गगन थापाको उग्र महत्वाकांक्षाको अन्तरवस्तु | Khabarhub Khabarhub

टिप्पणी

गगन थापाको उग्र महत्वाकांक्षाको अन्तरवस्तु

बहसभन्दा विवाद धेरै, प्रधानमन्त्रीको आश मात्रै !



राजनीति गर्नेहरुमा पदीय महत्वाकांक्षा हुनु स्वभाविक हो । तर, हैसियतभन्दा अति महत्वाकांक्षा चाहिँ प्रत्यूत्पादक हुने गरेको पाइन्छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रखर वक्ता र जुझारु युवा नेता हुन् भन्नेमा दुई मत नहोला । तर, के अहिले नै उनी प्रधानमन्त्रीका दाबेदार हुन् त ? भन्ने प्रश्न चाँही गम्भीर रुपमा खडा भएको छ । अर्थात नयाँ बहस नै सिर्जना भएको छ ।

गगन थापाले चुनाव नजित्दै नै आफुलाई सम्भावित प्रधानमन्त्रीका रुपमा प्रोपोगान्डा मच्चाएका थिए । राजनीतिक संस्कार र सभ्यताका हिसाबले यो उनको बचकाना हर्कत थियो ।

किनकी न त नेपाली कांग्रेसले उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा टिकट दिएको थियो । न उनी प्रधानमन्त्री बनिहाल्ने सुनिश्चितता नै थियो । मतदाताले पनि उनी प्रधानमन्त्री हुने नै भएकाले भोट दिएका रहेछन् भने त्यो अर्को मुर्खता मान्न सकिन्छ ।

२०५६ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्का नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा नै गरेका थिए ।

सन्त नेता किसुनजी प्रधानमन्त्री बन्ने कुराले कांग्रेसमा एकता कायम भएको थियो र त्यसले चुनावमा सकारात्मक प्रभाव देखिएको थियो । नभन्दै निर्वाचनमा कांग्रेसको बहुमत आयो भने किसुनजी प्रधानमन्त्री बने ।

अहिलेको अवस्था त्यस्तो पटक्कै हैन । एक त गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेर कांग्रेस पार्टी चुनावमा होमिएकै हैन । अर्को, निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याएको पनि हैन ।

हो, पक्कै पनि वाम गठबन्धनको दम्भ चकानाचुर भएको छ भने कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमत हुँदासमेत जनताका आधारभूत समस्या समाधान हुन नसकेको आक्रोश स्वरुप केही नयाँ अनुहार संसदमा आएका छन् ।

२०७४ सालको निर्वाचनमा संसदमा निकै साँघुरीएको कांग्रेसले यसपटक बहुमत नल्याए पनि आफुलाई पहिलो ठूलो दलको रुपमा उभ्याउन सफल भएको छ । कांग्रेसलाई पहिलो ठूलो राष्ट्रिय पार्टीका रुपमा उभ्याउन सफल हुनुको पहिलो श्रेय पनि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै जान्छ ।

निर्वाचनलाई स्वच्छ, धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने पहिलो श्रेय पनि कार्यकारी प्रमुखका हिसाबले प्रधानमन्त्री देउवालाई नै जान्छ । अतः कांग्रेसको सफलता अनि लोकतान्त्रिक अभ्यासको सुनिश्चितताको पहिलो स्याबासी त स्वतः देउवाकै हकमा पर्छ ।

यस्तोमा महामन्त्री गगन थापाले कुनै नैतिक धरातल र औचित्यका आधारमा भन्दैछन् कि काँग्रेसको संसदीय दलको नेतृत्व बदल्नुपर्छ र मै नेता हुनुपर्छ भनेर ?

बरु प्रश्न त महामन्त्री थापामाथि तेर्सिन्छ । उनी काठमाडौंका जनप्रतिनिधि हुन् । उनले काठमाडौंलाई नै आफ्नो गृहक्षेत्र बनाएका छन् । उनी सेलीब्रेटी नेता हुन्, जसको चर्चा र लोकप्रियताको ओज उच्च छ ।

यस्ता लोकप्रिय नेताको गृह क्षेत्र काठमाडौंमा किन भर्खर स्थापित रवी लामीछानेको पार्टीका तीन जना सांसदले जिते ? स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिकामा किन कांग्रेसका उम्मेदवारलाई जिताएर पठाउन सकिएन त ? भन्ने प्रश्न बरु महामन्त्री थापाप्रति नै तेर्सिदैन र ? अवश्य तेर्सिन्छ ।

आफ्नो क्षेत्रबाट कांग्रेस या सत्ता गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन नसक्ने अनि संसदमा उदाएका नयाँ युवा अनुहारको दुहाई दिएर संसदीय दलको नेता परिवर्तनको माग गर्ने ? यो महामन्त्री थापामा पलाएको अति महत्वाकांक्षा हो ।

राष्ट्रिय राजनीतिक आवश्यकता, शक्ति सन्तुलन र बहुआयामिक द्वन्द्वका हिसाबले पनि यतिबेला महामन्त्री थापाजस्ता आक्रामक नेता प्रधामन्त्री नबन्नु नै मनासिब छ । मौजुदा प्रधानमन्त्री देउवामा सबैलाई मिलाएर लैजाने विशिष्ट खुबी पाइन्छ । उदाहरणका लागि विगतमा आफैले टाउकाको मोल तोकेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगसमेत उनले सत्ता गठबन्धन गरे भने एमालेसँग पनि उनको खासै कटु सम्बन्ध देखिएन ।

बढी उग्र भाषण नगर्ने, आवश्यक र सन्तुलित कुरा गर्ने अनि कुरामा भन्दा काममा जोड दिने देउवाकै कुशलताका कारण मित्र राष्ट्रहरुसँगको सम्बन्धमा सन्तुलन, निर्वाचनमा सफलता र अतिवादी शक्तिहरु कमजोर भएको र कतिपय संसदीय मुलधारमै आएको जगजाहेरै छ ।

यसर्थ कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा प्रधानमन्त्रीको स्वाभाविक दाबेदार देउवा नै हुन् । एमसीसीलगायतका हाम्रो सुन्दर भविष्यसँग जोडिएका परियोजना कार्यान्वयनका लागि पनि यतिबेला देउवाको खाँचो छ ।

यस्तोमा उग्र भाषण गर्ने, आफ्नै सभापतिको बारम्बार आलोचना गर्ने र आक्रामक भाव भंगीमामा देखिने महामन्त्री थापालाई संसदीय दलको नेता बनाउँदा काँग्रेसभित्रको एकता मात्र हैन, बहुआयामिक द्वन्द्व न्यूनिकरणमा समेत संकट उत्पन्न हुनसक्छ ।

कुरा नचपाई भन्नुपर्दा महामन्त्री थापाले प्रधानमन्त्री बन्ने बेला भइहालेको छैन । उनले न त समग्र पार्टीलाई मिलाएर लैजान सक्छन्, न त देशमा उदाएका नयाँ दल र अनुहारलाई सन्तुलनमा राख्न नै ।

महामन्त्री थापाले दिइरहेको एउटा दलिल के हो भने निर्वाचन परिणामको हेक्का राखेर संसदीय दलको नेतृत्व युवा पुस्तालाई दिनुपर्छ । अर्थात संसदमा देशभरीबाट युवा अनुहारले जितेकाले कांग्रेसले पनि युवालाई नै नेतृत्व सुम्पनुपर्छ भन्ने उनको दलिल झट्ट सुन्दा सकारात्मक झैं प्रतित हुन्छ, तर यो दलिलभित्र लुकेको अभिष्ट एउटै हो, गगनले आफुलाई प्रधानमन्त्री दाबी गर्नु ।

अब प्रश्न उठछ देशभरीबाट रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानाुपातिकमा उल्लेख्य सिट र मत प्राप्त गर्नु कांग्रेसका लागि सकारात्मक कुरा हो त ? पक्कै हैन ।
कांग्रेसका उम्मेदवार पराजित भएर नव गठित पार्टीका उम्मेदवारहरुले जित्नुको जिम्मेवारी महामन्त्रीका हिसाबले थापाको पनि त होला ।

अनि कांग्रेस र एमालेलगायतका दलप्रतिको वितृष्णाको प्रतिफल निर्वाचित नयाँ अनुहारलाई देखाएर कांग्रेसकै महामन्त्रीले ‘म युवा हुँ, त्यसैले मलाई प्रधानमन्त्री बनाउनुपर्छ’ भन्न किमार्थ सुहाउँदैन ।

‘युवा पुस्ता नेतृत्वमा आउनुपर्छ’ भन्ने तर्कमा पनि खासै दम छैन । महामन्त्री थापा तिनै नेता हुन्, जसले अर्का नेता शेखर कोइरालाको पक्षमा लागेर सभापति देउवाको विकल्प खोज्ने अभियान चलाएका थिए, जसमा उनी सफल भएनन् ।

पार्टीका अर्का नेता प्रकाशमान सिंहले देउवालाई समर्थन गरेपछि ‘देउवा इतर समूह’ले गत महाधिवेशनमा ‘हावा’ खाएको थियो । प्रकाशमान सिंहले पनि निर्वाचन जितेका छन् र प्रधानमन्त्रीका लागि उनले पनि दावी गर्नु अस्वभाविक हैन । उता, शेखर कोइरालाको पनि दावी हुनसक्छ ।

रामचन्द्र पौडेल त प्रधानमन्त्री बन्ने घिडकिसो पालेरै बसेका छन् । यस्तोमा महामन्त्री थापा कसको आड र भरोसामा संसदीय दलको नेता परिवर्तनको कुरा गरिरहेका छन् ? संसदीय दलको नेता बन्न कांग्रेसले जितेका कुल सांसद संख्याको पचास प्रतिशत चाहिन्छ । पछिल्लो आंकलन अनुसार प्रत्यक्ष र समानुपातिक गरी काँग्रेसले करीब ९० सिट जित्ने पक्का भइसकेको छ । यही संख्यालाई आधार मान्ने हो भने पनि महामन्त्री थापाले संसदीय दलमा ४५ बढीको समर्थन हासिल गर्नुपर्छ ।

तर, गगनलाई समर्थन गर्ने सांसदहरुको संख्या पुग न पुग १८ देखिन्छ । १८ सांसदको भरमै महामन्त्री थापाले प्रधानमन्त्रीकै दाबी गर्नु लोकतान्त्रिक अभ्यासका हिसाबले पनि उपयुक्त मानिदैन ।

अब कुरा गरौं, महामन्त्री थापाको छवीको । युवापुस्तामाझ उनी लोकप्रिय छन् भन्नेमा दुइमत छैन । उनले हालैको निर्वाचनमा प्राप्त गरेको मतबाट पनि यो स्पष्ट हुन्छ । तर, उनीमाथि पनि अनियमितताका अनेक आरोप नलागेका भने हैनन् ।

त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीतिसँगै उदाएका गगनमाथि त्रिचन्द्र कलेजको स्ववियू सभापति हुँदा पार्क निर्माणका क्रममा लाखौं रुपैयाँ आर्थिक हिनामिना गरेको आरोप लागेको थियो, जसको उनले खण्डन गर्दै आए ।

गुन्डा नाइके कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि थापाले ‘कुमारको हत्या भएको’ भन्दै पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगसम्म पुगेर उजुरी हालेको घटना स्मरणीय छ । गुन्डा नाइकेको पक्षमा उभिएपछि थापा निकै बिबादमा आएका थिए ।

कृषि उत्पादन, बाख्रापालन र मासु प्रशोधन उद्योग स्थापना गर्ने नाममा व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट करोडौं अनुदान लिएर पच पारेको आरोप पनि उनीमाथि नलागेको हैन, जसको उनले खन्डन गर्दै आएका छन् ।

तर, हेक्का रहोस्, हावा नचली पात त पक्कै हल्लीदैन । बाख्रा पालन, लप्सी खेती, मौरी, लोकल कुख्रा पालन र कुरीलो खेती नाममा उनले २०६८ साउन २८ गते एच एन्ड एच मिट सप’को भव्य उदघाटन गरेका थिए । त्यसका लागि व्यावसायिक कृषि तथा व्यापार आयोजना प्रमुख योगेन्द्रकुमार कार्कीमार्फत उनले करीब १५ करोड अनुदान लिएको चर्चा उतिबेलै भएको थियो ।

काठमाडौंका पूर्व मेयर केशव स्थापितले केही महिनाअघि भनेका थिए, ‘गगनजीले बाख्रा पालन गर्ने भनेर करोडौं अनुदान लिनु भो, खै त बाख्रा कहाँ छ, देखाउनुपरेन ?’

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजकुमार रौनियारलाई उपकुलपति नियुक्ती गर्दा करोडौं शुभ लाभ लिएको चर्चा पनि मिडियामा छरपस्ट भएकै हो ।

यदि देशले स्वच्छ छवीको युवा अनुहार खोजेकै हो भने बिबादमा नफँसेको अनि अति महत्वाकाँक्षा नराख्ने अनुहार खोजौं न । कोही छ त त्यस्तो ? काँग्रेसमा त्यस्तो नयाँ युवा अनुहार तत्काल कोही देखिदैन ।

अतः कांग्रेस संसदीय दलको बहुमत, देशको आवश्यकता र सन्तुलित राजनीतिको निरन्तरताका लागि पनि मौजुदा सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्नु उपयुक्त देखिन्छ ।

पार्टी सभापति र संसदीय दलको नेता एकै जना भएमा पार्टीमा आन्तरिक किचलो उत्पन्न हुने सम्भावना रहँदैन । विगतमा पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा कांग्रेसमा पार्टी र सरकारको तानातान हुन्थ्यो ।

उदाहरणका लागि गत निर्वाचनमा वाम गठबन्धनबाट कायम भएको नेकपा सरकारकै कुरा गरौं, प्रधानमन्त्री पदमा केपी ओली अनि नेकपाको कार्यवाहक अध्यक्ष चाहिँ पुष्पकमल दाहाल ।

पार्टीमा रहेका दाहाललगायतका केही नेता र ओलीविच स्वार्थको तालमेल नमिल्दा नेकपा नै दुइ फ्याक भयो । यस्तै हविगत विगतमा कांग्रेसमा पनि छत्तिसे र चौहत्तरे समूहका रुपमा देखा परेको थियो ।

पार्टी र सरकारको स्वार्थबीच टकराव उत्पन्न हुन नदिन पनि सभापति शेरबहादुर देउवाकै नेतृत्व संसदीय दलमासमेत अपरिहार्य देखिन्छ । निश्चय नै, देशले युवा नेतृत्व खोजेको छ । तैपनि अहिलेको चौशंकु सँसदीय कालमा आक्रामक नेतृत्वको साटो परिपक्व, उदार र लचकदार नेतृत्व नै उत्तम हुन्छ ।

किनकी, महामन्त्री थापाजस्ता आक्रामक अनुहार नेतृत्वमा रहँदा द्वन्द्व चर्किने मात्र हैन, सरकार ढाल्ने र बनाउने खेल बारम्बार दोहोरीरहने र अस्थिरता निम्तने सम्भावनालाई पनि नकार्न सकिदैन ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : ११ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त