काठमाडौँ- भारतीय कांग्रेस पार्टीका नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको गोली हानी हत्या भएको छ । उनको मानसा जिल्लामा गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् र गोली लागेर अन्य दुई जना घाइते भएको जनाइएको छ ।
पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो ।
पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुस वाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जिपमा जाँदै गर्दा आक्रमण भएको थियो ।
उनीमाथि ८ देखि १० जनाको समूहमा आएका बन्दुकधारीले ३० राउण्ड गोली प्रहार गरेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । मुस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए ।
उनलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ ।
‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न रहेको जनाइएको छ । ‘गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डीजीपी वीके भवराले भने ।
प्रतिक्रिया