विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन १४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ३०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

इरानको बाढीमा २४ जनाको मृत्यु

इरानको राजधानी तेहरान नजिकै दुई दिनदेखि आएको बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता रहेका छन् । ‘पश्चिममा इमामजादेह दाउद गाउँ र तेहरानको पूर्वमा फिरौजकौह, रौदेहेनदामाभान्ड क्षेत्रहरूमा भारी वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ’ रेड क्रेसेन्टको विज्ञप्तिमा भनिएको छ ।

बाढीमा हराइरहेका १९ जनाको खोजी भइरहेको जनाइएको छ । इरानको सामान्यतया सुख्खा दक्षिणी क्षेत्रमा आएको बाढीले २२ जनाको ज्यान गएको एक साताभन्दा कम समयपछि तेहरान नजिकैको अल्बोर्ज पहाडको फेदमा बाढी आएको हो ।
इरानले विगत दशकमा बारम्बार खडेरीका अतिरिक्त  मुसलधारे वर्षापछिको बाढी पनि सामना गरेको छ ।

१५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले जनाएका हुन् । दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले जानकारी दिए । आगलागीमा  घाइते भएका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको आपतकालीन सेवाका एक अधिकारीले बताए । भवनको भुइँ तल्लाबाट आगलागी सुरु भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो ।

हिटलरको घडी लिलामीमा बिक्री

नाजी नेता एडोल्फ हिटलरको रहेको भनिएको एउटा घडी अमेरिकामा लिलामीमा ११.१ मिलियन डलरमा बिक्री भएको छ । एक अज्ञात बोलीकर्तालाई ह्युबर बिक्री गरिएको हो । उक्त टाइमपीसमा स्वस्तिक चिन्ह देख्न सकिन्छ । घडीमा एएच नामको अक्षर कुँदिएको छ ।

यहूदी नेताहरूले लिलामीको निन्दा गरेका थिए । आफ्नो उद्देश्य इतिहास रक्षा गर्नु भएको लिलामी घरले जनाएको छ । उसले विगतमा पनि नाजी स्मारक बेचेको थियो । एडोल्फ हिटलरले सन् १९३३ देखि १९४५ को बीचमा नाजी जर्मनीको नेतृत्व गरेका थिए ।

उनको शासनकालमा लाखौँ यहूदी मारिएका थिए ।

रुस आतंकवादको  प्रायोजकः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आतंकवादको प्रायोजक भएको आरोप लगाएका छन् । रुसको नियन्त्रणमा रहेको जेलमा दर्जनौं कैदीको मृत्युपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो आरोप लगाएका हुन् । मस्कोलाई स्पष्ट रुपमा आतंकवाद प्रायोजक गर्ने देशको रुपमा कानुनी मान्यता दिनुपर्ने उनको भनाई रहेको छ । ‘म विशेष गरी अमेरिकालाई अपील गर्दैछु ।

रुसलाई आतंकवाद प्रायोजक देशको रुपमा कानुन मान्यताको निर्णय आवश्यक छ ’ अबेर राति उनले भने ।

किभले ४० युक्रेनी युद्धबन्दीको हत्या गर्‍यो- रुस
रुसको रक्षा मन्त्रालयले युक्रेनले पृथकतावादी नियन्त्रित क्षेत्रमा रहेको जेलमा शुक्रबार अमेरिकी निर्मित एचआइएमएआरएस रकेट प्रहार गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको र ७५ जना घाइते भएको दाबी गरेको छ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

‘अमेरिका निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (एचआईएमएआरएस) बाट ओलेनिभकाको बस्तीको क्षेत्रमा मिसाइल आक्रमण गरिएको थियो’, रुसी रक्षा मन्त्रालयले आफ्नो दैनिक ब्रिफिङमा भन्यो । सो क्षेत्रमा  युक्रेनी सैन्य युद्धका कैदीहरू र एजोभ बटालियनका लडाकुहरू रहेको मन्त्रालयले जनाएको छ ।  

बिफ्रिङमा अगाडि भनिएको छ, ‘आक्रमणका कारण ४० युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ र ७५ जना घाइते भएका छन् । ’ कैदका ८ कर्मचारी पनि घाइते भएको जनाइएको छ ।

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरसबाट मृत्यु

अफ्रिकाबाहिर पहिलोपटक मंकीपक्स भाइरस संक्रमणका कारण मृत्यु भएको छ । मंकीपक्सका कारण ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। त्यस्तै स्पेनले पनि भाइरससँग जोडिएको पहिलो मृत्यु घोषणा गरेको छ । मंकीपक्सबाट मृत्यु भएको युरोपमै पहिलो घटना हो । भाइरसबाट स्पेन सबैभन्दा संक्रमित देशमध्ये एक हो । 

अहिलेसम्म ४ हजार २९८ जनामा मंकीपक्स देखिएको छ । तीमध्ये १३० जना अस्पताल भर्ना भएका छन् । एक साताअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । उनी लिम्फोमा र कमजोर प्रतिरक्षा प्रणालीबाट पीडित भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्कीपक्स भाइरसका कारण मङ्कीपक्स रोग लाग्छ। विज्ञहरुका अनुसार यो भाइरस बिफर रोग गराउने भाइरसकै वर्गमा पर्छ। सङ्क्रमण भएपछि ठेउलाको जस्तो फोका  देखिन्छ। सङ्क्रमित व्यक्तिको  सम्पर्कमा आउने अन्यमा पनि यो भाइरस सर्न सक्छ।

ज्वरो आउने, टाउको दुख्ने,  ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या यो रोगका लक्षण हुन् ।

साउदी मूलका क्यानडेलीलाई अमेरिकामा जन्मकैद

अमेरिकी पत्रकार जेम्स फोली लगायतका बन्धकहरूको टाउको काट्ने समूहको प्रचार गर्ने प्रचारकहरूसँग काम गरेर इस्लामिक स्टेटलाई सहयोग गरेकोको अभियोगमा एक क्यानडेलीलाई अमेरिकाले आजीवन कारावासको सजाय सुनाएको छ । 

एक अमेरिकी न्यायाधीशले शुक्रबार साउदीमा जन्मेका क्यानडेलीलाई आजीवन कारावासको सजाय सुनाएको हो । टोरन्टोमा हुर्केका ३९ वर्षीय मोहम्मद खलिफाले २०१३ मा क्यानडा छोडेर सिरिया गएका थिए । 

सन् २०१९ मा अमेरिकी समर्थित कुर्दिश फौजले कब्जामा लिनुअघि आईएस समूहको तर्फबाट दुई सिरियाली सैनिकको हत्या गरेको अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 

उनलाई गत वर्ष अक्टोबरमा संघीय अनुसन्धान ब्युरोको हिरासतमा सारिएको थियो र डिसेम्बर १० मा विदेशी आतंकवादी संगठनलाई सहयोग गराएकोमा दोषी ठहर गरिएको थियो ।

भारतमा २० हजार नयाँ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।  ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।

पछिल्लो समय भारतमा दैनिक नयाँ सङ्क्रमितहरूको  सङ्ख्या र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ । 

सङ्क्रमणमुक्त भएकाहरूको प्रतिशत ९८.४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना सङ्क्रमणमुक्त भएका छन् ।      

अमेरिकी विदेशमन्त्री दक्षिणीपूर्वी एशियाको भ्रमणमा निस्कदै

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन आगामी साता केही दक्षिणपूर्वी एशियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन् ।  कम्बोडिया, फिलिपिन्ससहितका एशियाली देशको भ्रमण सकेर उनी दक्षिण अफ्रिका, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रूवाण्डा प्रस्थान गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।  

दक्षिणपूर्वी एशियाली देशहरुको सङ्गठन (आसियान) का तीनवटा बेग्लाबेग्लै मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विदेशमन्त्री ब्लिङकेन आगामी बुधबार  कम्बोडियाको राजधानी नोमपेन पुग्नेछन् । आसियान मन्त्रिस्तरीय बैठकको आयोजक मुलुक कम्बोडिया हो । कम्बोडियामा उनले आसियानमा आवद्ध देशहरुसँगको सम्बन्धलाई थप बलियो बनाउने र सहकार्य बढाउने बारेमा छलफल गर्ने छन् । विगतमा भएका सहमति कार्यान्वयनको अवस्थाका बारेमा पनि मन्त्रीस्तरीय बैठकमा समीक्षा हुनेछ । 

अमेरिका र आसियानबीचको सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा अघि बढाउन  गत मे महिनामा वासिङ्टनमा भएको सहमतिअनुरूप ब्लिङकनको यो भ्रमण हुन लागेको हो । कम्बोडियाबाट उनी  फिलिपिन्सतर्फ लाग्नेछन् जहाँ उनले नयाँ राष्ट्रपति र विदेश मन्त्रीलाई भेट्ने कार्यक्रम छ । दुई एशियाली देशको भ्रमण पूरा गरी उनी यही साउन २२ गते अफ्रिकी मुलुकको भ्रमणमा जानेछन् । 

अमेरिकी विदेशमन्त्रीले अफ्रिकी नेताहरूसँग साझा चासोका अन्तर्राष्ट्रिय विषयका साथै जलवायु परिवर्तन, मानव अधिकार, रुस—युक्रेन युद्धलगायत सामयिक मुद्दामा विचारविमर्श गर्नेछन् ।

बाढीमा परी दश अफगान सुरक्षाकर्मीको मृत्यु

अविरल वर्षासँगै आएको बाढीमा परी १० जना सुरक्षाकर्मीको ज्यान गएको छ । घाज्नी प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीले जानकारी गराए ।

सो घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भए । मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए ।

मध्यअफ्रिकी गणतन्त्रमा हतियारमाथिको प्रतिबन्ध खुकुलो

सुरक्षा परिषद्ले मध्य अफ्रिकी गणतन्त्रमा हतियारमाथि लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । हतियारमाथिको प्रतिबन्ध पूर्णरूपमा फुकुवा हुनुपर्नेमा जोड दिँदै आएको सरकारलाई यसले केही राहत दिएको छ । 

हतियारमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाउने पक्षमा शुक्रबार भएको मतदानमा रुस, चीन र परिषद्का तीन अफ्रिकी सदस्यले भाग लिएका थिए । मतपरिणामअनुसार प्रस्तावको पक्षमा १० मत खसेको थियो भने विपक्षमा एक मत पनि परेन ।  मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्वी बाइपो–टेमोनले परिषद्को कदमको आफ्नो देशले स्वागत गरेको बताउँदै सरकारी सेनाका लागि हतियारका केही वर्गमा गरिएको सीमितताको अब औचित्य नरहेको परिषद्लाई बताइन् ।

सन् २०१३ देखि लादिएको प्रतिबन्ध प्रभावकारी नरहेको तथा त्यसले अत्याधुनिक हतियार भएका चरमपन्थी र विद्रोहीका गतिविधि र तिनबाट भएका  हतियारको प्रसारले उत्पन्न गम्भीर समस्या समाधानलाई सम्बोधन नगर्ने टिप्पणी उनले गरिन् ।  खनिज पदार्थको अथाह भण्डार रहेको गरिब राष्ट्र मध्यअफ्रिकी गणतन्त्र  सन् २०१३ देखि घातक अन्तरसाम्प्रदायिक सङ्घर्षको सामना गरिरहेको छ । मुख्यतया मुस्लिम सेलेका विद्रोहीले सत्ता कब्जा गरेर राष्ट्रपति फ्रान्कोइस बोजिजलाई पदबाट हट्न बाध्य पारेपछि द्वन्द्व बढिरहेको छ ।

सन् २०१९ को फेब्रुवरीमा सरकार र १४ विद्रोही समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको भए पनि सन् २०२० को डिसेम्बरमा राष्ट्रपतिका लागि बोजिजको उम्मेदवारीलाई संवैधानिक अदालतले अस्वीकार गरेपछि हिंसा पुनः भड्कियो । 

राष्ट्रपति फस्टिन अर्चेन्ज टौडेराले ५३% मतका साथ दोस्रो कार्यकाल जितेका थिए तर उनले बोजिजसँग सम्बन्ध भएको विद्रोही गठबन्धनको विरोधको सामना गर्नुपरेको छ । सरकारले राजधानीलाई आफ्नो नियन्त्रणमा राखे पनि देशको धेरै भाग सशस्त्र समूहहरूको नियन्त्रणमा छ ।

न्युजिल्याण्डका ३२ अधिकारी रुसको कालो सूचीमा

रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालो सूचीमा राखेको छ। ‘न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रिया स्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप–लिस्टमा थपेको’, मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ प्रतिबन्धित अधिकारिहरूमा नगरपालिकाका प्रमुखहरू, कानून प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू रहेको मन्त्रालयले जनाएको छ।  ‘ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको छ।’, विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रतिबन्धको सूची बढ्दै जान सक्नेछ ।

ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा श्रीलङ्कामा १३ जना पक्राउ

श्रीलङ्काको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमध्ये धेरैजसो मदिरा सेवन गरी ग्यास पसलको सुरक्षामा खटिएका प्रहरीको काममा अवरोध पु¥याउने प्रयास गरेकाहरू रहेको प्रहरीले जनाएको छ ।

सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले जुनको अन्त्यमा खुद्रा तेल वितरण बन्द गरी जुलाईको मध्यमा मात्र पुनः शुरु गरेको थियो ।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराले यस हप्ताको शुरुमा ग्यास स्टेशनहरूले राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली अगस्टदेखि मात्र स्वीकार गर्ने बताउनुभएको थियो । विदेशी मुद्राको सञ्चिति अभावका कारण श्रीलङ्काले फेब्रुअरी २०२२ देखि इन्धन अभावको सामना गरिरहेको छ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : १२ बजे

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा