रुसी नागरिकलाई पर्यटक भिसा नदिनेबारे ईयूमा मत बाझियो, क्रुद्ध बन्यो रुस | Khabarhub Khabarhub

रुसी नागरिकलाई पर्यटक भिसा नदिनेबारे ईयूमा मत बाझियो, क्रुद्ध बन्यो रुस


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी नागरिकलाई पर्यटक भिसा नदिनेबारे युरोपेली युनियन ईयूका सदस्य राष्ट्रबीच मत भिन्नता देखिएको छ । केही ईयू सदस्य राष्ट्रले रुसी नागरिकलाई ईयूले पर्यटन भिसा जारी गर्न रोक्का गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

ईयूका उत्तर एवम् पूर्वी सदस्य राष्ट्रहरु यस्तो प्रस्तावको पक्षमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यता फ्रान्स र जर्मनीले भने यस्तो गरिएको खण्डमा यो प्रत्युत्पादक हुने जनाएका छन् ।

‘रुसी पक्षको तर्कलाई बल पुग्ने गरी एवम् अन्जानमा रुसी नागरिकलाई एउटै ध्वजामुनी एकत्रित गर्नसक्ने अवस्था र रुसको भावी पुस्तालाई हाम्रोविरुद्ध जान नदिनका लागि हामी हाम्रो भिसा नीतिमा व्यापक बन्देज लगाउने विषयविरुद्ध चेतावनी दिन्छौँ ।’ फ्रान्स र जर्मनीको संयुक्त मस्यौदालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चेक गणतन्त्रको राजधानी प्रागमा ईयूका विदेशमन्त्रीहरुको बैठकका क्रममा यसबारे कुरा उठेको रोयटर्सले जनाएको छ । यसबाहेक उक्त बैठकमा रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई गर्ने सहयोगबारे पनि छलफल भएको जनाइएको छ ।

सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भिसा आवेदनपछिको प्रक्रियालाई अझ व्यापक बनाउन तयार रहेको भएपनि यी दुई मुलुकले रुसी नागरिकलाई भिसा जारी गर्न भने बन्देज लगाउन नहुने जनाएका छन् ।

‘रुसी समाजमा रहेका लोकतन्त्रवादी तत्वहरुलाई गर्दै आएको समर्थनलाई हामी त्यसै छाड्न सक्दैनौँ ।’ उक्त मस्यौदामा उल्लेख गरिएको छ, ‘हाम्रो भिसा नीति पनि त्यस्तै हुनुपर्छ र युरोपेली नागरिक एवम् रुसी सरकारसँग नजोडिएका नागरिकबीचको सम्बन्धलाई कायमै राख्नुपर्छ ।’

यसअघि गत साता डेनमार्कका विदेशमन्त्री येपे कोफोडले युक्रेनी नागरिकहरु रुसी सेनाविरुद्ध लडिरहेको अवस्थामा रुसी नागरिकहरु भने युरोपेली समुद्र तटमा रमाएकोमा आफू आक्रोशित बनेको टिप्पणी गरेका थिए ।

‘तपाईं दक्षिणी युरोपका समुद्र तटमा रुसी मानिसहरु देख्न सक्नुहुन्छ यति नै बेला १८ देखि ६० वर्षका युक्रेनी नागरिकहरुले देश छाड्न पाएका छैनन्, उनीहरु स्वतन्त्रताका लागि लडिरहेका छन्, मेरा लागि निकै उत्तेजक कुरा हो ।’ डेनिस विदेशमन्त्री कोफोडलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘मेरो विचारमा युरोपमा हामीले एकसाथ रुसबाट आउने पर्यटकलाई सीमित गर्नु उपयुक्त हुन्छ र यसले पुटिनलाई स्पष्ट सन्देश दिनेछ ।’

एकजना युरोपेली कूटनीतिज्ञलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार ईयूले रुसी नागरिकलाई दिँदै आएको भिसा प्रक्रियामा भने केही संशोधन गर्न सक्नेछ । यसअनुसार रुसी नागरिकको भिसा प्रक्रियामा लाग्दै आएको समय बढ्न सक्ने एवम् यसअघि ईयू भिसाका लागि ३५ युरो लाग्दै आएकोमा त्यसलाई बढाएर ८० युरोसम्म पु¥याउन सकिने युरोपेली कूटनीतिज्ञले जनाएका छन् ।

रुसी पर्यटकहरु युरोपेली युनियनका अन्य सदस्य राष्ट्रतर्फ इस्टोनिया, लात्भिया, लिथुएनिया, फिनल्याण्डजस्ता मुलुकको स्थल नाका भएर जाने गरेको बताइन्छ । यसअघि लिथुएनियाका विदेशमन्त्री ग्राबिएलस ल्याण्डस्बेर्गिसले ईयूले रुसी पर्यटकलाई दिने भिसामा बन्देज नलगाएको खण्डमा यी मुलुकहरुले आफैँ एकलौटी यस्तो निर्णय गर्नसक्ने चेतावनी दिएका थिए ।

यता रुसले भने आफ्ना नागरिकलाई दिने भिसामाथि बन्देज लगाउनेबारे ईयूमा जारी बहसप्रति आक्रोशित टिप्पणी गरेको छ । यस्तो प्रस्ताव तर्कसंगत नरहेको र यसले पश्चिमा मुलुकको रुसविरोधी एजेन्डा उजागर गरेको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ४ : ३२ बजे

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४