तनहुँका आरन सञ्चालक विश्वकर्माले युट्युब हेरेरै विद्युतबाट चल्ने घन बनाए « Khabarhub

तनहुँका आरन सञ्चालक विश्वकर्माले युट्युब हेरेरै विद्युतबाट चल्ने घन बनाए


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन् । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ ।

फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उनले बताए । “फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरानमा घरेलु औजार बनाउँदै गरेका रामलालले भने, “दिन रात उपाय खोजें र यो मेसिन बनाएँ ।”

मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन् । मेसिन बनाउन करिब ३० हजार रुपैयाँका सामान खरिद गरेको उनले बताए ।

युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उनले जानकारी दिए । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आएका छन् । करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उनले बताए ।

कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको उनको भनाइ छ ।

चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आएका विश्वकर्माले आरन भने दर्ता गरेका छैनन् । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उनले बताए । निर्वाहका लागि मात्र आफूले आरान सञ्चालन गरेको उनी बताउँछन् ।

करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउँदै आएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्छन् । नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताए ।

आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उनले जानकारी दिए । ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उनको भनाइ छ । “ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ।” सामान्य लेखपढ गरेका विश्वकर्मा राज्यले केही सहयोग गरेमा आफूले व्यवसायलाई थप विस्तार गर्नसक्ने बताउँछन् । उनले आरनको कमाइबाट घरको दैनिक जर्गो टार्दै आएका छन् ।

विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ । आफूहरुले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताइन् । घुमाउने, साराङघाट, मास्दीघाट लगायतका छ÷सात वटा गाउँका बासिन्दाले उनको आरनबाट सेवा लिँदै आएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : ३५ बजे

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न आरोपमा सर्वेश जोशी

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको