पार्टी अध्यक्षलाई कमल थापाको पत्र : मेरा सुझाव किन रद्दीको टोकरीमा फाल्नु भएको ? | Khabarhub Khabarhub

पार्टी अध्यक्षलाई कमल थापाको पत्र : मेरा सुझाव किन रद्दीको टोकरीमा फाल्नु भएको ?


१६ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको आरोप लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्‍देनलाई सम्बोधन गर्दै नेता थापाले आफ्ना सुझावबारे पार्टीको ध्यानाकर्षण गराएका छन् ।

‘पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो । तर, अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ,’ उनले लेखेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ ।’

महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई संलग्न नगराइएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारीसमेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु,’ उनले लेखेका छन् ।

यसबीच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढाएको उनले बताएका छन् ।

यस्तो छ थापाको ध्यानाकर्षण पत्र

श्रीमान् अध्यक्षज्यू
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यसमिति, काठमाडौँ

विषय: ध्यानाकर्षण बारे

मैले तपाईंलाई मिति २०७८ मंसिर २७ गते पठाएको पत्रको सम्झना दिलाउँदै यो ध्यानाकर्षण पत्र प्रेषित गरेको छु ।

मंसिर २७ को उक्त पत्रमा मैले “पार्टीको बृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध छु । यो पार्टीमा मेरो रगत पसिना बगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ” भनी उल्लेख गरेको थिएँ । उक्त धारणा प्रति म अहिले पनि प्रतिबद्ध छु ।

पार्टीको ऐतिहासिक एकता महाधिवेशन पछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो, तर अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ ।

पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ । महाधिवेशन पछि पार्टीका कुनै पनि कार्यक्रममा मलाई संलग्न गराइएको छैन, पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारी समेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु ।

यसबिच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढेर गएको छ ।

पार्टीको आन्तरिक मामिलामा निर्मल निवास र राजा ज्ञानेन्द्रको नाङ्गो हस्तक्षेपको विरोध गर्नु, पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने योजनालाई अस्वीकार गर्नु तथा पार्टीलाई भजनमण्डली हुनबाट रोक्नु राजसंस्थाको विरोध होइन । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा अझ सशक्तरूपमा प्रस्तुत हुन त्यो अनिवार्य सर्त हो । राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाती खोलेर भन्न हिच्किचाउनु हुँदैन । राजसंस्था प्रतिको हाम्रो आस्था सैद्धान्तिक निष्ठा हो । राजसंस्था पार्टी राजनीति भन्दामाथि सबैको साझा भएर रहन सक्नुपर्छ ।

राप्रपा निर्मल निवासले खोलेको पार्टी होइन । निर्मल निवासले पार्टी चलाउने चेष्टा गर्न पनि हुँदैन । नविर्सौ राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी हो । यसलाई त्यही रूपमा कायम राख्नुपर्छ । पूर्व अध्यक्षहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमसेर राणा र कमल थापाले कायम राखेको पार्टीको स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक चरित्र र इतिहास तपाईंको पालामा स्खलित नहोस् भन्ने म चाहन्छु ।

तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नु भयो । मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन । आउँदो पाँच वर्ष तपाईंले नै पार्टीलाई हाँक्ने हो । सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो ।

त्यसर्थ, मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यस बारे आवश्यक सम्बोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पुनः पठाएको छु । फेरी पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुराउने तथा पार्टीलाई दुर्घटना तर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।
धन्यवाद

कमल थापा
निवर्तमान अध्यक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टी

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ६ : २० बजे

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको