छठ पर्वका लागि राजधानीका नदी किनार र पोखरी बेहुलीझैँ सिँगारिए « Khabarhub

छठ पर्वका लागि राजधानीका नदी किनार र पोखरी बेहुलीझैँ सिँगारिए


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छठ पर्वका लागि पशुपति क्षेत्रको गुह्येश्वरी गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ ।

छठका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको हो । प्रत्येक वर्ष छठ पर्वका अवसरमा गुह्येश्वरी गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भिड लागेको छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला र विष्णुमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटोको मूर्ति पनि निर्माण गरिएको छ । आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यस वर्ष विगतभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ५०० छठ घाट निर्माण गरिएकामा यसवर्ष ६०० भन्दा बढी बनाइएको छ । आज बिहानसम्म ५०० वटा छठघाट भक्तजनले रसिद काटेर लिइसकेका छन् । एउटा छठ घाट एक हजार ५०० रुपैयाँ शुल्क लिएर भक्तजनलाई दिएको छठपूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

गुह्येश्वरी क्षेत्रमा छठ पूजाका लागि बिहानैदेखि भक्तजनको भिड बढ्न थालेको छ । यहाँ करिब ६०० व्रतालु, तिनका परिवार एवम् अन्य दर्शन गर्ने र हेर्ने गरी करिब तीन लाख भक्तजन आउने समितिको अनुमान छ ।

२० वर्षअघिसम्म राजधानीमा हुने छठ पूजामा तराई क्षेत्रका सीमित मानिसको मात्र सहभागिता हुने गरेको थियो । अहिले तराई क्षेत्रबाट राजधानी आई बस्ने अधिकांश मानिसका साथै पहाडी समुदायले पनि छठ पर्व मनाउने गरेका छन् ।

जनकपुरकी रञ्जु श्रेष्ठ विगत २५ वर्षअघिदेखि नै छठ मनाउने गरेको बताउँछिन् । सुरुमा जनकपुरबाट छठ मनाउन सुरु गरेकी श्रेष्ठले हाल गुह्येश्वरीमै सूर्यको पूजा आराधना गरी पर्व मनाउने गरेकी छिन् । आफू पहाडबाट जनकपुर झरे पनि आफूले अपनाइ आएको संस्कारसँग मिल्ने भएकाले छठ मनाउन थालेको उनले सुनाइन् ।

छठ पर्वका लागि गुह्येश्वरी गौरीघाट क्षेत्र अहिले बेहुलीझैँ सिँगारिएको छ । नदीको बीचमा छठी माताको माटाको मूर्ति स्थापना गरिएको छ ।

आज राष्ट्रपतिले यो मूर्तिसँगै सूर्यको पूजा आराधना गरी अघ्र्य दिने कार्यक्रम रहेको पूजामा खटिएका नवोनाथ झाले बताए ।

आज बेलुकी र भोलि बिहान पूजा गरेपछि यो मूर्तिलाई बाग्मती नदीमै बगाएर सेलाइने पनि उनले सुनाए ।

छठ पूजास्थलमा उखुको लाँक्रा, केराको घरी र केराको बोट बोकेर हिँडेका भक्तजनको भिड देखिन्छ । छठ पूजास्थल वरपर व्यापार व्यवसाय गर्नेको भिड पनि देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले पसल नराख्न यस क्षेत्रमा माइकिङ गरिरहेको छ ।

यसैगरी कमलपोखरी क्षेत्रलाई पनि बेहुलीझैँ सिँगारेर अस्ताउँदो सूर्यसहित छठ माताको पूजा आराधनाको तयारी गरिएको छ । कमलपोखरीमा सजावटका साथै बीचमा राखिएको छठी माता र पानीको फोहरा आकर्षणको केन्द्र बनेको छ ।

कमलपोखरीमा एक सय ७५ जना व्रतालुले पूजा गर्न छठघाट निर्माण गरिएको छ । कमलपोखरीमा भने छोटो औपचारिक कार्यक्रम पनि गर्न लागिएको छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए ।

यहाँ छठ पूजा सम्पन्न गर्न सहयोग गर्नेलाई सम्मान गरिनुका साथै राष्ट्रपति, पूर्व सांसद, काठमाडौँ महानगरपालिकाका प्रमुखलगायतले मन्तव्य व्यक्त गर्ने कार्यक्रमसमेत छ ।

चार दिनसम्म मनाइने छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिइन्छ । यसका लागि शनिबारदेखि नै नीराहार व्रत बसेका व्रतालुले आज रातभर छठ पूजास्थलमा जाग्राम बसी उदाउँदो सूर्यको प्रतिक्षा गर्ने गरेको हेटौँडाबाट पर्व मनाउन आएका पवन अग्रवाल बताउँछन् । सोमबार बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व समापन हुन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवम् छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एकवर्षे अज्ञातबास सफल भएको उल्लेख छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : १८ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल