी ओलीको गठबन्धन तोडेको रूप त देखियो। भित्री कुरा के हो ? कसैले देखेको छैन। अहिले राजनीतिको लय स्वभाविक कोर्स भन्दा बाहिर गयो। त्यसले नत राजनीतिक स्थिरता दिन्छ, नत सुशासन दिन्छ। यसले एक अर्काप्रति सत्तारोहण गर्ने र सत्ता च्युत गर्ने प्रवृत्ति मात्र हाबी हुन्छ।

अब साँच्चै आगामी आर्थिक वर्षबाट कर्मचारीलाई तलब खुवाउन नै नसक्ने अवस्था हो ? कर्मचारी तन्त्रको संरचना नै हाम्रो मिलेको छैन। ८० प्रतिशत बजेट त त्यसमा नै जान्छ। त्यसको सुधार गर्नुपर्छ भन्ने प्रचण्डको भनाइ हो। प्रधानमन्त्रीले केही गर्छु भनेर लाग्यो भने मुलुकले कायापलट फेर्न सक्छन्। तर, त्यसका लागि गठबन्धनले साथ दिनुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)

प्रस्तुति : पुष्पाञ्जली बस्नेत