काठमाडौँ– ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले घर–घरमा पुगेर सुर्तीजन्य पदार्थरहित बनाउने अभियान भोलिदेखि नै सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिको, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा हाछेथुले यस्तो बताएका हुन् ।
यसका लागि पाँच जना नगर प्रहरी खटाइनेछ । ललितपुर महानगरपालिकालाई धूम्रपान रहित क्षेत्र बनाउन आफू लागिपर्ने उनले बताए।
कार्यक्रममा ललितपुर महानगरमापालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि चिरीबाबु महर्जनले हाछेथुलाई सुर्तीजन्य पदार्थ नियन्त्रणमो खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान गरेका थिए । यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्।
विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिका, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख महर्जनले सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि कार्यक्रम बनाइने र बजेट छुट्याइने बताएका हुन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘यो कार्यक्रमबाट निस्कने निष्कर्ष मलाई पठाउनुहोस्। म त्यसलाई महानगरको कार्यक्रममा पेश गर्नेछु। आवश्यक परे त्यसका लागि बजेट पनि विनियोजन गर्नेछु।’
अहिले ललितपुरको चार वटा क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए । पाटन दरबार स्क्वायर, जावलाखेलको पार्क, लगनखेल र महानगरको क्षेत्र पुल्चोकलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ। यो सँगै ललितपुर महानगरपालिका पुरैलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गर्दै जाने प्रमुख महर्जनले प्रतिवद्धता व्यक्त गरेका छन् । यस्तै, क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाँईले चुरोट सेवन गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको बताइन् ।
चुरोट खान छाड्ने १० मध्ये ९ जना व्यक्तिलाई क्यान्सरबाट बचाउन सकिने उनले बताइन्। सुर्तिजन्य पदार्थले नसर्ने रोगलाई बढाइरहेको बताउँदै उनले ८५ प्रतिशत फोक्सोको क्यान्सर सुर्तिजन्य पदार्थका कारण हुने गरेको जानकारी दिइन्। चुरोटमा शरीरलाई हानी गर्ने ६ सय वटा केमिकल तत्व हुने र यसले शारीरिक र मानसिक रुपमा असर गर्ने उनले बताइन्। कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न आफू प्रतिवद्ध रहेको बताइन्। अहिले भएका जनशक्तिको प्रयोग गरेर स्वास्थ्य मन्त्रालयको लक्ष्य प्राप्त गर्न सबै प्रतिवद्ध हुनुपर्ने उनको भनाई छ।
ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले १५ दिनभित्र विद्यालय छेउछाउमा सुर्तिजन्य पदार्थ बेच्न नदिने बताएका छन्। कानूनले भनेका कुरा कार्यान्वयन गर्ने बताउँदै उनले विद्यालय आसपासमा सुर्तिजन्य पदार्थको बिक्री वितरण रोक्ने बताए। यस्तै, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले ७५३ वटै स्थानीय निकायसँग नसर्ने रोगको नियन्त्रणका कार्यक्रम गर्न समन्वय गरिएको बताए। भीमदत्त नगरपालिका, बारा निजगढ नगरपालिका, बर्दिया नगरपालिका लगायतका प्रमुख, प्रशासकीय अधिकृतसँग छलफल समेत गरिएको उनले जानकारी दिए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्रहरी र सम्बन्धित निकायलाई खटाइने बताए। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा नियन्त्रणका लागि आफूहरू तयार भएको उनले उल्लेख गरे। यस्तै, पाटन अस्पतालका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डाक्टर रवि शाक्यले महिलाले धेरै चुरोट सेवन गर्ने देश नेपाल भएकाले सबैले ध्यान दिन आग्रह गरेका छन् । सुर्तीजन्य पदार्थको असर आफूले नै महसुस गर्ने हो भने लत लागेपनि छोड्न सकिने उनको भनाई छ । कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले खिल्ली चुरोटको बिक्री वितरण र प्रयोगमा रोक लगाउन आग्रह गरेका छन्। खिल्ली चुरोटको बिक्री वितरणमा रोक लगाए मात्र किशोरकिशोरीलाई यसबाट केहीसम्म बचाउन सकिने उनले बताए।
प्रतिक्रिया