दिउसो १ बजेसममका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसममका मुख्य १० समाचार


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः 

१. अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र पठाएपछि च्याप्टर क्लोज भयो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई पठाएपछि अब सो अध्याय अन्त्य भएको  जिकिर गरेका छन् । सामाजिक सञ्जाल ट्वीट्र मार्फत महामन्त्री शर्माले भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माणमा गम्भीर हुन सबैलाई आग्रह  समेत गरे । एसपीपीमा सहभागी नहुने नेपाल सरकारको पत्र अमेरिकाले प्राप्त गरेको समाचार आएपछि कांग्रेसका महामन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् । यस्तै उनले परराष्ट्र सम्बन्धमा व्यक्तिगत र दलगत स्वार्थलाई केन्द्रमा राखेर अगाडि बढ्न पनि सुझाव दिएका छन् ।

२. ‘फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन गर्न दिएन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् । काठमाडौंको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको  आज उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले  फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न नदिएको  तर्क गरेका हुन् । अब स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठले उल्लेख गरे । । स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकारको सहयोग रहने पनि उनले बताए ।

३. एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार हुने

सरकारले एसिड आक्रमणमा परेकाहरूलाई निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने जनाएको हो।  आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ।

४. मधेस प्रदेशलाई सुख्खा प्रदेश घोषणा गर्न माग

जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीले पानी नपरेर किसानले धान रोपाइँ गर्न नपाएको भन्दै सुख्खा प्रदेश घोषणा गर्न माग गरेका छन् । यस वर्ष मधेस प्रदेशमा आवश्यकता भन्दा निकै कम पानी परेको र समयमा रोपाइँ गर्न नपाएकोले प्रदेशलाई सुख्खा प्रदेश घोषणा गरी राहतका कार्यक्रम ल्याउन जसपाले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत जसपाले सरकारलाई सुख्खा प्रदेशको घोषणा सहित विभिन्न सात बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको हो । किसानलाई पर्याप्त मलखादको व्यवस्था गर्न, बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न, सिँचाइको सुविधाको लागि डिप बोरिङ गर्न तथा सिँचाइको अन्य वैकल्पिक व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई निःशुल्क विद्युतको व्यवस्था गर्न जसपाले सरकारसँग माग गरेको छ ।

५. पोखरामा जारी महानगरपालिकाका भेला आज सकिने

पोखरामा जारी मेयर सम्मेलनमा महानगर सञ्चालनका अनुभवसहित सहकार्यका विषयमा छलफल केन्द्रित रहेको छ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा पोखरासहित  काठमाडौँ, ललितपुर, विराटनगर, चितवन र वीरगञ्ज महानगरका मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । महानगरले सम्मेलनलाई ‘मेट्रो मिट नेपाल’ नाम दिएको छ । सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका विषयमा छलफलसहित अनुभव आदानप्रदान भइरहेको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । यस्तै भेलामा संघ, प्रदेश र स्थानीय सरकार सञ्चालनका क्रममा आइपर्ने जटिलताबारे पनि छलफल भइरहेको छ ।  भेला आज सकिने भएको छ ।

६. असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता

हिरासतमा रहेकी महिलालाई मध्यरातमा आफ्नो कोठामा लैजाने असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो । बाँके जिल्ला प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले आज पीडित महिला आफ्ना आमा बुबाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं विरुद्ध बलात्कार मुद्दा दिएको जानकारी दिनुभयो ।पीडितले असई चौलागाईं विरूद्ध दिएको जाहेरी दर्ता भएको प्रवक्ता न्यौपानेले बताए । असई विरुद्ध कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु गरिने उनले बताए ।

७. हनुमानढोकाको नासलचोक आगन्तुकका लागि खुला

हनुमानढोका दरबार क्षेत्रको नासलचोक आगन्तुकका लागि खुला गरिएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि नासलचोक प्रवेशमा रोक लगाइएको थियो । पुनर्निर्माण सम्पन्न भएकाले अबदेखि पर्यटकहरू नासलचोकका अतिरिक्त गद्दी बैठक र ढुकुटीमा समेत प्रवेश गर्न पाउने हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । सुवर्णद्वारबाट निस्कनासाथ  नासलचोक पुगिन्छ । यो चोकको वरिपरिका धेरै सम्पदा शाहकालमा बने पनि केही मल्लकालीनसमेत रहेका छन् । चोकको पूर्वपट्टिको मूलचोक भने अझै खुलेको छैन । समितिका कार्यकारी निर्देशक सन्दीप खनालले नौतले दरबारको जीर्णोद्धार पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।

८. मङ्कीपक्स नियन्त्रणका लागी सीमानाकामा सतर्कता अपनाइँदै

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्स रोगलाई विश्वव्यापी जनस्वास्थ्य सङ्कट घोषणा गरेसँगै नेपाल प्रवेश गर्ने बिन्दुहरूमा सतर्कता अपनाउन थालिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल तथा विभिन्न सीमानाकामा परिचालित स्वास्थ्यकर्मीलाई यो रोगका लक्षणहरू पहिचान गर्ने र सन्दिग्ध बिरामीलाई अलग्गै राखेर उपचार गर्ने तरिका सिकाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले देशका सबै भेग समेटिनेगरी मुख्य १४ वटा अस्पतालका चर्मरोग विशेषज्ञहरूलाई यस रोगको ’फोकल पर्सन’ तोकिएको बताए ।

९. रुस आतङ्कवादको योजनाकार – युक्रेन 

युक्रेनका  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतङ्कवादको योजनाकार  भएको आरोप लगाएका छन् ।  रुसको नियन्त्रणमा रहेको जेलमा ४० भन्दा युक्रेनी कैदीबन्दीको  मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् । मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको जोड छ । रुस समर्थित पृथकतावादीहरूको कब्जामा रहेको डोनेत्स्क प्रान्तमा रहेको ओलेनिभका जेलमा  हिजो भएको आक्रमणमा ४० कैदीबन्दीको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए । सो आक्रमणको रुस र युक्रेनले भने एक अर्कालाई आरोप प्रत्यारोप लगाएको छ । 

१०.आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक

आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ  । आयोजक सहारा क्लब पोखराले  आज  पत्रकार सम्मेलन गरी गत माघ ६ देखि १५ गते सम्म पोखरा रंगशालामा आयोजना भएको २० औं संस्करणको प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो । यसपटकको प्रतियोगितामा आयोजकले १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ  घाटा भएको पनि आयोजकले जनाएको छ ।  प्रतियोगिताबाट ६६ लाख ४१ हजार १ सय ८१ आम्दानी र ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले विषम परिस्थितिका बावजुद सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नु नै महत्वपूर्ण रहेको बताउँदै  निरन्तरता नै मुख्य कुरा भएको   बताएका छन् ।  कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको थियो । 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १ : ४९ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज